राजनीति

ओलीले संविधानको घाटी निमोठे : नेपाल

एमाले पुरानो भएर इतिहास बनिसक्यो : खनाल

लीलावल्लभ घिमिरे |
माघ १६, २०७७ शुक्रबार १७:२४ बजे

विराटनगर : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिलो धक्का दिएको दाबी गरेका छन् । शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओलीका दिन ओरालो लागेको दाबी गरे । 

ओलीले पहिला पार्टीलाई तहसनहस गरेर पछि संविधानको घाटी निमोठेको नेपालको आरोप थियो । ‘ओली गुटको अहिले विजोग भइरहेको सुनाएको छ’ नेपालले भने, ‘त्यहाँका सवै जना घरको न घाटका भएका छन् । त्यो गुटको केही काम छैन ।’ 


आफू र दाहाल दुई पार्टीको मुलधार भएको र एक अर्कामा विलय नभइ दुवै पार्टीलाई विघटनगरी एकीकरण गरेको उनको तर्क थियो । ‘तपाईँलाई भ्रम हुनु जरुरी छैन । यो लडाइ पदको होइन । यो विचारको लडाइ हो । कस्तो पार्टी बनाउने लडाइ हो । केपीलाई पार्टीको मतलब छैन’ उनले भने, ‘लोकतन्त्र सिध्याउन लाग्‍नुभएको छ । उहाँलाई समावेशीतासँग अरुचि छ । उहाँ बनाउने होइन बिगार्ने काम गर्नुहुन्छ । हामी बनाउने कामममा हामी जुटेका छौं । हामी र केपी ओलीमा आकाश पातलको फरक छ ।’

केपी ओलीले प्रधानमन्त्री पदको दुरुपयोग गरेको नेपालले आरोप लगाए । ओली टुहुरो भएर धारे हात हल्लाइरहेको नेपालको टिप्पणी थियो । ओलीले गालीमात्रै जानेको उनको भनाइ थियो । 

कार्यक्रममा बोल्दै  नेता झलनाथ खनालले एमाले पुरानो भएर इतिहास बनिसकेको बताउँदै प्रधानमन्त्री केपीलाई ठगको संज्ञा दिए । खनालले ओलीलाई आधुनिक समयको सकुनीको संज्ञा दिए ।  टेलिभिजनबाट भुकेर होइन सडकमा आएर जनमत हेर्न ओलीलाई खनालको चुनौति थियो ।


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x