दल

नयाँ सरकार गठनका बारेमा एमालेसंग ठोस छलफल भएको छैन : सचेतक लेखक

इकागज |
बैशाख २६, २०८१ बुधबार १५:३८ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले नयाँ सरकार गठनका बारेमा एमालेसंग कुनै ठोस छलफल नभएको बताएका छन् । 

बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सञ्‍चारकर्मीसंगको छलफलमा मुख्य सचेतक लेखकले वर्तमान सरकारको विकल्पमा नयाँ सरकार गठन गर्ने विषयमा एमालेसँग कुनै ठोस छलफल नभएको बताएका हुन् ।


उनले अहिलेनै आफूहरू वर्तमान सत्तागठबन्धन भत्काउने पक्षमा नरहेको जिकिर गरे । साना दलहरू मिलेर सरकार बनाउँदा पटक-पटक परिवर्तन भइरहने अवस्थामा ठूला दलहरू मिलेर सरकार बनाउनु उपयुक्त हुने जनमानसमा धारणा उब्जिएको उनले बताए । राजनीतिमा वार्ता सम्वाद निरन्तर भइरहने भएपनि अहिलेको समीकरणलाई भत्काउन कांग्रेसले हतारो नगर्ने उनको भनाइ छ ।

त्यस्तै लेखकले सहकारी प्रकरणमा गृहमन्त्रीमात्रै नभएर समग्र सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि छानबिन आयोग गठन गर्नुपर्छ भन्नेमा प्रष्ट रहेको धारणा राखे । संसदको आगामी अधिवेशनमा पार्टीको रणनीतिका विषयमा बिहीबार बस्ने संसदीय दलको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए । 

लेखकले अहिले सदनमा सत्तापक्षले प्रतिपक्षीलाई वेवास्ता गर्न खोजेको र सरकारले पनि प्रतिपक्षीले उठाएका विषयलाई गम्भीरता नदेखाएको जिकिर गरे । उनले संसदलाई प्रभावकारी रुपमा अघि बढाउने दायित्व सरकारको भएको बताए । 


Author

थप समाचार
x