राजनीति

जसपामा भद्रगोल

नौ महिना ५ जनाको मात्रै मर्यादा टुंगियो

संगठन संरचना : अहिलेसम्म कार्यकारिणी समिति र केन्द्रीय समितिमात्रै बने

मधुसुधन भट्टराई |
माघ ८, २०७७ बिहीबार १९:५१ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी(जसपा)ले नौ महिनामा ५ शीर्ष नेताको मात्रै मर्यादा टुंग्याएको छ । गत बैशाख १० गते राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जसपाले अहिलेसम्म ५ जनाको मात्रै मर्यादा टुंग्याएको हो ।

टुंगिएको मर्यादाअनुरुप पहिलोमा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई छन् । उनी पूर्वप्रधानमन्त्रीसमेत हुन् । दोस्रो र तेस्रोमा क्रमसः अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको मर्यादा राखिएको छ । चौथो र पाँचौमा क्रमसः वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र महतो छन् । 


मर्यादाक्रम तोकिएकामा साविकको समाजवादी पार्टीका तीन जना र राष्ट्रिय जनता पार्टीका दुई जना छन् । डा.भट्टराई, यादव र राई समाजवादी पार्टीका नेता थिए भने ठाकुर र महतो राष्ट्रिय जनता पार्टीका नेता थिए ।  
 
जनता समाजवादी पार्टीका केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले शीर्ष ५ नेताको मात्रै मर्यादा टुंगिएको जानकारी दिए । ‘शीर्ष ५ नेताको टुंगिएको छ । बाँकीको विषयमा मर्यादा निर्धारण भएको छैन,’ अधिकारीले इकागजसँग भने । अहिले प्रतिनिधि सभा विघटनविरुद्ध पार्टी आन्दोलनमा होमिएकाले मर्यादाक्रमका विषयमा कुनै छलफल नभएको अधिकारीले बताए । उनी साविक समाजवादी पार्टीका उप-महासिचव थिए ।  

कार्यकारिणी समिति सदस्य केशव झाले पनि ५ नेताको मात्रै मर्यादा टुंगिएको बताए । '५ शीर्ष नेताको मात्रै मर्यादक्रम टुंगिएको छ,' उनले भने । उनी साविकको राष्ट्रिय जनता पार्टीका महासचिव थिए । 

संगठन संरचना : कार्यकारिणी समिति र केन्द्रीय समितिमात्रै
कोभिड-१९ को महामारीबीच पार्टी एकीकरण गरेका नेताहरूले नौ महिना बित्दासम्म सांगठनिक संरचनामा केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समिति र केन्द्रीय समितिको संख्यामात्र टुंग्याएका छन् । टुंग्याएको मध्य कार्यकारिणी समिति र केन्द्रीय समितिमा सदस्य मनोनित भइसकेका छन् । भने राजनीतिक समिति अझै बनेको छैन । 

५१ सदस्यीय कार्यकारिणी समितिमा राष्ट्रिय जनता पार्टीका २६ र समाजवादी पार्टीका २५ सदस्य छन् । ८०० सदस्यीय केन्द्रीय समितिमा दुई पार्टीलाई आधा-आधा भाग लगाइएको छ । १५१ सदस्यीय बनाउने भनेर संख्या टुंग्याइएको राजनीतिक समितिमा ७५/७५ जना भागवण्डा गर्ने सहमति बनेको छ । तर, समिति बनिसकेको छैन । 

केन्द्रमा बाहेक प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्रीय समिति, प्रदेश सभा क्षेत्रीय समिति, पालिकाहरू र वडाहरूमा साविकका दुई पार्टीका कार्यसमिति नै सक्रिय छन् । संसदीय फाटमा पनि दुई पार्टीका समिति नै सक्रिय छन् । 

कार्यकारिणी समिति सदस्य झाले वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समिति र जिल्ला समितिमा समायोजनको क्रम सुरु भएपछि टुंगिन बाँकी रहेको जानकारी दिए । ‘तल्लो तहमा साथीहरूले समायोजनको काम सुरु गरेका छन् । केहीमा सैद्धान्तिक रूपमा टुंगिएको पनि छ । तर, घोषणा भइसकेको छैन,’ झाले इकागजसँग भने । 

४ जिल्ला समितिमा टुंगियो समायोजन
अहिलेसम्म पार्टीको बाहुल्यता नरहेका ४ जिल्लामा भने समायोजन टुंगिएको छ । नेता झाका अनुसार पाँचथर, धनकुटा तेहथुम र इलाममा समायोजन टुंगिएको हो । बाँकीमा समायोजनका काम सुरु भएपनि टुंगिन नसकेको उनले बताए । 

दुई पार्टीबीच १० गते भएको एकीकरणलाई निर्वाचन आयोगले २४ असारमा मान्यता दिने निर्णय गरेको थियो । त्यसको आधिकारीक पत्राचार आयोगबाट पार्टीलाई २८ असारमा भएको झाले बताए । 


 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x