कोशी

तमोरको पानी : १६ करोड २३ लाख लागतमा पुग्‍दैछ ताँखुवा, तेलिया र पेरेवादिनमा

इकागज |
माघ १६, २०८० मंगलबार ८:२ बजे

धनकुटा- छथर जोरपाटी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा तमोर नदीबाट खानेपानी लिफ्टिङ गरेर पुर्‍याइने भएको छ । जोरपाटी बृहत् खानेपानी आयोजनाअन्तर्गत ताँखुवा, तेलिया र पेरेवादिनमा खानेपानी पुर्‍याउन लागिएको हो ।

संघीय सरकारको रु १६ करोड २३ लाखको लागतमा तमोर नदीबाट उत्तर–पश्चिम १४ किमी खानेपानी लिफ्टिङ पूर्वाधारको काम जारी छ । उक्त खानेपानी आयोजनाबाट एक हजार दुई सय ९५ घरधुरी लाभान्वित हुने आयोजनाका अध्यक्ष विष्णु भुजेलले जानकारी दिए ।


सातवटा ‘लिफ्टिङ स्टेशन’ र चार वितरण केन्द्र रहेको यस आयोजनाले सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्र, ताँखुवा र तेलिया गाउँवासीलाई फाइदा पुग्ने जनाइएको छ । गाउँमा भर्खरै कालोपत्र सडक आइपुगेको र खानेपानीसमेत उपलव्ध हुँदा अब गाउँबाट बसाइँसराइ रोकिने उनको भनाइ छ ।

खानेपानी समस्याका कारण बसाइँसराइले रित्तिन लागेको गाउँमा यस आयोजनाले पुनः मानिस फर्केर आउने आशा पलाएको वडा नं ४ का सचिव शंकर ओझाले जानकारी दिए। विसं २०७९ माघबाट दुई वर्षमा आयोजना पूरा हुनेगरी भद्रपुर झापाको एसएल सिद्धकाली जेभीले ठेक्का पाएको छ । हालसम्म ४० प्रतिशत आयोजनाको काम पूरा भएको कम्पनीका सञ्चालक गुणराज अधिकारीले जानकारी दिए ।

योजना अन्तर्गतस ७० किमी पाइप लाइन विस्तार, खानेपानी कार्यालय, नौवटा खानेपानी ट्याङ्की र चारवटा सुरक्षा भवनको काम सकिएको उहाँले जानकारी दिनुभयो ।  काम गरेको रु दुई करोड ५० लाख रकम निकासा नपाउँदा आफूलाई काम गर्न कठिन भएको उनले गुनासो गरे । 

बजेट अभावका कारण ठेक्काको बाँकी रकम आउनेसमेत टुङ्गो नभएकाले काम रोकिन लागेको उनले जानकारी दिए । 'खानेपानी विभागले बजेटको टुङ्गो छैन, पैसा नआएसम्म काम नगर्नु भन्ने मौखिक जानकारी गराएको छ', उनले भने । समयमा बजेट उपलब्ध भए अगामी असार मसान्तसम्म काम सकेर साउन–भदौबाट खानेपानी परीक्षण सुरु गर्ने उनले जानकारी दिए । रासस


Author

थप समाचार
x