राजनीति

जसपामा ‘एक व्यक्ति, एक पद’ लागू गर्न समिति गठन

सुभाष कर्ण |
असोज १०, २०७८ आइतबार २१:५० बजे

जनकपुरधाम – जनता समाजवादी पार्टी, नेपाल (जसपा)मा एक व्यक्ति एक पद नीति कार्यान्वयन गर्न छलफल भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवसहित आइतबार धनुषामा बसेको जसपा मधेश प्रदेश कमिटीको बैठकमा यसबारे छलफल भएको हो । 

पार्टीको विधानले व्यवस्था गरेको एक व्यक्ति एक पद नीति कार्यान्वयन गर्न बैठकमा उपस्थित सदस्यहरू सकारात्मक देखिएका छन् । एक नेताले दुई वा दुईभन्दा बढी कार्यकारी पद अगोटेकाले पार्टीमा उत्तिकै योगदान गरेका नेताको व्यवस्थापनमा समस्या देखिएका कारण यसबारे छलफल भएको हो । 


विधानमा व्यवस्था भएको सो नीति कार्यान्वयनमा ल्याउनेबारे गम्भीर रूपमा छलफल भएको मधेश प्रदेश कमिटी सचिव ज्ञानेन्द्र यादवले बताए । उक्त नीति कार्यान्वयनमा ल्याउन कमिटीका प्रमुख सचिव शम्भु झा अध्यक्ष र प्रदेश २ का आठ वटै जिल्लाका अध्यक्षहरू सदस्य रहने गरी नौ सदस्यीय समिति गठन गरिएको उनले जानकारी दिए । 

‘समितिले जसपाभित्र रहेका तात्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताहरूको समायोजन गर्ने गरी पार्टीका कुन व्यक्तिले एकभन्दा बढी पद अगोटेको छ, त्यसको नामावली पदसहितको प्रतिवेदन तयार गर्नेछ,’ उनले भने, ‘सो प्रतिवेदनको आधारमा पार्टीले एउटा मात्र पदको जिम्मेवारी दिनेछ र रिक्त पदमा समायोजनअन्तर्गत योग्य नेतालाई व्यवस्थापन गरिने छ ।’

यसका साथै बैठकमा पार्टी संगठन सुदृढीकरण र जनजारण अभियान (सुज) र समायोजनका लागि नयाँ मोडालिटी तयार पार्न सात सदस्यीय सल्लाह सुझाव समितिसमेत गठन गरिएको उनले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निश्चित रहेको जसपाले पछिल्लो समय संगठन निर्माण र पार्टीको सक्रियतालाई तीव्रता दिएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x