राजनीति

प्रतिनिधि सभा विघटनविरुद्धको संयुक्त आन्दोलनमा कांग्रेस नजाने

मधुसुधन भट्टराई |
माघ २६, २०७७ सोमबार १६:५६ बजे

काठमाडौँ : नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेका बेला त्यसविरुद्ध तत्काल संयुक्त आन्दोलन गर्न नसकिने बताएको छ । कांग्रेसभित्र प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा एकमत नदेखिए पनि संयुक्त आन्दोलन तत्काल नगर्नेमा एकमत देखिएको छ । राज्यसत्ताविरुद्ध संयुक्त आन्दोलन गर्ने बेला नभएको कांग्रेस नेताहरूको भनाइ छ । 

नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष पुष्पकमल दाहालले आगामी फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका थिए । उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दलहरूसँग मिलेर सरकारको कदम विरुद्ध फागुन पहिलो साताबाट संयुक्त आन्दोलन गर्ने बताइरहदा कांग्रेसका नेताहरूले भने त्यसलाई तत्कालका लागि ठाडै इन्कार गरेका छन् ।
 
कांग्रेसका संस्थापन र नेता रामचन्द्र पौडेल समूहका नेताहरूको एउटै स्वर छ, ‘तत्काल संयुक्त आन्दोलनको सम्भावना छैन । कांग्रेस त्यसमा सहभागी हुँदैन ।’


नेता रामचन्द्र पौडेलले तत्काल संयुक्त आन्दोलन गर्ने परिस्थिति निर्माण भइनसकेको बताए । ‘अहिल्यै संयुक्त आन्दोलन गर्ने बेला भएको छैन । राज्यसत्ताविरुद्ध संयुक्त आन्दोलन गर्न विशेष परिस्थिति निर्माण हुनुपर्छ,’ नेता पौडेलले इकागजसँग भने, ‘आवश्यक परे र विशेष परिस्थिति आएमा फरक कुरा हो । फागुन पहिलो साता नै त्यो परिस्थिति आउँदैन । अरु सहभागी भए पनि तत्काल कांग्रेस सहभागी हुन्‍न ।’कांग्रेसमा त्यस विषयमा छलफल नभएको र छलफल तत्काल आवश्यक पनि नरहेको पौडेलले बताए ।
 
नेता पौडेल मात्रै होइन, कांग्रेसका संस्थापन पक्षीय नेताहरू पनि संयुक्त आन्दोलनको पक्षमा छैनन् । संस्थापन पक्षीय नेता एनपी साउदले प्रतिनिधि सभा विघटनविरुद्ध तत्काल संयुक्त आन्दोलनको सम्भावना नरहेको बताए ।

‘पहिला संयुक्त आन्दोलन भनेपछि कस्काविरुद्ध भन्‍ने कुरा हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको घोषणा गरिसकेपछि यो सरकार निर्वाचनको घोषित मितिसम्मका लागि मात्रै हो,’ साउदले इकागजसँग भने, ‘घोषित मितिमा निर्वाचन गरेनन् र पद पनि छोडेनन् भने मात्रै संयुक्त आन्दोलन स्वभाविक हुन्छ । अहिल्यै हुने आन्दोलनमा कांग्रेस सहभागी हुन्‍न ।’

साउदले प्रतिनिधि सभा विघटन संविधान अनुसार छ कि छैन भन्ने विषयमा अहिले सर्वोच्च अदालतमा परेको रिटमा संवैधानिक इजलासमा बहस भइरहेकाले अदालतको निर्णय नदिंदासम्म संयुक्त आन्दोलनका विषयमा अन्य दलहरूसंग छलफल पनि नगर्ने बताए । अदालतविरुद्धको आन्दोलनमा कांग्रेस सामेल नहुने साउदको भनाइ छ । 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x