मधेश

मधेश प्रदेशमा लागूऔषधका प्रयोगकर्ता र अपराधिक क्रियाकलाप बढ्दै

इकागज |
माघ २१, २०७९ शनिबार १५:४४ बजे

फाइल तस्बिर

काठमाडौँ- लागूऔषधको प्रयोगका कारण मधेश प्रदेशमा अपराधिक घटनाहरू बढेकाले थप सतर्कता अपनाउन नेपाल प्रहरीले आग्रह गरेको छ ।

मधेश प्रदेशका ८ वटै जिल्ला भारतसँगकाे खुला सिमानाका कारण पनि विभिन्न अपराधिक घनाहरू बढ्दै गएकाे देखिन्छ । खुला सीमाका कारण भारतबाट लागूऔषध ओसारपसार गर्न सजिले हुने र त्यसले झनै विकृति र अपराधिक क्रियाकलापहरू बढ्नलाई मद्दत गरिरहेको छ ।


खुला सीमानाका कारण सुगम बनाउनेभन्दा जटिलता झनै बढी देखिएको जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । उनले खुला सीमाका कारण मधेशका जिल्लाहरूमा अपराध थपिँदै गएको र युवाहरू लागूऔषध लगायतको कुलतमा समेत फस्ने क्रम बढिरहेको उल्लेख गरे ।

मधेश प्रदेश लागूऔषध दुर्व्यसनी र लागूऔषध कारोबारीहरूका लागि हबका रूपमा परिणत भइरहेको प्रहरीको तथ्यांकले नै देखाउने गरेको छ ।

गत माघ १२ गते जनकपुरधामबाट प्रहरीले ठूलो परिणामसहित लागूऔषध नियन्त्रणमा लिएको थियो । जनकपुरधामबाट लागूऔषधसहित ४ जना युवालाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि पुस २१ गते धनुषामा नगरपालिका वडा नम्बर ६ मा २ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको थियो । प्रहरी नायव उपरीक्षक क्षेत्रीले समाजमा लागूऔषधमा फसेको छ भन्नलाई परिवारले नै हिच्किचाउने र समयमा नै आवश्यक उपचार नगर्दा किशोरकिशोरीहरू कुलतमा झनै फस्न थालेको बताए ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकका अनुसार चालु आर्थिक वर्षमा लागूऔषधका ७५ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै लागूऔषध दुर्व्यसनमा संलग्न र लागूऔषध कारोबामा संलग्न १ सय ५ जनालाई नियन्त्रणमा समेत लिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा लागूऔषध अन्तर्गत ७ सय १४ मुद्दा दर्ता भएका थिए भने ९ सय ९९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ९ सय २२ वटा मुद्दा दर्ता भएका थिए भने १ हजार २ सय ८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मधेश प्रदेशमा लागूऔषधको उपलब्धता सहज रहेकाले नै लागूऔषध दुर्व्यसनीहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको लागूऔषध दुर्व्यसनीविरुद्धको अभियानमा सहभागी हुँदै आएका स्पर्श नेपालका नविन मल्लिक बताउँछन् । उनले लागूऔषधमा फसिसकेकालाई समयमै उपचार गर्ने हो भने ठीक हुने भएपनि लागूऔषधको सेवा गर्ने बित्तिकै समाजमा बिग्रियो भन्ने मानसिकता रहेको उल्लेख गरे ।

मधेश प्रदेशमा सीमापारिबाट मधेशका शहरसम्म लागूऔषध ल्याउने र अर्को समूह त्यहाँबाट पहाडी जिल्लाका शहरसम्म पुर्‍याउने र तेस्रो समूहले काठमाडौं लगायत ठूला शहरसम्म लागूऔषध पुर्‍याइ बिक्री वितरण गर्ने गरेको पाएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण अभियन्ता मनोजकुमार कर्णका अनुसार लागूऔषध सेवनकर्ताहरू प्रायः एकान्त खोज्ने, लागूऔषध किन्नका लागि घरबाट पैसा चोर्ने लगायका गतिविधिहरू देखाउने गर्दछन् ।

उनले लागूऔषधको सेवन गर्नेहरूलाई समयमै उपचार गर्नसके समस्याबाट मुक्त हुने बताए ।


Author

थप समाचार
x