राजनीति

सत्ता चलाउने पार्टीलाई तहसनहस पार्ने कट्टेलको नेकपा कति बलियो ?

दर्ता भएको सात वर्ष, बल्ल राष्ट्रिय सम्मेलनको तयारी

विनोद देवकोटा |
फागुन २६, २०७७ बुधबार १८:५ बजे

काठमाडौँ : राजनीतिक वृत्तमा यो साता एकाएक चर्चामा आए, ऋषि कट्टेल । उनले सर्वोच्चमा दायर गरेको एउटा रिटले शक्तिशाली नेकपालाई तहसनहस मात्रै पारेन एकता नै भंग गरिदियो । कट्टेलले नेकपा नाम पाएसँगै एकाएक एमाले र माओवादी केन्द्र ब्युँतिन पुग्यो । सत्ता समीकरण बदलियो । सरकार टिकाउने र ढलाउने कसरत जारी छ । फैसलाका असर नेपाली राजनीतिमा लामो समयसम्म देखिनेछन् । 

उनको व्यस्तता पछिल्लो समय निकै बढेको छ । मंगलबार इकागजले सम्पर्क गर्दा उनले व्यस्तताको लामै फेहरिस्त सुनाए । एक अनलाइन मिडियामा अन्तर्वार्ता दिन जान लागेका उनले त्यसपछिको सूचीसमेत सुनाउँदै बाटोमा हिड्दाहिड्दै कुरा गर्न आग्रह गरे । करिब दुई तिहाइ बहुमत पाएको शक्तिशाली नेकपालाई तहसनहस पारिदिनु भयो । भ्याइनभ्याइ छ हैँ यहाँलाई ? पहिलो प्रश्‍नमा उनले हाँस्दै सहमति जनाएर भने, ‘हो भ्याइनभ्याइ नै छ ।’


२०६९ मा पार्टी निर्माण, २०७० मा आयोगमा दर्ता 

नेकपा दर्ता गर्नुअघि कट्टेल सीपी मैनालीले नेतृत्व गरिरहेको नेकपा (माले) का नेता थिए । २०६९ सालमा उनले नेकपा पार्टी बनाएर आयोगमा दर्ताका लागि निवेदन दिए । उनकाअनुसार २०७० साउनमा मात्रै आयोगले उनको दल दर्ता गर्ने निर्णय गर्‍यो । 

गत निर्वाचनअघि वाम गठबन्धनसहित निर्वाचनमा गएका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले २०७५ जेठ ३ मा एकता गरे । एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता गर्न आयोग पुगे ।

यसअघि नै नेपाल कम्युनिस्ट पार्टीको नाममा दल दर्ता भएको भन्दै आयोगले एकीकरण भई बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भनी २०७५ जेठ २३ मा दर्ता गर्‍यो । कट्टेलले नेकपा (नेकपा) को दर्ता बदर गर्न माग राखी आयोगमा निवेदन दिए । दर्ता बदरका लागि दिएको निवेदनमा निर्वाचन आयोगले कट्टेलको दाबी नपुग्‍ने निर्णय गर्‍यो । त्यसपछि उनी अदालत पुगे । निर्वाचन आयोगको निर्णयविरुद्ध कट्टेल २०७५ मङ्सिर २१ गते अदालत पुगेका थिए । जसको दुई वर्षपछि अदालतले कट्टेलको पक्षमा फैसला गर्‍यो । 

कस्तो छ संगठन संरचना ?

तत्कालीन सत्तारुढ नेकपाको एकता नै बदर गर्ने कट्टेल नेतृत्वको नेकपाको सांगठनिक संरचना कस्तो छ त ? आम चासो हुनसक्छ । उनको दलको सांगठनिक संरचना बुझ्‍न इकागजले उनलाई सम्पर्क गरेको थियो । कुराकानीका क्रममा उनले पाँच प्रदेशमा प्रदेश कमिटी र ६१ जिल्लामा जिल्ला स्तरका समिति वा सम्पर्क समिति रहेको जानकारी दिए । त्यस्तै चार जनवर्गीय संगठन समेत रहेको उनले बताए । 

‘हाम्रो केन्द्रीय समिति, प्रदेश समिति, गाउँ-नगर समिति छन्,’ उनले भने, ‘महाधिवेशन, राष्ट्रिय सम्मेलन समिति माथिल्लो निकाय हो । केन्द्रीय सल्लाहकार समिति पनि छ । अहिले भन्‍न चाहिँ सम्मेलन आयोजक समिति भन्या छौं । तर वैधानिक व्यवस्था यहीँ हो । पोलिटब्यूरो, मुख्यालय सबै छ ।’

पाँच प्रदेशमा समिति, कर्णाली र सुदूरपश्‍चिममा छैन  

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको बताउने कट्टेलले सातमध्ये पाँच प्रदेशमा प्रदेश स्तरीय कमिटी रहेको सुनाए । ‘राष्ट्रिय सम्मेलन आयोजक समितिमा अहिले सबैभन्दा माथिल्लो निकाय हो,’ उनले भने, ‘यसमा सदस्यको संख्या सयभन्दा माथि छ । सदस्य संख्या छ थपिदै गएको पनि छ । प्रदेश पनि सबैमा एकनास छैन । पाँच वटा प्रदेशमा प्रदेश स्तरका कमिटी छन् । दुईटामा छैन । कर्णाली र सुदूरपश्‍चिममा प्रदेश स्तरको समिति बन्‍न सक्या छैन । त्यहाँ जिल्लाका केही सम्पर्क कमिटी छन् ।’ 

