राजनीति

कांग्रेसले संगठन समायोजनको फाइल पुनः निर्वाचन समितिमै फिर्ता पठाउने

थापा समूहले बुझायो १८ जिल्लामा क्रियाशील सदस्य बनाउनेको सूची

मधुसुधन भट्टराई |
माघ १२, २०७७ सोमबार १८:२३ बजे

काठमाडौँ : तीन जिल्लामा संगठन समायोजनमा देखिएको विवाद मिलाउने जिम्मा नेपाली कांग्रेस पुनः निर्वाचन समितिलाई नै दिने भएको छ । करिब एक महिनाअघि कांग्रेसको निर्वाचन समितिले पार्टीका जिल्लाका नेता र केन्द्रीय सदस्य तथा समितिका सदस्यहरूबीचमै मतैक्यता नभएको भन्दै तीन जिल्लाको संगठन समायोजनको काम केन्द्रीय समितिमा फिर्ता पठाएको थियो ।
 
पार्टीको संगठन नेपालको संविधान २०७२ अनुरुप समायोजनमा गर्ने जिम्मेवारी केन्द्रीय कार्यसमितिबाट निर्णय गरेर करिब दुई वर्ष अगाडि निर्वाचन समितिलाई दिएको थियो । समितिले ७४ जिल्लाको संगठन समायोजन गरे पनि बारा, सिन्धुपाल्चोक र सप्तरीको समायोजनका कुरा नमिलेपछि केन्द्रीय समितिमै फिर्ता गरेको थियो । 

उपसभापति विमलेन्द्र निधिले निर्वाचन समितिले केन्द्रमा पठाएको संगठन समायोजनको बाँकी जिल्लाको काम पुनः समितिमै फिर्ता गर्ने तयारीमा पार्टी रहेको बताए । ‘निर्वाचन समितिले तीन जिल्लाको संगठन समायोजनमा कुरा मिल्न नसकेको भन्दै केन्द्रीय समितिमा फिर्ता पठाएको थियो । ७४ जिल्लाको विवाद मिलाएको समितिलाई नै पुनः मिलाउने प्रयास गर्न फिर्ता गर्ने मनस्थितिमा हामी छौं,’ उपसभापति निधिले इकागजसँग भने  । 


सहमहामन्त्री थापाले बुझाए १८ जिल्लामा क्रियाशील बनाउनको सूची

राप्रपाबाट कांग्रेस प्रवेश गरेको सुनिल थापा समूहले १८ जिल्लामा क्रियाशील सदस्यमा समायोजन गर्ने सूची पार्टीमा बुझाएको छ । उपसभापति निधिले त्यो सूची विधानको प्रक्रिया र केन्द्रीय समितिले बनाएको मापदण्ड अनुरुप समायोजन गर्न सम्बन्धित जिल्लामा पठाइने जानकारी दिए । 

‘सुनिल थापासहितका नेताहरू केन्द्रीय समितिमा मनोनयन भइसक्नु भएको छ । उहाँहरूले क्रियाशील सदस्यमा समायोजन गर्न १८ जिल्लाका नेता कार्यकर्ताको नामावली बुझाउनु भएको छ,’ उपसभापति निधिले भने, ‘त्यो सूची विधानको प्रक्रिया र केन्द्रीय समितिले बनाएको मापदण्ड अनुरुप समायोजन गर्न सम्बन्धित जिल्लामा पठाइन्छ ।' उपसभापति निधि कांग्रेसले बनाएको अन्य दलबाट पार्टीमा प्रवेश गरेकाहरूलाई संगठनमा समायोजन गर्ने समितिका संयोजक हुन् ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छाेरा तथा दोस्रो संविधानसभा सदस्य र पूर्वमन्त्रीसमेत रहेका सुनिल आफ्नो समूहका नेतासहित गत साउन १३ गते नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा नै थापालाई सहमहामन्त्री बनाउने घोषणा सभापति शेरबहादुर देउवाले गरेका थिए । 

आफ्नो घोषणा अनुरुप देउवाले २८ कात्तिकमा थापालाई पार्टी सहमहामन्त्री बनाइसकेका छन् । देउवाले थापासँगै प्रवेश गरेका अन्य ७ जनालाई केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्‍नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), टि.एन. योगी (ललितपुर), दिलीप राई (झापा)लाई केन्द्रीय सदस्य र कैलालीका आशाराम चौधरी र कपिलवस्तुका राजेशबहादुर सिंहलाई देउवाले आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेका थिए । 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x