कोशी

कोशीमा कांग्रेसको विद्रोही समूहबाट शम्शेर राई मन्त्री बन्ने, एमालेले रानासहित दुई मन्त्री पठाउन सक्ने

इकागज |
असोज २८, २०८० आइतबार १४:३६ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कांग्रेसको विद्रोही समूहका शम्शेर राईलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

आफूलाई साथ दिएका कांग्रेसका ८ जना सांसदहरू मध्येबाट मुख्यमन्त्री कार्कीले उदयपुरका रामकुमार खत्री र इलामका राई मध्येबाट मन्त्री बनाउने तयारी गरेर नेतृत्वसँग परामर्श गरेका थिए । कार्कीले नेतृत्वको सल्लाह अनुसार खत्रीको साटो राईलाई मन्त्री बनाउने तयारी गरेको जनाइएको छ ।


कार्कीलाई मुख्यमन्त्री बनाउन ३९ सांसदसहित साथ दिएको एमालेबाट पनि इलामकै राम राना मन्त्री बन्ने निश्चित भएको हो । एमाले स्रोतले रानासहित थप एक मन्त्री पनि पठाउन सक्ने गरी छलफल भइरहेको जनाइएको छ ।

काठमाडौँबाट आइतबार दिउँसो फर्किएलगत्तै मुख्यमन्त्री कार्कीले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसँग छलफल गरेका थिए । एमालेबाट रानाको नाम टुंगो लागेको छ भने अर्को व्यक्तिबारे छलफल चलिरहेको स्रोतको भनाइ छ ।

मुख्यमन्त्री कार्कीलाई अहिले प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदैछन् । उनको शपथ सकिएपछि प्रदेश प्रमुख खापुङ्गले मन्त्रीहरूलाई शपथ गराउने तयारी छ ।


Author

थप समाचार
x