राजनीति

ओलीको ‘फुटाऊ’ अस्त्र : निशानामा को ?

आकाश क्षेत्री |
कात्तिक २०, २०७७ बिहीबार १६:३३ बजे

काठमाडौं : जबजब प्रधानमन्त्री केपी शर्मा ओली सरकारविरुध्द आन्तरिक विद्रोह हुन्छ, तबतब ‘फुटाउ र राज गर’को रणनीति अवलम्बन गरिन्छ । भन्नुपरोइन, यो रणनीतिको सिकार विद्रोही खेमा नै हुन्छन् । 

यसपालि पनि ओली सरकारविरुध्द सत्तारुढ नेकपाभित्रै विद्रोह भएको छ । र, फेरि पनि उही रणनीति अवलम्बन गरिएको छ । ‘फुटाउ र राज गर’को ओली रणनीतिलाई नजिकबाट नियालिहरेका छन् राजनीति विश्लेषक श्याम श्रेष्ठले पनि । सबैलाई समेट्न सक्ने क्षमता नभएका कारण प्रधानमन्त्री ओलीले यस्तो रणनीति अवलम्बन गरेको उनी बताउँछन् ।


‘ओलीको चरित्र नै यही हो, उनले सबैलाई सँगै लिएर हिँड्न जानेका छैनन् । सानो कोटरीमा बस्ने, एउटा सर्कलको मात्र कुरा सुन्ने उनको बानी छ,’ श्रेष्ठ भन्छन्, ‘ओलीले यो रणनीति भर्खरै प्रयोग गर्न थालेका भने होइनन् ।’

पछिल्लो समय नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीचको समीकरण तोड्ने रणनीतिमा ओली देखिन्छन् । यसका लागि उनले राजनीतिक वृत्त र दृश्यबाट हराइरहेका नेता प्रदीप नेपालको सहयोग लिएका छन् । पछिल्लो दुई सातादेखि प्रदीप नेपालको राजनीतिक भेटघाट बाक्लिएको छ । मुख्यगरी पूर्र्वएमाले खेमाका नेताहरूलाई एउटा कित्तामा उभ्याउने प्रयास उनले गरिरहेका छन् ।

कात्तिक १५ मा प्रधानमन्त्री ओलीनिकट नेताहरू शंकर पोखरेल, भानुभक्त ढकाल, विष्णु रिमाल, राजन भट्टराई र सूर्य थापालगायत राजनीतिमा निस्क्रिय जस्तै रहेका नेपालको घरमै पुगे । त्यसैको दुई दिनपछि १७ गते वरिष्ठ नेता नेपाल पनि प्रदीपकै घरमा पुगे । यी भेटघाटले ओलीले दाहाल–नेपालको समिकरण तोडेर पूर्वएमालेका सबै खेमालाई आफूतिर पार्न प्रयास गरिरहेका छन् भन्ने प्रष्ट हुन्छ ।  

ओलीले यो समीकरण तोड्न खोज्नुको एउटा पछिल्लो कारण छ । त्यो कारण हो– ‘कर्णाली विद्रोह ।’ दाहाल–नेपालको समीकरणले ओली नराम्ररी पछारिन पुगे । विवादपछि विभिन्न निर्देशनका कारण ओलीले नोक्सानी व्यहोर्नु पर्‍यो ।  

असोज २५ मा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुध्द सत्तारुढ नेकपाकै १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।  प्रदेशको विद्रोही समूहलाई केन्द्रबाट वरिष्ठ नेता नेपालकै खेमाले सहयोग गरेको थियो । 

अविश्वास प्रस्ताव दर्ता भएको भोलिपल्टै केन्द्रमा दाहाल–नेपालबीच समझदारी भयो । उक्त समझदारीका कारण प्रदेशमा देखिएको असन्तुष्टि समाधानको बाटोतिर उन्मुख देखियो । तर, पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली झस्किए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष भएपनि आफू प्रदेश विवादका विषयमा अनभिज्ञ भएपछि उनले एक्लिएको महसुस गरे । 

प्रदेश विवादमा आफ्नो ओलीले कर्णालीका नेताहरूलाई काठमाडौं बोलाए । यतिमात्र होइन, उनले कात्तिक ५ मा प्रदेश सरकारलाई केन्द्रको निर्देशनात्मक आदेश मान्‍न पत्रसमेत पठाए । प्रदेश विवादमा दाहाल–नेपाल समीकरणले झस्किएका प्रधानमन्त्री ओलीले २९ गते मन्त्रिपरिषद् पुर्नगठन गरे । मन्त्रिपरिषद् पुर्नगठन गर्दा आफूहरूसँग कुनै छलफल नै नगरेको भन्दै ओलीसँग दाहाल-नेपाल असन्तुष्ट देखिए । सरकारविरुध्दको पछिल्लो आन्तरिक विद्रोहको मुख्य कारण पनि यही असन्तुष्टि हो ।

