राजनीति

प्रतिक्रियावादी एजेण्टले संसद् होइन संविधान विघटन गरेको छ : दाहाल

लीलावल्लभ घिमिरे |
माघ १६, २०७७ शुक्रबार १८:८ बजे

विराटनगर : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली प्रतिक्रियावादी एजेण्ट भएको आरोप लगाएका छन् । आज विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पार्टीभित्र एउटा प्रतिक्रियावादी एजेण्ट घुसेको आरोप लगाए । ‘पार्टी भित्र घुसेको एउटा प्रतिक्रियावादी एजेण्टले संसद् विघटन होइन संविधान विघटन गरेको छ,’ दाहालले भने ।

आवश्यक परे संसद् बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सकिने दाबी दाहालले गरेका छन् । तर, अहिले आफुहरू सर्वोच्च अदालतको निर्णयको पर्खाइमा रहेकाे बताए । 


अढाइ सय वर्ष लामो सामन्ती राजतन्त्रको टाउकोबाट श्रीपेच निकालेर भकुण्डो खेलेका शक्तिहरूलाई कमजोर नठान्‍न दाहालले चेतावनी दिए । ओली बेइमान, ठग र जालीसमेत रहेको उनको आरोप थियो । ओली अहिले दलालहरूसंग लम्परास परी रहेको उनको भनाइ थियो । 

सभालाई सम्बोधन गर्ने क्रममा दाहाल आफ्ना दुइ छोरा छोरी निर्वाचनको समयमा गुमाउनु परेको स्मरण गर्दै भक्कानिएका थिए । उखान-टुक्का भन्‍न संघर्ष सुरु नगरिएको बताउँदै दाहाले मुलुक गम्भीर संवैधानिक संकटमा परेको बताए । देश कोरोना महामारीले आक्रान्त भएको बेला प्रतिक्रान्तिको प्रयास हुँदै गरेको र त्यसको विपक्षमा जनता सडकमा आएको जिकिर उनले गरे ।


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x