मधेश

त्रेता युग कालिन कपिलेश्वरनाथ मन्दिरको इतिहास ओझेलमा

सुभाष कर्ण |
कात्तिक २५, २०७७ मंगलबार १५:४९ बजे

जनकपुरधाम : राज्यले वास्ता नगर्दा त्रेता युगिन जनकपुरधाम उपमहानगरपालिकाको ऐतिहासिक कपिलेश्वरनाथ महादेव मन्दिरको इतिहास ओझेलमा परेको छ । १७औं शताब्दीतिर सेन वंशीयकालमा निर्मित मन्दिरमा रहेको शिवलिंको ऐतिहासिकता ओझेलमा पर्दै गएको हो । 

त्रेता यूगमा मिथिलाका राजा शिरध्वज (जनक) ले राजधानी जनकपुरधामको चारै कूनामा महादेव मन्दिरको स्थापना गरेका थिए । सो मध्येकै कपिलेश्वरनाथ महादेव मन्दिरमा रहेको शिवलिङ्ग एक हो ।


तुलसीकृत रामायणमा वर्णित अनुसार मिथिलाको राजधानी जनकपुरधामको पुर्वमा कपिलेश्वरनाथ महादेव, पश्चिममा जलेश्वरनाथ महादेव मन्दिर, उत्तरमा क्षिरेश्वरनाथ महादेव र दक्षिण कुपेश्वरनाथ महादेव मन्दिर स्थापना भएको थियो ।

इतिहासकार शिवेन्द्र लाभद्वारा लिखित मिथिलाको इतिहास भन्ने पुस्तक अनुसार सेनवंशी राजाहरुद्वारा १७औं शताब्दीमा यो मन्दिर निर्माण गरिएको उल्लेख छ ।
पाँच कट्ठा क्षेत्रफलमा फैलिएको मन्दिरमाभित्र त्रेताकालिन शिवलिङ्गसहित बसाहा, गणेश, पार्वती, शालिग्रामको मूर्ति छन् भने मन्दिर परिसरमा चारैतिर बगैंचासहित शिव, पार्वती, गणेश, जोगीन्दर, महारानी आदिका मन्दिरसहित ८ वटा देवी देवताको मन्दिर स्थापित छन् । मन्दिरभित्रका मूर्तिहरू काला पत्थरका छन् भने मन्दिरबाहिरका अधिकांश मूर्ति सङ्गमरमरका ।

मन्दिरको चारै कुनामा उत्तर पूर्वमा संतोषी माँ, पूर्व दक्षिणमा गणेश भगवान, दक्षिण पश्चिममा राम जानकी, पश्चिममा हर्दिनाथ शिव पार्वती र पश्चिम उत्तरमा हनुमानजी लगायत १६ वटा देवी देवताको मन्दिर स्थापना गरिएको छ ।

धार्मिक मान्यता अनुसार कपिलमुनिको आश्रम पनि यहीँ थियो । कालान्तरमा मुनिको आश्रमसहित यस मन्दिरको प्राचीन रूप ध्वस्त तथा लोप हुँदै गएको हो ।
सो मन्दिरमा महाशिवरात्री र श्रावण महिनामा भगवान महादेवलाई हुने जलाभिषेकमा वर्षमा दुई पटक ठूलो मेला लाग्ने गरेको छ । नेपाल भारतका हजारौं श्रद्धालु सो मेलामा सहभागी हुने गरेका छन् । तर राज्यको वास्ता नगर्दा मन्दिरको ऐतिहासिकता ओझेलमा पर्दै गएको स्थानीय नागरिक समाजका अगुवाहरुको गुनासो छ । 
मन्दिरको जिर्णोद्धार र विभिन्न खर्च स्थानीय तथा दाताहरुको सहयोगमै हुँदै आएको जनकपुरधाम उपमहानगरपालिका १६ का वडाध्यक्ष रामआशिष पजियारले बताए ।
‘मन्दिरको सम्वद्र्धन र संरक्षणका लागि वर्षौदेखि नेपाल सरकार र हालमा स्थानीय तह, प्रदेश सरकारलाई गुहारिसकेका छौं ।’ उनले भने , ‘तर कुनै चासो देखाएको छैन । हाल मन्दिरको संरक्षण विकासको काम  स्थानीयवासीको अग्रसरता तथा चन्दा संकलनबाट हुँदै आएको छ ।’

उनले हालसम्म एक पटक मात्रै राज्यको पुरातत्व विभागबाट डेढ लाख रुपैयाँ सहयोगमा मन्दिरको जिर्णोद्धार गरिएको भए पनि त्यसपछि दाता र स्थानीय सहयोगमा मन्दिर संचालन हुँदै आएको छ । मन्दिरको संरक्षण र विकासमा लागि प्रदेश सरकार वा महानगरपालिका कसैले पनि चासो नदिएको स्थानीयको गुनासो छ । 

मन्दिरको ऐतिहासिकता
इतिहासकार शिवेन्द्र लाभद्वारा प्रकाशित मिथिलाको इतिहास पुस्तकमा उल्लेख भएअनुसार जानकी मन्दिरलाई गुठी थमौती, मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरलाई र गोसाईलाई भोग लगाउन विभिन्न मठ मन्दिरको नाममा जग्गा अर्पण गरेको अवधिमै कपिलेश्वरनाथ महादेव मन्दिरको निर्माण गरिएको हुन सक्ने अनुमान गरिन्छ ।

डा. राजाराम सुवेदीले मकवानपरको राज्य भन्ने गरेको  अनुसन्धान रिपोर्ट अनुसार राजा मानिक सेनले वि.सं. १७८४/८५ मा जनकपुरधामको धार्मिक सम्पदामा उल्लेखनीय योग्दान पुरयाएको देखिन्छ । सो रिपोर्टकै आधारमा स्थानीयले सोही समयावधिमा यस मन्दिरको निर्माण हुन सक्ने दाबी गर्छन् ।

अन्वेशकहरुको रिपोर्टको आधारमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदद्वारा प्रकाशित जनकपुरका मठ मन्दिरहरु भन्ने पुस्तकमा समेत कपिलेश्वनाथ महादेव मन्दिर सिम्रौनगढ शैलीमा शैलीमा रहेको कारण सेन वंशीय राजाहरुको पालामा निर्माण गरिएको दाबी गरिएको छ ।

१७ औं शताब्दीमै सो मन्दिरको निर्माण भएको विभिन्न प्रमाण भए पनि वास्तविक प्रमाण वि.सं. १९९० मा आएको भूकम्पमा मन्दिर भत्किएपछिको मात्रै देखिन आउँछ । भूकम्प पश्चात वर्षौ दिनसम्म मन्दिर भत्किएको अवस्थामा वि.सं. २०३९ सालमा पुरातत्व विभागद्वारा केही नयाँ संरचना निर्माणसहित जिर्णोद्धार गरिएको थियो ।
मन्दिरका पुजारी लालबाबु साहकाअनुसार मन्दिरमा हालसम्म १८ वटा महन्थ भइसकेका छन् ।

तर महाभूकम्प पश्चात वि.सं. २०३९ सालमा पुनः निर्माण गर्ने क्रममा पुरातत्व विभागले अभिलेख तथा बहुमूल्य मूर्तिहरु लगायतका महत्वपूर्ण सामाग्री लगिसकेको कारण मन्दिरको वास्तविक प्रमाण मेटिन लागेको हो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x