प्रदेश कमिटीमा सदस्य संख्या भने एकनासको नभएको उनले जानकारी दिए । उनकाअनुसार विभिन्‍न प्रदेशमा अनुकुलताका आधारमा सदस्य संख्या राखिएको छ । ‘कुनै प्रदेशमा १५/१६ जना छन् । कुनैमा १०/११ जना छन् भने कसैमा ७/८ जना छन् । बागमतीमा सबैभन्दा धेरै ३५ जना छन्,’ उनले भने । 

६१ जिल्लामा समिति 

हिमाली र पहाडी क्षेत्रका केही दुर्गम जिल्लाबाहेक अन्य जिल्लामा पार्टीको संगठन गरेको उनको दाबी छ । देशभरका करिब ६१ जिल्लामा कुनै न कुनै रूपमा संगठन रहेको उनको भनाइ छ । ‘जिल्ला तहमा केही पश्‍चिमका हिमाली जिल्लाबाहेक तराईंका सबै जिल्लामा कमिटी या सम्पर्क समिति छन्,’ उनले भने, ‘तराईंका एक दुई जिल्ला बारा र पर्साबाहेक सम्पर्क समिति छन् । अरु जिल्लामा करिब-करिब साना ठूला कमिटी छन् ।’

उनका अनुसार, पहाडी जिल्लातिर इलाम पाँचथरमा पनि सम्पर्क समिति छ । उदयपुरमा राम्रो संगठन छ । ‘ओखलढुङ्गा र खोटाङमा चाहिँ गडबड भएको छ । त्यहाँको साथीहरू यताउता हिँडे,’ उनले भने, ‘बागमतीमा सबैमा छ सानोतिनो संगठन । गण्डकीमा ठीकै छ । धौलागिरीतिर सम्पर्क समिति बाहेक संगठन छैन । पहाडी र हिमाली दुर्गम जिल्लामा कमै छ । यसरी हेर्दा देशभर गर्दा ६०/६१ जिल्लामा सम्पर्क समिति छन् ।’ 

चार जनवर्गीय संगठन : युवा संघ खारेज, शिक्षक संगठन बनाउने तयारी

कट्टेल नेतृत्वको नेकपामा चार वटा जनवर्गीय संघठन छन् । युवा संगठन खारेज गरेको बताउने कट्टेलले पेशागत संघठन बनाउने तयारीमा रहेको सुनाए । ‘जनवर्गीय संगठन युवा संघ हामीले खारेज गरिदिएका छौं,’ उनले भने, ‘चार वटा मात्रै चलाउने भनेका छौं । विद्यार्थी, महिला, मजदूर र किसान । चार वटा जनवर्गीय संगठन क्रियासिलै छन् । पेशागत एउटा बनाउने टुंगोमा छ । शिक्षकहरूको संगठन अब बनाउँदै छौं । 

दर्ता भएको सात वर्ष, अहिले राष्ट्रिय सम्मेलनको तयारी

कट्टेलले नेकपा दर्ता गरेको अब साउनमा आठ वर्ष पुग्छ । दल दर्ता भएको पाँच वर्षमा राष्ट्रिय सम्मेलन गर्नुपर्ने भए पनि हालसम्म उनले राष्ट्रिय सम्मेलन गर्न सकेका छैनन् । तर अहिले आएर राष्ट्रिय सम्मेलनको तयारी भइरहेको उनको भनाइ छ । खासमा गत वर्ष नै सम्मेलन गर्ने तयारी भए पनि कोभिडका कारण हुन नसकेको उनको भनाइ छ । 

‘राष्ट्रिय सम्मेलन पाँच वर्षमा गरिसक्नु पर्ने हो,’ उनले भने, ‘गर्नुपर्ने बेला भएको छ । अब गर्छौ । पोहोरै गर्ने भन्या । लकडाउनले गर्दा रोकियो । २०७६ चैत २८ देखि बैशाख १ सम्म गर्ने तयारी थियो । दस्तावेज सारा छापेर केन्द्रीय कार्यालयमा राखिएको छ । तर, चैत ११ देखि लकडाउन भएर रोकियो । अब दुई, तीन महिनामा सके अहिले नभए भदौं असोजमा राष्ट्रिय सम्मेलन गर्छौ ।

अब छिट्टै सम्मेलन गर्ने भनिए पनि मिति भने टुंगो लागिनसकेको छैन । उनकाअनुसार अब छिट्टै बैठक बसेर मिति टुंग्याउने तयारी छ ।  

कानुनी प्रश्‍न 

नेपालको संविधानको धारा २६९ को उपधारा ४ (ख) मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने उल्लेख छ । कट्टेलको नेकपा दर्ता भएको आठ वर्ष पुग्‍न लाग्यो । आठ वर्ष पुग्‍न लाग्दा समेत पार्टीले महाधिवेशन गरेको छैन । के कट्टेलको नेकपामाथि कानुनी प्रश्‍न उठ्छ ? वरिष्ठ अधिवक्ता यदुनाथ खनाल यो विषय निर्वाचन आयोगले नै हेर्नुपर्ने बताउँछन् । 

‘निर्वाचन आयोगले हेनुपर्‍यो नि । आयोगले दल दर्ता निष्क्रिय नबनाउँदासम्म केही हुँदैन । यदि त्यस्तो हो भने कानुनी प्रश्‍न उठ्नसक्छ । त्यो कुरा आयोगले हेर्नुपर्यो’ उनले भने । 

यता प्रमुख निर्वाचन आयुक्त दिनेचन्द्र थपलियाले अदालतमा मुद्दा विचाराधीन रहेको अवधिलाई शून्य अवधि मानिने भएकोले अहिले कानुनी प्रश्‍न नउठ्ने बताए । ‘मुद्दा चलेको अवधि सामान्यत शून्य अवधि हुन्छ । त्यो अवधि घटाएर मिति गणना गरिन्छ’ उनले भने । 


 


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x