कोशी

कोशी नामकरणविरुद्ध विराटनगरमा प्रदर्शन

इकागज |
असोज २, २०८० मंगलबार १६:५४ बजे

विराटनगर । जातीय पहिचान पक्षधर संघसंस्था र राजनीतिक दलसम्वद्ध भातृ संगठनहरुले विराटनगरमा कोशी नामकरणविरुद्ध मंगलबार प्रदर्शन गरेका छन् । उनीहरुले सुनसरीको इटहरीदेखि विराटनगरको महेन्द्र चोकसम्म मोटरसाइकल र्‍याली आयोजना गरेका हुन् ।
 

उनीहरुले प्रदेशको नाम कोशी खारेज गर्न माग गरेका छन् । त्यसैगरी मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा समेत मागेका छन् । 


प्रदेशको नामकरणमा जातीय पहिचानका आधारमा हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका पहिचानवादी संघसंस्थाहरुमाथि एमाले विरुद्ध आन्दोलन गर्ने गरेको आरोप लाग्दै आएको छ । यसअघि कोशी प्रदेशमा नेपाली कांग्रेसका मुख्यमन्त्री उद्धव थापा रहँदासम्म चुपचाप बसेका पहिचानवादी संघसंस्थाहरुले एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार गठन भएपछि आन्दोलनका गतिविधि सुरु गरेका हुन् ।

कोशी नामाकरण खारेजीको माग गर्दै आएका पहिचान पक्षधर संघसंस्थाहरुले नामकरणको विकल्प भने दिन सकेका छैनन् । कार्की नेतृत्वको प्रदेश सरकार गठन भएपछि उनीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । 

आन्दोलनलाई केन्द्रीत जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका पाँच स्थानमा दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरिसकेको छ । तर आन्दोलनरत पहिचान पक्षधरहरुले भने एक महिना पनि आयु नभएको प्रदेश सरकारले निषेधित क्षेत्र घोषणा गरेको आरोप लगाएका छन् ।


Author

थप समाचार
x