यही असन्तुष्टिसँग जुध्‍न प्रधानमन्त्री ओलीले दाहाल-नेपाल समिकरणलाई फुटाउन चाहेको राजनीतिक विश्लेषक श्रेष्ठ बताउँछन् । ‘ओलीले यतिखेर माधवकुमार नेपाललाई दाहालबाट छुटाउन खोजेको देखिन्छ’, उनी भन्छन्, ‘पार्टीभित्र ओलीलाई कसैले विश्वास गर्दैनन् । पछिल्लो समय नेपालले पनि ओलीको विश्वास गरिरहेका छैनन् ।’
 
चोइटिदै ‘प्रचण्ड’ हाँगा

ओलीको ‘फुटाउ’ अस्त्र पहिल्यैदेखि पूर्वमाओवादी खेमातिर ढल्किएको देखिन्थ्यो । यसपटक त्यो अस्त्र पूर्वमाओवादी खेमाको पनि पूर्वखेमातिर ढल्किएको देखिन्छ । तत्कालीन ‘पातलो मसाल’बाट आफ्नो राजनीतिक जग बसालेका पूर्वमाओवादी नेताहरूलाई आफ्नो पक्षमा पार्न तत्पर देखिन्छन् ओली ।

वि.सं. २०४० मा नेपाल कम्युनिस्ट पार्टीभित्र टुट-फुटको नियति भोगिरहेको थियो । त्यो समयमा नेकपाबाट अलग्एिर एउटा खेमा मशाल बन्यो । तर, एकीकृत भएको त्यो मशालले पनि विभाजन व्यहोर्‍यो । मशाल दुईवटा बनेपछि ‘मोटो मशाल’को नेतृत्व मोहन वैद्य र ‘पातलो मसाल’को नेतृत्व मोहनविक्रम सिंहले गरे ।

०४७ मा नेकपा (एकता केन्द्र) गठन भयो । जसमा पातलो मसाल पनि सहभागी थियो । तत्कालीन पातलो मसालमा युवा नेताहरूको एउटा लहरो थियो, त्यो लहरो वर्तमान राजनीतिमा प्रभावशाली मानिन्छ । त्यो लहरोभित्र पर्ने नेताहरू हुन् टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, दिनानाथ शार्मा र मणि थापा । 

जनयुध्दमा होमिएका यी नेताहरू तत्कालीन माओवादी केन्द्र हुँदै पछिल्लो समय सत्तारुढ नेकपामा छन् । जसमध्ये रायमाझी, गजुरेल र थापा वर्तमान नेकपामा स्थायी समिति सदस्य हुन् भने दीनानाथ शर्मा राष्ट्रियसभामा नेकपाको दलका नेताको रुपमा राजनीतिक फ्रन्टलाइनमा छन् । 

राजनीतिको जग अर्कै भएपनि यो खेमाले केही समयअघिसम्म पुष्पकमल दाहाललाई हरदम सहयोग गरिरह्यो । जनयुध्द र त्यसपछिका राजनीतिक खिचातानीमा दाहालले यो खेमालाई भरपुर प्रयोग गरे ।
तर, यो समय दाहालबाट यो खेमा टाढिन थालेको छ । यसको प्रमुख कारक बनिरहेका छन्- ओली । करिब २० वर्ष अगाडिको एउटा राजनीतिक खेमालाई व्यूउँत्याएर ‘दाहाल हाँगो’ चोइट्याउने रणनीतिमा जुटेका छन् उनी । किनकि ओली नेकपाका अर्का अध्यक्ष दाहाललाई एक्लै पार्न चहान्छन् । 

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्ः ‘ओलीले यतिखेर माधवकुमार नेपाललाई दाहालबाट छुटाउन खोजेको देखिन्छ । पार्टीभित्र ओलीलाई कसैले विश्वास गर्दैनन् । पछिल्लो समय नेपालले पनि ओलीको विश्वास गरिरहेका छैनन् ।

कात्तिक १५ मा प्रधानमन्त्री ओलीले दाहालसमक्ष पार्टी फुटाउने प्रस्ताव गरे । प्रधानमन्त्री स्वयंबाट त्यस्तो प्रस्ताव आएपछि राजनीतिक वृत्त तरंगित बन्न पुग्यो । ओलीले नै किन यस्तो प्रस्ताव गरे होलान् ? पार्टी फुट्यो भने उनकै सरकार संकटमा पर्दैन ? 

