राजनीति

प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलन

जसपा पनि कांग्रेसकै लाइनमा

मधुसुधन भट्टराई |
माघ २७, २०७७ मंगलबार १७:४८ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधि सभा विघटनविरुद्ध तत्काल संयुक्त आन्दोलनमा सामेल नहुने भएको छ । नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष पुष्पकमल दाहालले आगामी फागुन पहिलो साताबाट प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस, जसपालगायत राष्ट्रिय दलको मान्यता नपाएका अन्य दलहरू मिलेर संयुक्त आन्दोलन गर्ने बताएका थिए ।
 
कांग्रेस नेताहरूले राज्यसत्ताविरुद्ध तत्काल संयुक्त आन्दोलन गर्ने अवस्था आइनसकेको बताएका छन् ।  जसपा नेताहरू पनि कांग्रेसकै लाइनमा देखिएका हुन् । सर्वोच्च अदालतमा विचाराधीन  विषयमा आन्दोलन गर्न नहुने पक्षमा जसपा देखिएको हो ।
 
‘पार्टीले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गरिरहेको छ र गरिरहन्छ । तर, राज्यसत्ताविरुद्ध संयुक्त आन्दोलन गर्ने भनेको जनआन्दोलन गर्ने हो । त्यो बेला भएको छैन,’ जसपा नेताहरू भन्छन् । कांग्रेसका नेताहरूको पनि यही धारणा  छ । 

जसपा नेता शरतसिंह भण्डारी भण्डारीले जसपाको एजेण्डामा प्रतिनिधि सभा विघटनविरुद्ध तत्काल संयुक्त आन्दोलनमा जाने भन्‍ने विषय नपरेको बताए । ‘हामीले तत्काल संयुक्त आन्दोलनमा जाने विषयमा एजेण्डा बनाएका छैनौं । राज्यसत्ताविरुद्ध संयुक्त आन्दोलन गर्ने बेला भएको छैन’ नेता भण्डारीले इकागजसँग भने, ‘हामीले पार्टीकै जोडबलमा आन्दोलन गरिरहेका छौं ।’


गत बैशाख ११ गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भएर बनेको पार्टीमा संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने संयुक्त आन्दोलन गर्नुपर्ने बेला आएको बताउँदै आएका छन् । तर, कांग्रेस नै सहभागी नभई तत्काल संयुक्त आन्दोलनमा जाने योजना नरहेको पार्टीमा भट्टराई निकट कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठले बताए ।

‘हाम्रो पार्टी प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा जानुपर्छ भन्‍नेमा छ । पार्टी त आन्दोलनमै छ । अन्य दलहरू मिलेर पनि आन्दोलन गर्ने भएमा हामी त तयारै छौं,’ श्रेष्ठले इकागजसँग भने, ‘नेपाली कांग्रेस त्यसमा पनि सभापति शेरबहादुर देउवा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा बहस भइरहेकाले त्यो टुंगो नलाग्दै संयुक्त आन्दोलन नगर्ने पक्षमा देखिनु भएको छ । कांग्रेस सहभागी नहुने तत्कालको संयुक्त आन्दोलनमा हामी पनि जादैनौं ।’

जसपामा तत्कालीन समाजवादी पार्टीका नेताहरू संयुक्त आन्दोलनमा जाने कि भन्‍ने विषयमा थिए । तर, कांग्रेस सहभागी नहुने देखिएपछि उनीहरू पनि पछि हटेका हुन् । 

राज्यसत्ताविरुद्ध दलहरूको संयुक्त आन्दोलन भनेको जनआन्दोलन हुने र त्यो जनआन्दोलन गर्ने बेला अहिल्यै भइनसकेको नेता भण्डारीले बताए । ‘निश्‍चित रूपमा भोलि राज्यसत्ताको प्रतिगमनविरुद्ध मुलुकै एकै ठाँउमा उभिनुपर्ने बेला आउन सक्छ,’ भण्डारीले भने, ‘त्यो जनआन्दोलन हुन्छ । जनता नै आन्दोलनमा जाने अवस्था आयो भने मात्रै हामी संयुक्त आन्दोलनमा जान्छौ । त्यो बेला भएको छैन ।’ 

जसपा पार्टीले भने विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै चरणबद्ध आन्दोलनमा छ । त्यो आन्दोलनलाई निरन्तरता दिइरहने नेताहरू बताउँछन् । कार्यकारिणी सदस्य श्रेष्ठले भने, ‘पार्टीले विघटनविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको छ, त्यसलाई हामी निरन्तरता दिन्छौं ।’

२०७४ सालमा राष्ट्रिय स्तरको दलको मान्यता पाएका कांग्रेस र राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जसपा नै तत्काल संयुक्त आन्दोलनको विपक्षमा देखिएपछि दाहालको घोषणा तत्कालका लागि कार्यान्वयन नहुने देखिएको छ ।  
 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x