कोशी

२१ प्रतिशत घटेर आयो विराटनगर महानगरको बजेट

३ अर्ब २८ करोड ५० लाखको बजेट अनुमान पेस

बाबुराम भण्डारी |
असार १०, २०८० आइतबार १४:४६ बजे

विराटनगर- विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको वार्षिक बजेट पेस गरेको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा २१ दशमलव २४ प्रतिशतले कम हो । महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँको बजेट अनुमान प्रस्तुत गरेको थियो ।

आइतबार १२ औं नगर सभाको बैठकमा उपप्रमुख शिल्पा निराला कार्कीले चालु वर्षको समीक्षासहित आगामी आवको वार्षिक बजेट अनुमान पेस गरेकी छन् । महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको वार्षिक बजेटबाट चालुतर्फ १ खर्ब ५९ करोड ८३ लाख २५ हजार र पुँजीगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार रुपैयाँको अनुमानित बजेट विनियोजन भएको बताएकी हुन् ।


उमपेयर कार्कीले आगामी आर्थिक वर्षका लागि कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड २० लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको बताइन् । उनले सामाजिक विकास क्षेत्र मध्ये स्वास्थ्यतर्फ १३ करोड ६७ लाख, शिक्षातर्फ ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ३ करोड ५ लाख र वातावरण तथा विपत व्यवस्थापन क्षेत्रतर्फ २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान प्रस्तुत गरिन् ।

आगामी आर्थिक वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरू मध्ये वडास्तरीय आयोजनाका लागि ३८ करोड, नगरस्तरीय आयोजनाका लागि २० करोड, बहुवर्षीय तथा गौरवका आयोजना एवं क्रमागत योजनाको भुक्तानीका लागि ६५ करोड, आरयूडीपी परियोजनाबाट निर्माण भएका लगायतका पिच सडकहरू समेत गरी मर्मतसम्भारमा १० करोड, सडक बत्तीतर्फ १ करोड ५३ लाख ७५ हजार, अन्य पूर्वाधारतर्फ २६ करोड ३७ लाख, फोहोर पानी प्रशोधन केन्द्रलाई २ करोड ६५ लाख र समपूरक कोषका लागि २ करोड विनियोजन गरेको जनाइएको छ ।

वार्षिक बजेट अनुमानको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारमार्फत प्राप्त हुने अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फबाट १ अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार, बाँडफाँटबाट प्राप्त राजश्वतर्फ ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयतर्फ ९९ करोड ५० लाख, जनसहभागितातर्फ १० करोड, आन्तरिक ऋणतर्फ १० करोड, अन्य संघसंस्थातर्फबाट ३ करोड र नगद मौज्दात २ करोड आय हुने अनुमान पेस गरिएको छ ।

त्यसैगरी महानगरपालिकाले संघ सरकारको वित्तीय समानीकरणतर्फ ३४ करोड, प्रदेश सरकारको वित्तीय समानीकरणबाट २ करोड ४० लाख ८८ हजार, राजश्व बाँडफाँट मूल्य अभिवृद्धि कर र अन्तःशुल्कबाट २० करोड ७४ लाख, घरजग्जा रजिष्ट्रेसन दस्तुरबाट ५५ करोड, सवारी साधन करबाट ४ करोड ८ लाख ५६ हजार, मनोरञ्जन करबाट ४१ लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ ।

संघीय सरकार सशर्त अनुदानबाट ७७ लाख ७८ हजार, विशेष अनुदानबाट ६ करोड, समपूरकबाट ६० लाख तथा प्रदेश सरकारको सशर्त अनुदान चालुतर्फ १ करोड ३३ लाख र पुँजीगततर्फ ७८ लाख ७५ हजार अनुमानित आय अनुमान उपमेयर कार्कीले नगरसभामा पेस गरेकी हुन् ।

चालु वर्षमा ३१ प्रतिशतले घट्यो आय

विराटनगर महानगरपालिकाको चालु आवको ११ महिनासम्म अर्थात जेठ मसान्तसम्ममा २ अर्ब ८६ करोड ८३ लाख ८० हजार ४१ रुपैयाँ मात्रै आम्दानी गर्न सफल भएको छ । महानगरले चालु आवका लागि ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँको आय व्यवको वार्षिक अनुमान प्रस्तुत गरेको थियो । तर जेठसम्मको संशाेधित आयको अनुमान वास्तविक प्रक्षेपणभन्दा ३१ दशमलव २३ प्रतिशतले कमी आएको हो ।

जेठ मसान्तसम्मको वित्तीय प्रगति विवरण अनुसार २ अर्ब ८६ करोड ८३ लाख ८० हजार ४१ रुपैयाँमात्रै आम्दानी भएको छ । आय खुम्चिँदा २ अर्ब २४ करोड ८२ लाख २९ हजार ६७ रुपैयाँमात्रै भएको छ । अर्थात वार्षिक बजेट अनुमानको ५३ दशमलव ९० प्रतिशतमात्रै खर्च कार्यान्वयन भएको छ ।

उपमेयर कार्कीले चालु आव २०७९–०८० को कुल अनुमानित व्यय ४ अर्ब १७ करोड ९ लाख ९८ हजार अनुमान गरिएकोमा यथार्थ कुल व्यय २ अर्ब २४ करोड ८२ लाख २९ हजार ६७ रुपैयाँ मात्रै भएको नगर सभालाई जानकारी गराइन् ।

जसमध्ये पुँजीगत खर्चतर्फ २ अर्ब २७ करोड ७८ लाख २८ हजार ९ सय रुपैयाँ अनुमान गरिएकोमा वास्तविक व्यय ९० करोड १९ लाख ६ हजार ६ सय ७८ रुपैयाँ मात्रै भएको छ । त्यसैगरी प्रशासनिक एवं चालुतर्फ भने केही बढी खर्च भएको उल्लेख छ । विवरण अनुसार १ अर्ब ८४ करोड ३१ लाख ६९ हजार १ सय रुपैयाँ चालु खर्च अनुमान पेस भएकोमा १ अर्ब ८४ करोड २९ लाख ८९ लाख ४० हजार ७ सय २२ रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।

वित्तीय खर्चतर्फ ५ करोड अनुमान गरिएकोमा ४ करोड ७३ लाख ८१ हजार ६ सय ६५ रुपैयाँ खर्च भएको छ ।

आन्तरिक राजश्वतर्फ १ अर्ब ६४ लाख रुपैयाँ अनुमान गरिएकोमा चालु आवको श्रावणदेखि ज्येष्ठ मसान्तसम्म (११ महिना) मा ५१ करोड ६५ लाख ९४ हजार ९ सय १९ रुपैयाँ यथार्थ आय संकलन भएको छ । बाँडफाँटबाट प्राप्त राजस्वतर्फ ९५ करोड ५५ लाख ५७ हजार रुपैयाँ अनुमान गरिएकोमा  ३५ करोड २३ लाख ५ हजार ९ सय ७७ रुपैयाँ मात्र प्राप्त भएको छ ।

विराटनगर महानगरपालिकाले अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब ३५ करोड २९ लाख ६ हजार रुपैयाँ आम्दानी प्राप्त गर्ने अनुमान गरेकोमा १ अर्ब २९ करोड ५८ लाख ६ हजार रुपैयाँ मात्रै अनुदान प्राप्त भएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x