मधेश

मधेशमा संविधान दिवस : कतै खुसियाली, कतै विरोध प्रदर्शन

सुभाष कर्ण |
असोज ३, २०८० बुधबार २१:४३ बजे

जनकपुरधाम- संविधान दिवसका दिन आज बिहीबार मधेश प्रदेशमा सामान्य उत्साह देखिएकाे छ भने सत्तारूढ दलसहित केही दलले कालो झण्डा देखाइ संविधान जलाएर विरोध प्रदर्शन गरेका छन् ।

सरकारले भव्यताका साथ तीन दिनसम्म संविधान दिवस मनाउने घोषणा गरेको थियो । सो अनुरूप पहिलो दिन असोज ३ गते सत्तारूढ दल कांग्रेस, माओवादी र नेकपा एसले दीप प्रज्वलनसहितका सामान्य कार्यक्रम गरी मनाएका छन् भने प्रतिपक्षी दल नेकपा एमालेले सरसफाइ तथा झन्डोत्तोलन गरेकाे छ ।


यी बाहेक सत्तारूढ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले विरोध जुलुस प्रदर्शन गरी संविधान दिवसलाई कालो दिवसका रूपमा मनाएकाे छ भने तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले कालो झण्डा प्रदर्शनदेखि संविधान जलाउनेसम्म कार्यक्रम गरी कालो दिवस भन्दै मनाएकाे छ ।

तमलोपाले आज बिहान भानु चोकमा कालो झण्डा प्रदर्शन गरी विरोध प्रदर्शनको सुरुवात गरेकाे थियाे । दिउँसो विरोध जुलुस प्रदर्शन गर्दै उसले जनक चोकमा संविधानको प्रति जलाएर संविधान दिवसलाई कालो दिवसका रूपमा मनाएकाे छ । संविधान जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गर्दागर्दै आन्दोलनकारीहरूले संविधान जलाउन सफल भएका थिए । सरकारसँगै प्रहरीविरुद्ध समेत तमलोपाका नेता कार्यकर्ताहरूले चर्को नाराबाजी गरेका थिए ।

संविधान दिवस किन मनाइएको बारे तमलोपाका नेता उमेश मण्डलले भने, 'यो संविधान सबैको अधिकार नसमेटेर जनताको लाशमाथि जारी भएकाले कालो दिवसका रूपमा मनाएको हौं । यो संविधानमा यति धेरै त्रुटी र कमी छ संशोधन गर्दा पुग्ने नभएकाले पुनर्लेखनको आवश्यकता छ ।'

यस्तै तमलोपाकी नेतृ विन्दु ठाकुरले यो संविधान मधेशी, थारु, मुस्लिम लगायतका पिछडिएको वर्ग समुदायको अधिकार नसमेटेर ल्याइएकाले संशोधनसहित नयाँ संविधान नआउञ्जेलसम्म विरोध गरिरहने बताइन् । 

यसअघि एमालेले पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अगुवाइमा जानकी मन्दिरमा वृक्षरोपण, सरसफाइ र झन्डोत्तोलन गरेकाे थियो । सरसफाइ तथा झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानलाई नयाँ ढंगले कार्यान्वयन गर्ने र कतिपय कुरामा संशोधनको आवश्यकता रहेकाले त्यसतर्फ लाग्नुपर्ने बताए ।

यता प्रदेश तथा संघमा सहभागी जसपा र जनमत पार्टीले संविधान दिवसको अवसरमा न उत्साह र न विरोध प्रदर्शन गरी तटस्थ बसेका छन् । गत वर्षसम्म जनमतले पनि विरोध प्रदर्शन गर्दै आएकाे थियाे । २०७५ सालमा केपी ओली नेतृत्वको सरकारमा हुँदा जसपाले विरोध प्रदर्शन नगर्ने निर्णय गरे बमोजिम हालसम्म तटस्थ नै बस्दै आएकाे छ । 

यस्तै अन्य वर्ष जस्तै यस वर्ष पनि प्रदेश सरकारले संविधान दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम गरेन । कर्मचारीहरूले सरसफाइ तथा दीप प्रज्वलन गरी संविधान दिवस मनाए पनि सरकारमा आबद्ध मन्त्री सो कार्यक्रममा सहभागी भएनन् । सत्तारूढ दल कांग्रेस, माओवादी र नेकपा एसले दीप प्रज्वलन बाहेक खासै कार्यक्रम आयोजना गरेनन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x