कोशी

प्रहरी समायोजन छिट्टै गरिने : मुख्यमन्त्री जम्कट्टेल

इकागज |
असोज ३०, २०८० मंगलबार २१:३८ बजे

मकवानपुर - बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी समायोजन छिट्टै गरिने भएकोले समस्या समाधान हुने बताएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६८ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताएका हुन् ।

प्रहरी समायोजन ऐन मार्फत प्रदेश सरकारको मातहतमा प्रहरी संगठन आएपछि मातहतका निकायलाई रुपान्तरण गर्दै लैजान सजिलो हुने मन्त्री जम्कट्टेलले बताए ।  आफूहरूले संविधानमा रहेको अधिकार अनुसार  काम गर्दा संघीय कानुनले व्यवधान देखाएकाले प्रहरी समायोजन समेत हुन नसकेको उनको भनाइ थियो ।


‘शान्ति सुरक्षा  र अमनचयनमा नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च सम्मान रहेको छ’ मन्त्री जम्कट्टेलले भने ‘प्रहरी संगठनलाई रुपान्तरण गर्दै अझ सुदृढ बनाउनु पर्छ ।’ नागरिकले सबैभन्दा पहिला प्रहरीलाई खोज्ने हुदाँ प्रहरीप्रतिको विश्वास जन मानसमा रहनु पर्ने उनले बताए । उनले विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरूलाई सम्मान व्यक्त गर्दै देशको विभिन्न आन्दोलनहरूमा अग्रभागमा शान्ति सुरक्षाको लागि भूमिका निर्वाह गर्ने प्रहरी संगठनप्रति आभार व्यक्त गरे ।

पछिल्लो समय सामाजिक सञ्जालहरुले सकारात्मक भन्दा पनि नकरात्मक प्रचारलाई  बढी प्राथमिकता दिएको भन्दै यसले सुरक्षा निकायमा चुनौती थपिएको उनले बताए । ‘प्रहरी सेवालाई संख्यात्मक मात्र होइन प्रविधिको प्रयोग गरेर अपराध नियन्त्रण गर्न लाग्नुपर्छ’ मन्त्री जम्कट्टेलले भने ।

सोही अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेशको शान्ति सुरक्षामा प्रहरी संगठनले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गरे ।  सबैको त्याग तपस्या र संघर्षबाट ल्याइएको व्यवस्थालाई अपनत्व लिनु पर्ने उनको भनाइ थियो । कार्यक्रममा पूर्व प्रहरी हवल्दार डम्बर बहादुर सापकोटा(खत्री)लाई सम्मान गरिएको थियो । यसैगरी प्रदेश प्रहरीका उत्कृष्ट कर्मचारीहरूलाई नगदसहित सम्मान गरिएको थियो । साथै  विभिन्न स्थानीय तह, समाजसेवी, सञ्चारक्षेत्र र संघसंस्थालाई सम्मान गरिएको थियो ।

कार्यक्रम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको अध्यक्षतामा भएको थियो ।


Author

थप समाचार
x