राजनीति

बागमती प्रदेश : मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्ने

इकागज |
भदौ १५, २०७८ मंगलबार १७:४४ बजे

हेटौंडा- बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । मंगलबार एमालेको १२ सांसदहरु नेकपा एकीकृत समाजवादीमा खुलेसँगै उनी अल्पमतमा परेकी हुन् । मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतको लागि प्रदेश सभामा प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।  

सोही व्यवस्था अनुरुप बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुपर्ने देखिएको छ । यद्यपि बामगती प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल एमाले विभाजन भएको पत्र अझै आइपुगेको छैन । प्रदेश सभा सचिवालयमा दल विभाजन पत्र नआएको सचिवालयको प्रवक्ता विनोद अमात्यले जानकारी दिए । बामगती प्रदेश सरकारले प्रदेश सभाको आठौ अधिवेशन अन्त्य गरिसकेको छ । योसँगै विश्वासको मत लिने विषय अघि बढ्ने देखिँदैन । 


अहिलेको सरकारले राजीनामा नदिने एमाले बागमती प्रदेशको प्रमुख सचेतक दिपक निरौलाले बताए । स्वभाविक रुपमा अल्पमतमा परेको भन्दै उनले अविश्वासको प्रस्ताव ल्याए 'फेस' गर्ने बताए । बामगती प्रदेशमा अब बहुमतको सरकार अल्पमतमा परेसँगै अन्य दलहरुसँग सहकार्य गर्ने एमालेले तयारीे छ । प्रदेशमा अझै मन्त्रिपरिषद्ले पूर्णता भने पाएको छैन । यसलाई नै एमालेले संसदीय खेलमा अस्त्रको रुपमा प्रयोग गर्ने देखिएको छ । 

एमालेको एकल बहुमत (५६ सांसद) भएको बागमती प्रदेशसभामा एमाले ४४ सांसदमा झरेको छ । जसमध्ये माधव नेपाल निकट ९ सांसद छन् । उनीहरुमध्ये अझै केही सांसद समाजवादीमा खुल्ने निश्चित भइसकेको सांसद राजेन्द्र पाण्डेले जानकारी दिए ।  बागमती प्रदेशमा केन्द्रकै गठबन्धनको सरकार बनाउने तयारी छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्ष्यको सरकार ढल्ने र कांग्रेस, माओवादी र एकीकृत समाजवादीको सरकार बन्ने भएको हो । 

प्रदेशमा अहिले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीको २३, नेपाली कांग्रेसको २२, नेकपा एकीकृत समाजवादी १२, एमाले ४४, विवेकशील साझा ३, नेपाल मजदुर किसान पार्टी २, राप्रपा २ र स्वतन्त्र १ सांसद छन् । साना दलहरु भने वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने अझै अन्यौल छन् । नेपाल मजदुर किसान पार्टीका सांसद सुरेन्द्रराज गोसाईले हालसम्म कसैलाई समर्थन गर्न कुनै दलको आग्रह नभएको बताए । विवेकशील साझाकी सांसद शोभा शाक्यले वर्तमान सरकारलाई समर्थन गर्न नसक्ने भन्दै विपक्षमै बस्ने बताएकी छन् ।


Author

थप समाचार
x