राजनीति

कांग्रेसले अनिर्णित हुँदा प्रदेश-१ सभा सूचना टाँसेर स्थगित हुने अवस्थामा

नेकपाको (ओली समूह) सूचना टाँसेर स्थगित गर्ने पक्षमा, (दाहाल नेपाल समूह) जसरी भएपनि सदन चलाउनुपर्ने पक्षमा

लीलावल्लभ घिमिरे |
माघ २५, २०७७ आइतबार ९:३४ बजे

विराटनगर : नेपाली कांग्रेसले नेकपाको कुन समूहलाई सहयोग गर्ने भन्‍ने निर्णय लिन नसक्दा प्रदेश-१ को सदन नै अवरुद्ध हुने अवस्थामा पुगेको छ । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध गएको पुस १२ गते प्रदेश सभा सचिवालयमा अविश्‍वासको प्रस्ताव दर्ता भएको थियो ।
 
माघ ७ गते बोलाएको यस बर्षको हिउँदे अधिवेशन ३ मिनेट बसेर अनिश्चीतकालका लागि स्थगन भएको थियो । सभामुख प्रदीप भण्डारीले दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाएका छन् । तर कांग्रेसले कुन नेकपाको समूहलाई सहयोग गर्ने भन्ने निर्णय अहिलेसम्म नलिएका कारण दुवै समूहको योजना अघि वढ्न सकेको छैन् । नेकपाको मुख्यमन्त्री राई समूह कांग्रेसको निर्णय आएपछिमात्र सदन अघि बढाउने पक्षमा देखिएको छ । नेकपाको (दाहाल-नेपाल समूह) जसरीपनि आजै अविश्वासको प्रस्ताव सदनमा टेबल हुनपर्ने अडानमा छ । 

प्रदेश सभाको बैठकको कार्यसूची बनाउन प्रदेश सभा सचिवालयले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको सभासचिवालय प्रमुख सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । ‘आज सदनमा के–के गर्ने भन्ने निर्णय परामर्श समितिले नै लिन्छ,’ उनले भने, ‘सचिवालयमा अन्य कुनै विधेयक दर्ता भएका छैनन्, त्यसैले बैठक सुरु हुनासाथ अविश्वासको प्रस्तावमा प्रवेश गर्नुपर्ने अवस्था छ ।’ 


आफूहरू जसरी पनि सदन चल्नुपर्छ भन्‍ने पक्षमा रहेको नेकपा (दाहाल-नेपाल समूह)का नेता इन्द्रबहादुर आङबोले बताए । ‘हामी जुनसुकै अर्थमा पनि सदन चल्नु पर्छ भन्ने पक्षमा छौं,’ आङबोले भने, ‘सदन चल्न नदिने प्रतिपक्षले हो । यहाँ प्रतिपक्षले नै सदनको माग गरी रहेको छ । सरकारले बोलाएको सदन सरकार पक्षले नै चल्न दिदैन भन्ने कल्पना कसरी गर्ने ?’
 
प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रदेशसभा संसदीय दलका नेता राजीव कोइरालाले सदन चल्नु पर्ने बताए । ‘सदन चल्नु पर्छ,’ कोइरालाले भने, ‘अविश्वासको प्रस्ताव सदनमा टेवल भएपछि हामी कुन समूहलाई सहयोग गर्ने भन्ने निर्णय लिन्छौं ।’ 
कांग्रेसका केन्द्रीय नेताहरूले व्यक्तिगत रूपमा निर्णय सुनाएपनि पार्टीको आधिकारीक निर्णय कुन समूहलाई गर्ने भन्नेबारे अहिलेसम्म आइनसकेको कोइरालाले बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश-१ मा कुन समूहलाई सहयोग गर्ने र सरकारमा जाने कि नजाने भन्नेबारे निर्णय लिन भोलि सोमबार काठमाण्डौंमा प्रदेशका नेताहरुलाई बोलाएको कोइरालाले बताए । 

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले निष्कर्ष नै ननिस्कने सदन चल्नका लागि मात्र चलाउन नहुने बताए । ‘हामीले कांग्रेसको निर्णयसम्म पर्खौ भनेका छौ । दुवै समूहले कांग्रेसको समर्थन नपाइ अघि वढ्ने अवस्था छैन्,’ उनले भने, ‘आज सभामुखसँग प्रमुख नेताहरू बसेर छलफल गरी एउटा निष्कर्ष निकाल्छौं ।’ 

ओली समूह अहिले सदनमा अविश्‍वासको प्रस्ताव टेवल गर्दैमा केही नभइहाल्ने भएकाले कांग्रेसको निर्णय नआउञ्‍जेल सूचना टाँसेर सदन स्थगन गराउने पक्षमा देखिएको छ । 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x