राजनीति

माधव नेपाललाई साथ नदिएका नेताले केपी ओलीलाई दिए अल्टिमेटम

१० बुँदा कार्यान्वयन नभए नेपाललाई बहुमत पुर्‍याइदिने चेतावनी

इकागज |
भदौ ४, २०७८ शुक्रबार १७:५० बजे

काठमाडौँ - नेकपा एमाले विभाजन हुँदा माधवकुमार नेपाललाई साथ नदिई पार्टी एकता हुनुपर्ने बताइरहेका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई पाँच दिने 'अल्टिमेटम' दिएका छन् ।  पार्टीभित्रको विवाद समाधानको लागि गठन भएको कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्न भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त, अमृत बोहरालगायतले आज बैठक बसेर ओलीलाई अल्टिमेटम दिएका हुन् ।  

‘विवाद समाधान गर्न कार्यदल बनाइयो । एकातिरबाट सुवास नेम्वाङ संयोजक र अर्काेतर्फबाट भीम रावल संयोजक हुनुहुन्थ्यो । यो कार्यदलले १० बुँदे सहमतिका आधारहरु तयार पार्‍यो । त्यो १० बुँदा नै एमाले एक बनाउने आधारहरु हुन्,’ बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने, ‘हामी अन्तिम निर्णय गर्नुपर्छ भनेर छलफलमा जुटेका हौँ । १० बुँदे कार्यान्वयन गर्न अध्यक्षलाई जतिसक्दो छिटो प्रक्रिया थाल्न अल्टिमेटम दिने कुरा भएको छ । १० बुँदा कार्यान्वयन नगर्ने हो भने हामी माधवकुमार नेपालसँगै यात्रा गर्न जान्छौँ । माधव नेपाललाई बहुमत पुर्‍याइदिन्छौँ ।’ 


बैठकमा सहभागी अर्का नेता राजबहादुर बुढाले केपी ओलीले निर्णय गर्ने तर, कार्यान्वयन गर्दैनन् भन्ने माधव नेपालको भनाइ सही रहेको निष्कर्ष आजको बैठकले निकालेको बताए । ‘केपी ओलीले निर्णय गर्छन् कार्यान्वयन गर्दैनन् भनेर भन्ने माधव नेपालको भनाइ त सही रहेछ भन्ने कुरा आजको छलफलमा भयो,’ उनले भने, ‘१० बुँदे कार्यान्वयन गर्ने विषयमा ठ्याक्कै यस्तै भएको त छ । ओलीले यता निर्णय गर्ने उता तल्लो तहसम्म एकलौटी रुपमा संगठन तयार पार्ने यसरी पार्टी एक गर्न सक्ने कुरा भएन । त्यसैले हामीले कार्यदलले तयार पारेको बुँदा कार्यान्वयन नगर्ने हो भनेर केही कठोर निर्णय लिनै पर्छ भन्नेबारे छलफल गर्‍यौँ ।’  
  


Author

थप समाचार
x