राजनीति

प्रदेश १ मा मुख्यमन्त्री राईविरुध्द अविश्‍वास प्रस्ताव

नेकपाका दुवै समूह सांसद तान्‍ने कसरतमा, कांग्रेस मौन

लीलावल्लभ घिमिरे |
पुस १२, २०७७ आइतबार १९:२६ बजे

विराटनगर : नेकपा विभाजनसँगै प्रदेश-१ मा कुनै पनि समूहको एकलौटी सरकार बन्‍ने सम्भावना कम छ । पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले आफुहरूले एकलौटी बहुमत पुर्‍याउने दाबीसहित आज मुख्यमन्त्री शेरधन राईविरुध्द अविश्‍वास प्रस्ताव दर्ता गरेपछि राजनीतिक चलखेल बढेको छ ।

अविश्‍वास प्रस्तावमा ३७ जना सांसदको मात्र हस्ताक्षर छ । प्रदेश-१ मा एकलौटी सरकार गठन गर्न ४७ मत आवश्यक पर्छ । दाहाल-नेपाल समूह आफै एक्लैले नसके तीन सिट रहेको जनता समाजवादीलाई साथ लिएर सरकार बनाउने दाउमा छ । 


ओली पक्ष भने प्रमुख प्रतिपक्षी दल कांग्रेस र अन्य साना दलहरूलाई साथ लिँदै सरकार टिकाउने दाउमा छ । शनिबार साँझ मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बरखास्त गरेसँगै प्रदेश-१ को मुख्यालयको राजनीति तातेको हो ।

त्यो बरखास्तीको बदलामा दाहाल-नेपाल समूहका ३ मन्त्रीले आइतबार बिहान राजीनामा दिए । बिहान दश बज्‍न नपाउँदै मुख्यमन्त्रीविरुध्द अविश्‍वास प्रस्ताव दर्ता गराइयो ।  

प्रदेश प्रमुखले आइतबार नै माघ ७ गते  प्रदेश सभाको हिउदे अधिवेशन आह्वान गरेका छन् । मुख्यमन्त्री राईले सदनममै अविश्‍वासको प्रस्तावको सामना गर्ने बताएका छन् । ओली समूह सरकार बचाउन नेकपाका सांसदहरूलाई आफ्नो पक्षमा तान्‍ने कसरतमा छन् ।

दाहाल-नेपाल समूह अविश्‍वासको प्रस्ताव पारित गराउन आवश्यक संख्या जुटाउन लागि परेका छन् । दाहाल-नेपाल समूहले भावी मुख्यमन्त्रीका रुपमा भीमप्रसाद आर्चायको नाम अघि सारेको छ । 

प्रदेश १ मा पर्ने १४ जिल्लाका प्रत्यक्षतर्फ ५६ सिट र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट छ । यो प्रदेशमा तत्कालीन एमालेका ५१, माओवादी केन्द्रले १६, कांग्रेस २१,  जनता समाजवादी ३, राप्रपा १ र संघीय लोकतान्त्रिक मञ्‍चले १ सिट छ ।

भोजपुर ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित मुख्यमन्त्री राईले तत्कालीन एमालेकै स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज सचिव भीम आचार्यलाई २ मत बढीले पराजित गरी संसदीय दल नेता बनेका थिए । राई ओली पक्षतिर र आचार्य नेपाल पक्षका नेता हुन् ।

तत्कालीन एमालेको प्रदेशसभामा रहेको ५१ मतमा राईले २६ मत पाएका थिए भने आचार्यको पक्षमा २४ मत आएको थियो । एकमत बदर भएको थियो । एकतासँगै प्रदेशमा नेकपामा ६७ सांसद पुगेका थिए । दाहाल-नेपाल समूह आफूसँग बहुमत पुग्‍ने सदस्य रहेको दाबी गरिरहेको छ । तर ओली समूह दाहाल-नेपाल समूहलाई बहुमत पुग्‍न नदिन सांसद तान्‍न लागिपरेको छ ।

सरकार गठन हुँदा राईलाई मतदान गरेका जीवन घिमिरे सामाजिक विकास मन्त्रीबाट राजीनामा दिँदै पुरानै समूहमा फर्केका छन् । पहिला ओली समूहका राजन राई, र कला घले दाहाल-नेपाल समूहमा आवध्द भएका छन् ।

सांसदहरु राजकुमार ओझा, बृखबहादुर प्रधान, ज्ञानेश्वर राजबंशी, उत्तम बस्नेत लगायतका सांसदहरु कुनै समूहमा खुलेर लागेको देखिँदैन । उनीहरूलाई फकाउन दुवै पक्ष लागि परेका छन् ।

प्रदेश-१ का मुख्यमन्त्री राई कांग्रेसको सहयोग विना सरकार बन्‍न नसक्ने वताउँछन् । उनी कांग्रेससहितका दलको सहयोगमा आफ्नै नेतृत्वमा सरकार रहने दाबी गर्छन् । तर दाहाल-नेपाल समूहका नेता सांसद टंक आङबोहाङ आफूहरू बहुमत नजिक सांसद रहेकाले विचार मिल्ने दलको सहकार्यमा सरकार बन्‍नेमा ढुक्क छन् । ‘हामीले अविश्‍वास प्रस्ताव दर्ता गरिसकेका छौं,’ उनले भने, ‘भरसक हामी आफै पुर्‍याउँछौ, त्यसो हुन सकेन भने अन्य दलको सहयोगमा सरकार बनाउँछौं ।’ 

तर २१ सिट सिटको कांग्रेसले ठोस निर्णय लिएको छैन । कांग्रेस केन्द्रको निर्णय पर्खेर बसेको छ । ‘कि त केन्द्रले कुनै ठोस निर्णय गर्नु पर्‍यो,’ कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने, ‘कि त हामीलाई निर्णय गर्ने अधिकार दिनु पर्‍यो ।’
 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x