राजनीति

एमालेको सहयोगबिना एमसीसी संसद्‍बाट पास गर्न प्रदीप ज्ञवालीको चुनौती

इकागज |
असोज १, २०७८ शुक्रबार १९:१० बजे

फाइल तस्बिर

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का प्रवक्ता प्रदिपकुमार ज्ञवालीले आफुहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण : सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोगबिना एमसीसी संसदबाट पास गर्न चुनौती दिएका हुन् ।

विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरूले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौता गरेको भन्ने प्रश्न गरे । उनले सम्झौता सही थियो भने संसद्‍बाट पास गर्न किन रोकिएको हो भन्ने प्रश्न गरे । 


एमसीसी पास गर्न प्रतिपक्षको सहयोग मागेको भन्दै उनले अब सरकारले संसदमा प्रस्ताव ल्याएपछि मात्रै आफुहरुको धारणा सार्वजनिक गर्ने बताए । उनले भने ‘त्यो सम्झौता ठिक थियो भने अघिल्लो सरकारले यसलाई अगाडी बढाऔँ भनेकै हो । किनभने दुई देशबीचको सम्झौताहरू भइसकेपछि सरकार आएपिच्छे फेर्दै जाने हो भनेदेखि त त्यो त कहिल्यैपनि दुई देशबीचका सम्बन्धहरु दिगो हुन सक्दैनन् । सरकार भनेको एउटा अविछिन्न उत्तराधिकारीवाला संस्था हो ।'

ज्ञवालीले एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउनु नहुने बताए । यसले छिमेकी राष्ट्रहरूमा देशको विश्वसनीयतालाई कमजोर गराउने उनको तर्क छ । उनले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रूपमा लिएको भन्दै सिमा समस्या नै नभएको चिनसँग भने सिमा समस्या देखाएर सम्बन्धमा चिसोपन निम्त्याउने काम गरेको बताए । 

नेता ज्ञवालीले दुवै छिमेकी राष्ट्रहरुसँग सन्तुलित र परिपक्व सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए । 


Author

थप समाचार
x