संसद्

सदनलाई बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह

इकागज |
बैशाख २५, २०८१ मंगलबार १६:१६ बजे

काठमाडौँ - सभामुख देवराज घिमिरेले आह्वान गरेको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्ने विषयमा छलफल भएको छ । 

सभामुखको कार्यालयमा भएको छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाएर जानुपर्ने बताएका थिए ।


बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल भएको र यो निरन्तरको प्रक्रिया भएको बताए । 

सभामुख घिमिरेले भने, “विभिन्न समस्या आइरहन्छ, समस्याले सदनलाई अवरोध गर्नु हुँदैन । आजको बसाइँ र छलफलले यही वैशाख २८ गतेदेखि सुरु हुने बैठकलाई सहजरुपमा अगाडि बढाउने महत्वपूर्ण आधार तयार पारेको छ ।” 

उनले सदनलाई सहजरुपमा सञ्चालन गर्ने दायित्वको राजनीतिक दलको भएकाले ठूला राजनीतिक दल संसद्लाई समस्याको समाधान गर्ने थलोका रुपमा अगाडि बढाउने विश्वास व्यक्त गरे । 

संसदीय व्यवस्थामा सबै राजनीतिक शक्तिको भूमिका निर्णायक हुने र दलहरूले नै समस्या समाधानका लागि पहल गर्ने सभामुख घिमिरेको भनाइ छ । उनले सदनलाई प्रभावकारी बनाउन सबैको साझा र आ–आफ्नो भूमिका रहने जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूको सहभागिता थियो 


Author

थप समाचार
x