राजनीति

'राष्ट्रपति पदकै प्रस्ताव आए पनि ओली सरकारमा जाँदैनौँ '

अब उधारो सहमति हुँदैन : राजेन्द्र महतो

सन्तोष अधिकारी |
फागुन २५, २०७७ मंगलबार २०:४८ बजे

काठमाडौँ  : सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि संसद्को सबैभन्दा ठूलो दल नेकपा एमाले भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दल । संसद्मा रहेका केही दल एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न लागिरहेका बेला एमाले भने आफू कसरी संसद्‌मा बलियो हुने भन्‍ने रणनीति बनाइरहेको छ । त्यसको लागि संसद्को चौँथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) निर्णायक छ ।  

एमालेले जसपासँग सत्ता सहकार्यको लागि छलफल गर्न अर्थमन्त्रीसमेत रहेका पार्टी उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई जिम्मा दिएको छ । यता जसपाको तर्फबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सम्मिलित कार्यदल बनेको छ । शुक्ल र कर्ण दुबै महन्थ ठाकुरनिकट हुन् । 


जसपाभित्र खटपट सुरु ? 

पार्टीको निर्णयबिना नै सरकारमा जान छलफल गरेको भन्दै ठाकुर-महतो समूहसँग जसपाकै नेताहरुले आपत्ति जनाएका छन् । एमालेले वार्ताका लागि खटाएको समूहले सरकारमा केही मन्त्रालय र उपसभामुख जसपालाई दिन सकिने प्रस्ताव पक्कै गर्नेछ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उक्त पद रिक्त छ । एउटै दलबाट सभामुख र उपसभामुख हुन नपाउने संवैधानिक प्रावधान भएकोले नेकपाले उपसभामुख खाली राख्दै आएको थियो ।  

जसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठ केपी ओली नेतृत्वको सरकारमा जसपा सहभागी नहुने दाबी गर्छन् ।  ‘सरकारमा जाने कुरा कोही व्यक्तिहरूले कुरा गरेर, छलफल गरेर हुने कुरै होइन । पार्टीमा निर्णय हुनुपर्‍यो । संसदीय दलले निर्णय गर्नुपर्‍यो,’ श्रेष्ठले भने, ‘कोही व्यक्ति जान्छन् भने केही भन्‍न सकिन्‍न । तर, उपसभामुख के-के पदको कुरा पनि बाहिर आएको सुनियो । उपसभामुख त के राष्ट्रपति नै दिए पनि ओली गठबन्धनमा जसपा जाँदैन ।’ 

जसपाका अर्का कार्यकारिणी सदस्य रामसहाय यादव पनि महन्थ ठाकुर र राजेन्द्र महतोले सरकारी पक्षसँग गरेको छलफलबारे पार्टीमा छलफल नभएको बताउँछन् । ‘उहाँहरुको अनौपचारिक रुपमा कुरा भएको होला त्यो पार्टीको कुरा होइन । पार्टीको कुरा भए त पार्टीमा निर्णय भएर भइहाल्छ नि,’ यादवले भने ।   

त्यस्तै रेणु यादवले पनि मंगलबार बसेको जसपाको संसदीय दलको बैठकमा सरकारमा जाने विषयमा कुनै कुरा नभएको दाबी गरिन् । ‘सरकारमा जाने विषयमा आजको संसदीय दलको बैठकमा एक शब्द पनि उठेको छैन ।  हाम्रो मधेशको मुद्दाको विषयमा पहिले सरकारमा जाँदा जेजस्ता कुरा भएका थिए त्यसलाई कार्यान्वयन गर्दै जाने हाम्रो लक्ष्य हो,’ उनले भनिन्, ‘अहिले तत्काल सरकारमा जाने कुरा भएको छैन । आज जेष्ठताको आधारमा भएको बैठकलाई अन्य गठबन्धन, फुटलगायत भनेर आएको कुरामा हाम्रो ध्यानाकर्षण भएको छ । जसपा एक ढिक्का छ ।’ 

उधारो सहमति हुँदैन : राजेन्द्र महतो  

यता राजेन्द्र महतो पनि उधारोसहमतिमा ओली नेतृत्वको सरकारमा नजाने बताउँछन् । ‘धोकाधडी धेरै बेहोर्‍यौँ । अब हाम्रो मुद्दा सम्बोधन नभएसम्म कसैको उधारो प्रतिबद्धतामा जसपा सरकारमा जाँदैन । बाहिर धेरै हल्ला आयो फुटाउने चाहना कसैको होला त्यो सफल हुँदैन,’ महतोले भने, ‘सरकारमा जाने बेलामा जेलमा रहेका नेता कार्यकर्ताको विषयमा पनि सम्बोधन हुनुपर्छ । हामी सबैसँग वार्ता गर्दैछौँ अहिले नै सरकारमा जाने टुंगो छैन ।’ 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x