राजनीतिक विश्लेषक श्रेष्ठ दाहालबाट पूर्वमाओवादी खेमाका नेताहरू फुटाएपछि मात्र ओलीमा यस्तो प्रस्ताव ल्याएको बताउँछन् । उनी भन्छन्, ‘माओवादीलाई सक्काउने ओलीको उद्देश्य थियो त्यो पूरा भयो, उद्देश्य पूरा भएपछि नै पार्टी विभाजनको कुरा आएको हो ।’

पछिल्लो समय पूर्वमाओवादी खेमाकै नेता लेखराज भट्टले अध्यक्ष दाहालविरुध्द अनेक अभिव्यक्ति दिइरहेका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका भट्टले अबदेखि दाहाललाई नेता नमान्नेसमेत घोषणा गरिसके । 

त्यस्तै गृहमन्त्रीसमेत रहेका पूर्वमाओवादी खेमाका नेता रामबहादुर थापा पनि दाहालसँग सन्तुष्ट छैनन् । राजनीति खिंचातानी चुलिएका बेला उनी दाहालको पक्षमा नउत्रनु त्यसको एउटा दृष्टान्त हो ।

ओलीको ‘वामदेव’ अस्त्र ? 

वामदेव गौतम ओली निकट देखिँदैनन् । तर, समय-समयमा गौतम ओलीकै अस्त्र बनिदिन्छन् । ओली हरदम उनलाई अनेक राजनीतिक आश्वासन दिएर विद्रोही खेमाबाट आफ्नो खेमामा पर्ने कोशिस गरिरहेको देखिन्छन् । 

यही मेसोमा एक वर्षअघि अर्थात् ०७६ माघमा गौतमले सत्तारुढ नेकपाको उपाध्यक्ष पद पाए । त्यसपछि ०७६ फागुन १४ गते सत्तारुढ नेकपा सचिवालय बैठकले उनलाई राष्ट्रियसभा सदस्य बनाउन सिफरिस गर्‍यो । पार्टीले सिफरिस गरेपनि गौतम राष्ट्रियसभामा जान पाएनन् । 

०७७ भदौमा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने घोषणा गरे ।  त्यसको एक महिनापछि अर्थात् असोज १ गते गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भए । तर, गौतमको मनोनयन गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा परेको मुद्दा अझै विचाराधिन छ । 

ओलीले गौतमलाई आफ्नो अस्त्र बनाउन चाहेको यो पहिलो प्रयास भने होइन । पूर्वएमालेको एउटा धार उनीतिर रहेकाले ओलीले अरुबाट फुटाएर उनलाई आफूतिर ल्याउने प्रयत्न सुरुदेखि नै गरिरहे । यहीबीचमा गौतम बाँकेबाट चुनाव लड्ने चर्चा बाहिर आयो । उक्त चर्चाले विरोधको रुप दिएपछि उनी बाँकेबाट पछि हटे । त्यसपछि पार्टीभित्र वामदेवलाई डोल्पामा नेकपाबाट जितेका सांसद धनबहादुर बुढालाई राजीनामा गराएर चुनाव लगाउने कुरा बाहिरियो ।

त्यस लगतै काठमाडौं-७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर वामदेवका लागि ठाउँ खाली गरिदिने घोषणा पनि भयो । पार्टी नेतृत्वले सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका रवीन्द्र अधिकारीको निधनपछि कास्की-२ मा चुनाव लड्न समेत प्रस्ताव गर्‍यो । तर, तर, पार्टीभित्रको शक्ति संघर्ष र अन्य विविध कारण वामदेवले कुनै ठाउँमा निर्वाचन अड्न पाएनन् ।

कुनै उपायबाट पार नलागेपछि प्रधानमन्त्री ओलीले आफू निकट मन्त्री डा.युवराज खतिवडाको सिट गौतमलाई जिम्मा लगाए । गौतमका लागि ओलीले यतिधेरै गर्नुको पछाडि एउटा रणनीति छिपेको देखिन्छ । त्यो रणनीति हो, गौतमलाई अरु खेमाबाट फुटाएर आफू शक्तिशाली बन्‍ने ।


Author

आकाश क्षेत्री

संसदीय मामिलाको रिपोर्टिङ गर्ने क्षेत्री राजनीतिक संवाददाता हुन्।


थप समाचार
x