मधेश

प्रदेश २ को स्वास्थ्य (अ)व्‍यवस्‍था:

साढे ७ हजारलाई एक आइसोलेसन र ४६ संक्रमितलाई एक चिकित्सक

सुभाष कर्ण |
जेठ ५, २०७८ बुधबार १७:१० बजे

जनकपुरधाम : प्रदेश २ को स्वास्थ्य पूर्वाधार र व्यवस्थापन निकै कमजोर देखिएको छ । प्रदेशको कूल जनसंख्या र स्वास्थ्य पूर्वाधारको अनुपात हेर्दा स्‍थिति दयनीय देखिएको हो  । कोभिड–१९ संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । तर, स्‍वास्‍थ्‍य पूर्वाधारको अवस्‍था भने दयनीय छ । 

प्रदेशको कूल जनसंख्या अनुमानित ६१ लाख हाराहारी छ । कूल जनसंख्या र प्रदेशमा हाल उपलब्ध स्वास्थ्य पूर्वाधारको अनुपातमा निकै अन्‍तर छ ।  जनसंख्या र स्वास्थ्य पूर्वाधारको अनुपातमा ७ हजार ६३३ जना बराबर एउटा आइसोलेसन बेड, साढे ६६ हजार व्यक्ति बराबर एउटा भेन्टीलेटर र २० हजार व्यक्ति बराबर  एउटा आइसीयू पर्ने अवस्था छ । स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय र अस्पतालहरूको तथ्यांक केलाउँदा प्रदेशका सबै सरकारी र निजी अस्पताल मिलाएर भेन्टीलेटर ९०, आइसोलसन बेड ७८६, एचडीयू बेड ३००, आइसीयू २५० छ ।


प्रदेशका तीन जिल्ला भेन्टीलेटर र आइसीयूविहीन छन् । निर्देशनालयका अनुसार बारा, रौतहट, सर्लाहीमा भेन्टीलेटर, आइसीयू बेड छैन । महोत्तरीमा करोडौँ रुपैयाँ खर्चिएर ५ थान भेन्टीलेटर, आइसीयू र १५ वटा एचडीयू बेड भए पनि जनशक्ति छैन । तर, स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार भेन्टीलेटर ६५, एचडीयू २९६, ओइसालेसन ७८७, आइसीयू १४१ मात्र छ । वास्तविकभन्दा निर्देशानलयको तथ्यांकमा संख्या कम भएको निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादव बताउँछन् । नयाँ विवरण अपडेट नभएकोले संख्या कम देखिएको उनको भनाइ छ । 

उनकाअनुसार प्रदेशमा १३ वटा सरकारी अस्पताल, २८ वटा निजी र २ वटा मेडिकल कलेज मिलाएर कुल ४३ वटा अस्पताल छन् । यी अस्पतालहरूमा मात्र १२८८ बेड छन् । जसमध्ये मात्र ७८६ बेड कोभिड उपचारको आइसोलेसनमा प्रयोग गरिएको छ । 

कोभिड महामारीसँग लड्न प्रदेशका ८ वटै जिल्लामध्ये पर्सा जिल्लाको अवस्था मात्र केही हदसम्म राम्रो देखिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेकाअनुसार सरकारी र विभिन्न निजी अस्पताल गरी एचडीयू बेड ४०८, आइसीयू बेड १४५, भेन्टीलेटर ४४ वटा उपलब्ध रहेको छ । 

जसमध्ये सरकारी अस्पताल नारायणी अस्पतालमा एचडीयू ५०, आइसीयू ७५, भेन्टीलेटर २० वटा रहेको छ । प्रदेशको स्वास्थ्य जनशक्तितर्फ हेर्ने हो भने निर्देशनालयका अनुसार विभिन्न सरकारी अस्पतालहरूमा स्थायी दरबन्दी कुल १२२४ रहेको छ । जसमध्ये फिजिसियन ७०, एनोथिसियोलोजी ४, मेडिकल अफिसर १२८, नर्सिंङ अफिसर ७ , डेन्टल सर्जन १६, नर्सिंग इन्स्ट्रक्चर ५, नर्सिंग स्टाफ १४२, एनेथेसिया असिसटेन्ट ९, अनमी ९३ र एचए ३२, अहेव ८७ जना मात्र रहेको छ ।

