कोशी

एक महिना सत्ता लम्ब्याएपछि प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

बाबुराम भण्डारी |
कात्तिक ५, २०७८ शुक्रबार ११:२३ बजे

विराटनगरः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभामा विश्वासको मत लिदैँछन् । मुख्यमन्त्री आचार्यले प्रदेशसभामा प्रतिनिधित्व गर्ने आफ्नो दल नेकपा एमाले फुटेका कारण ३० दिनभित्र विश्वासको मत लिन लागेका हुन् ।

शुक्रबार अपरान्ह १ बजे बोलाइएको प्रदेशसभा बैठकमा विश्वासको मत लिन उनले प्रस्ताव टेबुल गर्ने तयारी गरेका छन् । आचार्यले विश्वासको मत लिनका लागि असोज २५ गते प्रदेशसभाका सचिव समक्ष सूचना दिएका थिए ।


मुख्यमन्त्री आचार्यलाई प्रदेशसभाबाट विश्वासको मत लिनैपर्ने संवैधानिक वाध्यता छ । संविधानको धारा १८८ को उपधारा (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।

मुख्यमन्त्री आचार्यले प्रतिनिधित्व गर्ने दल विभाजन भएको मितिबारे सत्ता पक्ष र प्रतिपक्षबीच आ–आफ्नै दाबी रहँदै आएको थियो । विपक्षी गठबन्धनले केन्द्रीय दलका रुपमा रहेको नेकपा एमाले केन्द्रमा फुटेपछि तलसम्म फुटेको मान्नुपर्ने जिकिर गरेका थिए । केन्द्रमा एमाले पार्टीबाट माधवकुमार नेपालको नेतृत्वमा फुटेर गत भदौ ९ नेकपा (एकीकृत समाजवादी) दल निर्वाचन आयोगमा दर्ता भएको थियो । प्रदेश १ मा भने एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) दल रोजेका १० जना प्रदेश सांसदको सनाखत निर्वाचन आयोगले भदौ २५ गते प्रमाणित गरी प्रदेशसभामा जानकारीका लागि पठाएको थियो । उक्त पत्र प्रदेशसभामा भदौ २७ गते दर्ता भएको थियो ।

भदौ २७ गतेदेखि ३० दिनभित्र विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेश गर्ने सत्ता पक्षको योजना अनुसार मुख्यमन्त्री आचार्यले असोज २५ गते प्रदेशसभाका सचिवसमक्ष विश्वासको मत लिने सूचना दिएका थिए । 

दल विभाजन भएपछिको ३० दिन कहिलेदेखि गणना हुने भन्ने विषयमै विवाद हुँदा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले चित्त नबुझे अदालत जान विपक्षीलाई सुझाव दिएका थिए । तर सत्ता पक्षले विश्वासको मत लिने समय जतिसुकै पछि धकेले पनि विपक्षी गठबन्धनले आफुहरुसँग स्पष्ट बहुमत भएको भन्दै दुई चारदिन पर्खिने रणनीति अनुसार नै अघि बढेका थिए ।

आज शुक्रबार मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव गरेपछि त्यसमाथि छलफल हुने र छलफलपछि पुनः मुख्यमन्त्री आचार्यले जवाफ दिने गरी कार्यसूची बनाउने पक्षमा सत्तापक्ष केन्द्रीत रहेको छ । विश्वासको मतका लागि मत विभाजनको प्रक्रिया आइतबारका लागि तोक्ने सरकार पक्षको तयारी छ । तर विपक्षी दलहरु भने शुक्रबार नै छलफल सकेर मत विभाजनको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् । 

प्रदेश १ सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्षुमन तिवारीले मुख्यमन्त्री भीम आचार्यले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रक्रिया अघि बढाउने बताए । उनले सकेसम्म शुक्रबार नै छलफल भएर मुख्यमन्त्रीले जवाफ दिने र विश्वासको मतका लागि आवश्यक मत विभाजनको प्रक्रियामा प्रवेश गर्ने जानकारी दिए । तर आजको प्रक्रिया लम्बिएको खण्डमा भोलि शनिबार भएकोले आइतबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने उनले बताए ।
गत असोज २५ गते तोकिएको प्रदेशसभाको बैठक कात्तिक ५ गते अपरान्ह १ बजे बस्ने गरी अघिल्लै दिन असोज २४ गते सूचना टाँसेर स्थगित भएको थियो । तोकिसकेको बैठक स्थगित गरेको भन्दै विपक्षी दलहरुले भने सभामुख प्रदीपकुमार भण्डारीप्रति बिज्ञप्ति नै जारी गरेर असन्तुष्टि जनाएका थिए ।

प्रदेश १ मा नेकपा एमालेबाट १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोज्नु अगावै मुख्यमन्त्री शेरधन राईकै प्रस्तावमा एमालेको एकल बहुमत भएको दाबीसहित भीम आचार्य असोज १० गते मुख्यमन्त्री बनेका थिए । आचार्य मुख्यमन्त्री बनेपछि त्यतिबेला नेकपा एमालेका ५१ सांसद मध्ये १० जनाले नेकपा (एस) रोजेका कारण मुख्यमन्त्री आचार्यको सरकार अल्पमत परेको थियो ।

एमालेसँग सभामुखसहित ४१ सांसद छन् । सरकार टिकाई राख्न मुख्यमन्त्री आचार्यलाई ९२ सदस्यीय प्रदेशसभाबाट ४७ सांसदको समर्थन आवश्यक पर्नेछ । प्रदेश १ को प्रदेशसभाको सवैभन्दा ठूलो संसदीय दल भएपनि एमालेलाई सरकार टिकाइराख्न भने कठिन भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले आफूसँग ५० सांसद रहेको दाबी गरेको छ । बहुमतकै आडमा उनीहरुले गत असोज २५ मा विज्ञप्ति जारी गरी आचार्य नेतृत्वको सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्नेसम्मको चेतावनी दिएका थिए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x