कोशी

कोशी प्रदेश

एमाले सांसदको प्रश्न : एमालेले साथ दिएको किन बिर्सिनुभयो ?

मुख्यमन्त्री कार्कीको जवाफ : सहकार्य छाडेको छैन, दौरा सुरुवाल सिलाएर आउनुस्

बाबुराम भण्डारी |
कात्तिक २३, २०८० बिहीबार २१:५० बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बिहीबार प्रदेश सभामा आठ जना सभा सदस्यहरूको प्रश्नहरूको सामना गरे । प्रश्नकर्ताहरू मध्ये एक थिए एमालेका प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी । उनले भर्खरै सत्ता सहकार्य टुटेका मुख्यमन्त्री कार्कीलाई सरकार गठन हुँदाको प्रसङ्ग कोट्याउँदै एमालेसँगको सहकार्य के हुन्छ भनेर प्रश्न गरे ।

प्रदेश सभामा बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तरमा पूर्वमन्त्री समेत रहेका राजभण्डारीले एमालेसँगको सत्ता सहकार्यबारे जिज्ञासा राखेपछि मुख्यमन्त्री कार्कीले पनि आफूले एमालेलाई नछाडेको दाबी गर्दै मन्त्री बन्नका लागि दौरासुरुवाल सिलाएर आउन भने ।


राजभण्डारी र कार्की प्रदेश सभाको पहिलो कार्यकालमा समेत प्रदेश सभा सदस्यमात्रै थिएनन्, उनीहरू दुवै एमाले र कांग्रेसको प्रमुख सचेतक समेत थिए । कार्कीले तत्कालीन नेकपा सरकारले केही गर्न नसकेको भन्दै एमालेविरुद्ध संसद्‌मा उछितो काड्ने गरेको भन्दै राजभण्डारी पनि त्यसको हिसाब अहिले खोज्ने दाउमा देखिए ।

‘एमालेलाई गाली गर्दागर्दा आज मुख्यमन्त्री हुनुभयो, आज फेरि एमालेलाई एक लात हानिहाल्नुभयो,’ राजभण्डारीले सोधे, ‘हिजो उफ्रिएर मुख्यमन्त्री बन्नुभयो, एमालेले पनि साथ दियो, खोलो दर्ता लौरो बिर्से जस्तो भयो, आज त्यो किन बिर्सिनु भयो ? अब एमालेलाई के गर्नुहुन्छ ?’

जवाफ दिन रोष्टममा उभिएका मुख्यमन्त्री कार्कीले पनि एमाले आफैँ आवेगमा आएर सत्ताबाट बाहिर गएको बताए । उनले एमालेले अहिले पनि सरकारलाई समर्थन गरिरहेकोले सरकार छोडेको भनेर आफूले नबुझेको बताए । मुख्यमन्त्री कार्कीले सरकारमा एमालेलाई स्वागत गर्न आफू तयार रहेकोले दौरा सुरुवाल सिलाएर आउन आग्रह गरे ।

‘एमाले आफैं सत्ता पक्षबाट प्रतिपक्षमा गएर बसेको जगजाहेर छ, खोलो तर्दा लौरो बिर्सेको छैन, लौरो सुरक्षित राखेको छ तर लौरो भाँचिनु भएन,’ मुख्यमन्त्री कार्कीको जवाफ थियो, ‘म एमालेकै हस्ताक्षरले मुख्यमन्त्री बनेको हो, मैले एमालेलाई छाडेको भन्न भएन, म सम्मान गर्न म जहिले पनि तयार छु, माननीयज्यूहरू कतिको तयार हुनुहुन्छ ? दौरा सुरुवाल कत्तिको लगाउनु भएको छ ? दौरासुरुवाल सिलाएर आउन म आग्रह गर्दछु ।’

उनले एमालेले भनेजस्तो केन्द्रको मुख ताक्ने अवस्था पनि नरहेको जिकिर गरे । केन्द्रमै मुख ताकेर अघि बढेको भए कोशीमा एमालेसँगको सम्बन्ध छाडेर गठबन्धनको मात्रै मन्त्री बनाउने अवस्था आफैले रोकेको स्पष्ट पारे । 

आफूले अघिल्लो पटक एमालेकै मुख्यमन्त्रीले अघि सारेको एजेण्डालाई निरन्तरता दिनका लागि सहमति र सहकार्यको सर्वदलीय सरकार बनाउन गठबन्धनमा रहेका दलहरूलाई पनि सरकारमा सहभागी गराएको बताए ।

‘गठबन्धन दललाई पनि लिएर आउँदा एमालेलाई त्यसमा छुवाछुत हुन्छ जस्तो मलाई लागेको थिएन, अहिले पनि छुवाछुतको भावना नराखीकन उतापट्टि (विपक्षी) को कुर्सीबाट यतापट्टि (सत्ता पक्ष) आउन जहिले पनि खुला छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘एमालेले नै हस्ताक्षर गरेर म मुख्यमन्त्री बनेको हो, त्यसकारण वहाँले मागेको मतमा जम्मै मत परेपछि मैले एमालेलाई छाडेको भन्न मिल्दैन ।’

संविधानको धारा १६८ को उपधारा (५) अनुसार असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले एमालेको आग्रहविपरीत कोशी प्रदेश सरकारमा सत्ता गठबन्धन दलसम्बद्ध नेकपा माओवादी केन्द्रका गणेशप्रसाद उप्रेती र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरिसकेका छन् । मुख्यमन्त्री कार्कीले सरकारमा माओवादी र नेकपा एसलाई सहभागी गराएपछि एमालेबाट सरकारमा रहेका बिनाविभागीय मन्त्री राम रानाले राजीनामा दिइसकेका छन् ।

तर, मुख्यमन्त्री कार्कीले भने दलहरूको एकताले नै कोशी प्रदेशको समृद्धिको बाटो पहिल्याउने भन्दै आफू एमालेको एजेण्डामा हिँड्न पनि तयार रहेको बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x