मधेश

नक्कली र प्रतिबन्धित रकमसहित दुई पक्राउ

इकागज |
चैत ३, २०७९ शुक्रबार २१:५० बजे

फाइल फोटो

जनकपुरधाम - महोत्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट नक्कली र प्रतिबन्धित रकमसहित दुई जनालाई पक्राउ गरिएको जनाएको छ । नक्कली रकमसहित जिल्ला महोत्तरी मनरासिस्वा न.पा. वडा ५ बथनाहा बस्ने वर्ष ३७ को ओमि हुसेन र जलेश्वर न.पा. वडा ३ बस्ने वर्ष ३४ को विमलेश पाण्डेलाई प्रतिबन्धित रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले जनाएको छ । 

उनका अनुसार जिल्लाको मनरासिस्वा न.पा. ६ सरपल्लो चोकमा चेकजाँच गरिरहेको प्रहरीहरुले शंकाको आधारमा पैदल गइरहेका ओमि हुसेनलाई चेकजाँच गर्दा उनले हातमा लुकाइराखेको एक हजारको एक थान नक्कली नोट बरामद गरेको थियो । हुसेनले लुकाइराखेको नोट नक्कली रहेको पुष्ट्याइँ भएपछि उनलाई नियन्त्रणमा लिइएको छ ।


त्यसैगरी प्रहरीले विशेष सूचनाको आधारमा प्रतिबन्धित १० लाख भारुसहित पाण्डेलाई पक्राउ गरेको जनाएको छ । भारतीय रुपैयाँ बोकी भारतबाट नेपाल आउँदै गरेको सूचना पाएका प्रहरीले चेकजाँचको क्रममा कालो कपडामा बाँधिएको अवस्थामा प्रतिबन्धित भारु पाँच सयको १९९६ थान पाण्डेको साथबाट बरामद गरेका थिए ।

प्रहरी निरीक्षक राईले पाण्डेको साथबाट नौ लाख ९८ हजार भारतीय रूपियाँ बरामद गरिएको र उनलाई विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ अन्तर्गत आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको बताएका छन् । 

केही दिनअघि मात्रै प्रहरीले सीमा क्षेत्रमा विना इजाजत विदेशी मुद्रा सटही गर्ने एक भारतीय नागरिकसहित नौ जनालाई नियन्त्रणमा लिएको थियो ।
 


Author

थप समाचार
x