राजनीति

संविधानलाई सेटिङको शिकार हुनबाट जोगाउन सडकमा आउनु पर्‍यो : गगन थापा

लीलावल्लभ घिमिरे |
माघ २९, २०७७ बिहीबार १७:५४ बजे

विराटनगर : नेपाली कांग्रेसका युवा नेता गगन थापाले सनकको शिकार भएको संविधानलाई सेटिङको शिकार हुनबाट जोगाउन आफुहरू सडकमा आउनु पारेको बताएका छन् । नेपाली कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै नेता थापाले भने, ‘प्रधानमन्त्रीको सनकको शिकार संविधान बन्यो, अब सेटिङको शिकार बन्ने खतरा छ । त्यसैले हामीहरू खबदारी गर्न सडकमा आउनु परेको हो ।’

ओलीले जतमतको अपमान गरेको आरोप लगाउँदै नेता थापाले भने, ‘जनताको अपमान गर्नेलाई निर्वाचनबाटै उत्तर दिने हो । तर, निर्वाचन संविधानले चिनेको हुनु पर्‍यो । कसैको हुकुमबाट हुने निर्वाचन हामीलाई चाहिएको होइन ।’ 


नेता थापाले बैशाखमा निर्वाचन हुन्छ भन्ने भ्रममा कसैलाई पनि नपर्न आग्रह गरे । कुनै पनि हालतमा बैशाखमा निर्वाचन हुन नसक्ने उनको दाबी थियो । संविधानको रक्षक राष्ट्रपति प्रधानमन्त्रीको सेटिङमा चलेर मर्यादामा बस्न नसकेको थापाको आरोप थियो ।

‘राष्ट्रपति ब्यक्ति हैन संस्था हो । तर, उहाँ मर्यादामा बस्न सक्नु भएन । त्यसैले प्रश्न उठाउने हो,’ थापाले भने, ‘संविधान सभा पुनः स्थापना भएपछि विद्यादेवी भण्डारीलाई घर पनि पठाउने हो ।’ यदि यति भन्दा राजद्रोह हुन्छ भने जेलहरूका क्षमता बढाए हुन्छ । हामी पनि आउँदैछौं ।’ 

कार्यक्रमा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले केपी ओलीलाई ‘धुन्दुकारी’ शासकको संज्ञा दिए । ‘कांग्रेसले राजालाई त टेरेन,’ उनले भने, ‘ केपी ओली चाहिँ कुन बारीका मुला हुन् ?’ नेकपाका दुवै समूहकाले नेपाली जनतालाई धोका दिएको भन्दै घिमिरेले दाहाललार्ई चोक्टा खान गएकी बुुढी झोलमा डुबेर मरी भने जस्तै भएको बताए । सर्वोच्च अदालत बालुवाटारको मातहको अड्डा नभएको घिमिरेको भनाइ थियो । 

कार्यक्रममा अर्का केन्द्रीय सदस्य प्रदिप पौडेलले देश गम्भीर संकटतर्फ उन्मुख भएका बेला कांग्रेसले जिब्रो चपाउन नहुने तर्क गरे ।


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x