यी जनशक्तिमध्ये कोभिड महामारीका लागि खटने चिकित्सक १९८ र स्वास्थ्यकर्मीतर्फ ३६० जना मात्र रहेको छ । हुनत दोश्रो चरणको महामारी तीब्र रूपमा फैलिँदै गएपछि प्रदेश सरकारले चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीसहित ४ सय १ जना जनशक्ति करारमा थप्न लागेको छ। हाल रहेका ९१७० संक्रमितमध्ये ६८७ जना विभिन्न संस्थागत अस्पतालमा उपचारत रहेका छन् । तथ्यांकअनसार संक्रमितको संख्याले हेर्ने हो भने ४६ जना संक्रमितमा एउटा चिकित्सक र २५ जनामा एउटा स्वास्थ्यकर्मी भागपर्ने अवस्‍था छ ।

यदि सक्रिय संक्रमितहरूलाई अस्पताल उपचारको आवश्यकता पर्‍यो भने १०२ जनामा एउटा भेन्टीलेटर, १२ जनामा एउटा आइसोलसन, ३१ जनामा एउटा एचडीयू बेड र ३७ जनामा एउटा आइसीयू बेड पर्न जानेछ ।

प्रदेशमा अहिले एचडीयू, आइसीयूभन्दा पनि भेन्टीलेटर र अक्सिजन अभावमा संक्रमितहरूको मृत्यु हुने क्रम तीब्र रूपमा बढदै गएको छ । जनशक्ति अभावमा कोभिड अस्पतालहरूमा बिरामीले उचित उपचार नपाएर समेत ज्‍यान गुमाउनु परेको छ । मेसु डा. प्रमोद यादवले भने भेन्टीलेटरभन्दा पनि अक्सिजन अभावमा उपचारमा समस्या भएको हो, चिकित्सकीय जनशक्ति अभाव बिरामीहरूको उपचारमा समस्या हुन गएको हो ।

जनस्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले भने प्रदेशका जनसंख्याका हिसाबले हेर्ने हो भने जुन रूपमा कोभिड-१९ महामारी प्रदेशमा फैलिँदै गएको छ त्यो अनुसार सरकारको तयारी निकै कमजोर देखिएको छ । संक्रमण फैलिदै गएपछि सरकारले पनि आफ्नो तयारी तीब्र रूपमा अघि बढाइरहेको उनको भनाइ छ ।

तीब्र रूपमा बढदै गएको संक्रमण र प्रदेश सरकारसँग उपलब्ध जनशक्ति र स्वास्थ्य उपकरणको अवस्था कमजोर रहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले पनि स्वीकार गरे ।  उनले पूर्व तयारी गर्न नसकेको स्वीकार गर्दै ढिला भए पनि अहिले सम्पूर्ण ध्यान कोभिड महामारी रोकथाममै केन्द्रित गरेको उनले बताए । ‘प्रदेशको स्वास्थ्य सुरक्षा अवस्था पहिलेदेखिनै कमजोर थियो,’ उनले भने, ‘प्रदेश सरकार गठन भएपछि सुधार गर्ने क्रममा थियौँ । यही बेला कोभिड महामारी आयो । प्राप्त श्रोत साधनको आधारमा हामी जनशक्ति, पूर्वाधार र उपकरण थप्ने क्रममा छौं ।’

पर्याप्त बजेट नभएको कारण अस्पताल र उपकरणसहित पर्याप्त मात्रामा थप्ने सक्ने अवस्था नभएको उनको भनाइ छ । कानुनी अड्चनका कारण प्रदेशले स्थायी दरबन्दी नगरी करारमा थप्ने क्रम सुरु गरेको उनको भनाइ छ । प्रदेशका सबै सरकारी अस्पतालमा अक्सिजन आपूर्तिसँगै भेन्टीलेटर, आइसीयू र एचडीयू थप्ने कार्यमा जुटेको बताए । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x