मधेश

जनकपुरका अस्पतालहरूमा अक्सिजन अभाव: गम्‍भीर संक्रमितको उपचारमा समस्‍या

सुभाष कर्ण |
जेठ ३, २०७८ सोमबार १७:४ बजे

जनकपुरधाम : जनकपुरधामस्थित प्रादेशिक अस्पताल र विभिन्न निजी अस्पतालहरूमा अक्‍सिजन अभाव हुन थालेको छ । अक्सिजन ग्यास अभावका कारण सरकारी तथा निजी अस्‍पतालहरूले कोभिड संक्रमितको उपचार गर्न नसक्ने बताउन थालेका छन् । प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. प्रमोद यादवले अक्‍सिजन ग्यास अभावका कारण संक्रमितको उपचार गर्न समस्‍या भएको बताए । 

'कोभिड अस्पतालमा ६५ वटा बिरामी छन्,' उनले भने, 'सबैको अक्‍सिजनमै राखेर उपचार भइरहेको छ, उपलब्‍ध सबै अक्‍सिजन बिरामीलाई दिइएको छ । अक्‍सिजन सहियो भयो भने ठूलो समस्या हुनेवाला छ । अब थप संक्रमितको उपचार नै गर्न नसक्‍ने अवस्‍था आइसकेको छ ।' प्रदेश सरकार र स्थानीय प्रशासनलाई पटक-पटक आग्रह गर्दा पनि कुनै चासो नलिएको उनले गुनासो गरे । अक्‍सिजन अभावमा एउटा सिलिण्डर पालोपालो गरी ३/४ वटासम्म बिरामीको उपचार गर्ने अवस्था आइसकेको उनले बताए । 


प्रादेशिक अस्पतालले आपूर्तिकर्ता भाजुरत्न ईन्जिनियरिङ्ग र उत्पादक ढल्केवर ग्यास उद्योगसँग कारोबार गर्दै आएको थियो । तर भाजुरत्नले करिब दुई सातादेखि आपूर्ति नै बन्द गरेको छ भने ढल्केवरले मात्रै दिँदै आएको छ । त्यसले पनि अल्टरनेटिभ रूपमा ४०/५० वटा मात्र उपलब्ध गराउँदै आएको छ ।

यहाँका अस्पतालहरूलाई दैनिक बढीमा ४ सय सिलिन्‍डर उत्पादन गर्ने ढल्केवर ग्यास उद्योगले धनुषासहित महोत्तरी, सर्लाही, सिरहा, सप्तरी र सिन्धुली आपूर्ति गर्दै आएको संक्रमित बढदै गएपछि प्रादेशिक अस्पतालमा चरम अभावको श्रृजना भएको बताइएको छ । प्रादेशिक अस्पतालका साथै निजी अस्पताल संचालकहरूले अक्‍सिजन अभावमा अब कोभिड बिरामीको उपचार गर्न नसक्ने बताएका छन ।

निजी अस्पताल संघ धनुषाका अध्यक्ष तथा काव्या हस्पिटलका संचालक डा. सुधाँसु सिंहले जनकपुरधाममा मात्रै करिब १५ वटा अस्पतालले कोभिड बिरामीको उपचार गर्दै आएको बताए । तर अक्‍सिजन अभावमा अब उपचार गर्न नसक्‍ने अवस्‍थामा पुगेको बताए । 'नयाँ बिरामीलाई भर्ना लिन छाडेका छौं,' उनले भने,  भएका बिरामीहरूलाई पनि बाहिर रेफर गर्नु परिरहेको छ ।'

यता अक्‍सिजन ग्यास सप्लायर्स भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्स जनकपुरधाम शाखाका मनोज ठाकुरले पनि अस्‍पतालहरूमा अक्‍सिजन पुर्‍याउन नसकेको स्‍वीकार गरे । आफूहरूसँग पनि नभएकोले दिन नसकिएको उनले बताए । 

'विरगंजको हिमाल अक्‍सिजन उद्योगबाट हामीले अक्‍सिजन लिने गरेको थियौं,' उनले भने, 'तर त्यहाँका स्थानीय प्रशासनले पहिलो प्राथमिकता स्थानीय सप्लायर्सहरूलाई दिने निर्देशन दिएपछि त्यहाँबाट आपूर्ति नै बन्द भएको छ । हामी कहाँ अक्‍सिजनको अभाव हुन गएको हो ।'

धनुषामा भाजुरत्न इन्जिनीयरिङ्ग र न्यू मानिया ट्रेडर्ससहित दुई वटा अक्‍सिजन रिफिलिङ्ग आपूर्तिकर्ता र ढल्केवर ग्यास उद्योग एकमात्र ग्यास उत्पादनकर्ता हुन । ढल्केवर ग्यास उद्योगले दैनिक ४ सयको हाराहारीमा र भाजुरत्न र न्यू मानिया ट्रेडर्सले एक/दुई दिनको अन्तराई करीब डेढ/डेढ सयको संख्यामा निर्यात गर्दै आएका छन् ।

प्रादेशिक अस्पताल र निजी अस्पतालहरूले जनकपुरधाम क्षेत्रमा ग्यास उत्पादन र निर्यात भइरहेको छ । ती ग्यासहरू मात्र जनकपुरधाम क्षेत्रमा आपूर्ति गरियो भने कमी नहुने स्‍थानीयले बताउँदै आएका छन् । तर, महँगो दरमा बाहिर सप्लाई गर्दै आएको कारण यहाँ कृतिम आभाव श्रृजना गरिएको उनीहरूको आरोप छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले अक्‍सिजनको आभाव प्रदेश २ मात्रै नभई देशैभरी भएको दाबी गरे । सबै सप्लायर्स र उत्पादक कम्पनीलाई वितरण गर्न निर्देशन दिएको उनले बताए । एक/दुई साताभित्रै सबै सरकारी अस्पतालमा ग्यास रिफिलिङ्ग प्लान्ट जडान र निजी स्तरमासमेत केही उद्योग निर्माणको क्रममा रहेको कारण समस्या समाधान हुने उनले दाबी गरे । 

त्यस्तै प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलले विराटनगरस्थित उद्योगलाई पनि गाडी पठाएर पटक-पटक अनुरोध गरिरहेको बताए । तर देशैभरी अभाव भएको कारण उनीहरूले पनि स्थानीय क्षेत्रलाई बढी प्राथमिकता दिने गरेका कारण आपूर्तिमा समस्या भएको बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x