राजनीति

मुख्यमन्त्री राईविरुध्द अविश्‍वासको प्रस्ताव दर्ता गर्नेलाई २४ घण्टे स्पष्टिकरण

लीलावल्लभ घिमिरे |
पुस १३, २०७७ सोमबार २०:९ बजे

विराटनगर : प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुध्द अविश्‍वासको प्रस्ताव दर्ता गराउने मध्येका १९ जनालाई नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतकले सोमबार लिखीत स्पष्टिकरण सोधेका छन् । उनीहरूलाई उत्तर दिन २४ घण्टाको समय दिएको छ ।

नेकपामा केन्द्रमा आएको विभाजनसँगै प्रदेशका ३७ जना सांसदहरूले प्रदेश १ का मुख्यमन्त्री राईविरुध्द आइतबार प्रदेश सभा सचिवालयमा आविश्‍वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्‍वासको प्रस्तावमा भावी मुख्यमन्त्रीका रूपमा भिमप्रसाद आर्चायलाई प्रस्ताव गरिएको थियो । 


‘आज १९ जना दलका सांसदहरुलाई लिखीत स्पष्टिकरण सोधिएको छ,’ दलका प्रमुख सचेतक बुध्दिकुमार राजभण्डारीले भने, ‘आफ्नै दलको नेता तथा मुख्यमन्त्रीविरुध्द अविश्‍वासको प्रस्ताव पहिला प्रदेश सभा सचिवालयमा दर्ता गराउने अनि संसदीय दलका उपनेतालाई अविश्वासको प्रस्ताव वुझाउने यो काम दलको विधानविपरीत भएकाले हदै सम्मको कारबाही किन नगर्ने ।’

आइतबार नेकपाको प्रदेशसभामा रहेका ६७ सांसदमध्ये ३७ जनाले दलको नेताबाट हटाउन उपनेता टंक आङ्बुहाङलाई अविश्वास प्रस्ताव बुझाएका थिए । प्रमुख सचेतक राजभण्डारीका अनुसार सांसद भिमप्रसाद आर्चाय, दलका उपनेता टंक आङ्बुहाङ, शनिवार बरखास्त गरिएका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङ्बोलगाएत १९ जनालाई स्पष्टिकरण सोधिएको हो । 
 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x