राजनीति

रेग्मीद्वारा कूटनीतिक प्रशिक्षण अस्वीकार

मुख्य सचिव छोडेर राजदूत भएका रेग्मीको जानुअघि नै अटेरी

इकागज |
माघ ५, २०७७ सोमबार २१:२६ बजे

काठमाडौँ : पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीले कूटनीतिक प्रशिक्षण लिन अस्वीकार गरेका छन् । कूटनीतिक नियुक्ति लिएर जानु अघि परराष्ट्र मन्त्रालयले उपलब्ध गराउने प्रशिक्षणमा सहभागी हुन उनले अस्वीकार गरेका हुन् । उनलाई राष्ट्रपतिले सोमबार नै बेलायतका लागि राजदूत नियुक्त गरिसकेकी छन् ।

‘प्रशिक्षण किन र ? यस्तो प्रशिक्षण आवश्यक छैन । मेरो कुनै अग्रिमो पनि त आएको छैन । नियुक्ति पनि भएको छैन,’ रेग्मीलाई उद्धृत गर्दै परराष्ट्र अधिकारीले भने, ‘अनि किन यस्तो प्रशिक्षण ?’ सोही प्रशिक्षणमा उनीसँग राजदूत सिफारिस भएका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा भने सहभागी थिए । दक्षिण अफ्रिकाको लागि राजदूत सिफारिस डा. निर्मल विश्‍वकर्मा पनि प्रशिक्षणमा सहभागी छन् ।


आइतबार देखि आरम्भ भएको प्रशिक्षण मंगलबारसम्म चल्नेछ । प्रशिक्षणमा सबै विषय रहेका छन् । कूटनीतिक डिलिङ, नेपालको प्राथमिकता, प्रोटोकल, त्यहाँको अवस्था, सबै खाले विषयमा छलफल र अनुभवीको लेक्चर समेत हुन्छ । यसअलवा पूर्वराजदूतहरूसँग अन्तरक्रिया, राजदुत पत्‍नीहरूको भूमिकालगायतमा समेत प्रशिक्षण हुन्छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले प्रशिक्षण दिनेगर्छ । यसमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि सहभागि हुन्छन । ‘यस्तो प्रशिक्षणले राजदूतलाई त्यो मुलुकमा भूमिका निर्वाह गर्न सहज हुन्छ,’ आईएफएका कार्यकारी निर्देशक राजेश श्रेष्ठले भने, ‘त्यसका लागि हामीले राजदूत नियुक्ति भएर जानु अघि यस्तो प्रशिक्षण मन्त्रालयको अनुरोधमा नै राख्‍ने गरेका छौं ।’

यसपटकको प्रशिक्षणमा दुई राजदूत डा. खतिवडा र डा. विश्‍वकर्मा सहभागि रहेको बताउँदै उनले भने, ‘बेलायतका लागि राजदूत नियुक्त भएका पूर्वमुख्य सचिव रेग्मी आउनु भएको छैन् । उहाँको आज नियुक्ति भयो  । सायद भोलि आउनु हुन्छ कि?’ रेग्मीसँग लगातार इकागजले सम्पर्क गर्ने प्रयास गरेपनि उनी उपलब्ध भएनन् ।

रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए । त्यसै दिन उनलाई मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको थियो । उनीसँगै खतिवडा र विश्‍वकर्मा पनि क्रमशः अमेरिका र दक्षिण अफ्रिकाको राजदुत सिफारिस भएका थिए । विश्‍वकर्माको अझै नियुक्ति भएको छैन भने अमेरिका र बेलायतका राजदूत भने नियुक्त भैसके । खतिवडा त आगामी २३ गते अमेरिका जाने भइसकेका छन् । 
 


Author

थप समाचार
x