मधेश

धनुषा बन्यो प्रदेश २ मा कोभिडको 'हटस्पट'

सुभाष कर्ण |
जेठ १४, २०७८ शुक्रबार ८:१६ बजे

सांकेतिक तस्बिर

जनकपुरधाम : गत केही दिन यतादेखि प्रदेश २ का धनुषा जिल्ला कोभिड १९ महामारी संक्रमणको हटस्पट बन्दै गएको छ । पछिल्लो महिनाको तेश्रो सातासम्म प्रदेशको पर्सा जिल्ला कोभिड १९ संक्रमणको हटस्पट रहेको थियो । तर जेठ २२ गतेदेखि धनुषा जिल्ला उछटिन थालेको हो । तर सम्बन्धित निकायले पीसीआर चेकजाँचको दायरा बढाइएको कारण संख्या बढी देखिन गएको दाबी गरेका छन् ।

वैशाख २१ गतेसम्म पर्सा जिल्लामा ८७ र धनुषामा ८० जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि वैशाख २२ मा एक्कासी पर्सालाई पछि पार्दै धनुषामा १४० जना संक्रमित फेला परे भने पर्सामा मात्र १२५ जनामा संक्रमण पुष्टि भएको थियो । वैशाख २५ गतेका दिन पर्सा र धनुषामा बराबर संख्यामा ११२÷११२ जनामा संक्रमण पुष्टि भएको थियो ।


स्वास्थ्य निर्देशनालय प्रदेश २ को तथ्यांक अनुसार जेठको पछिल्लो सातामा पर्साभन्दा तेब्बर संख्या बढी धनुषामा संक्रमित फेला परेका छन । निर्देशनालयले दैनिक रुपमा सार्वजनिक गर्र्दै आएको तथ्यांकमा एक साताको अवधिमा धनुषा ९५३ जनामा संक्रमण पुष्टि भएको छ भने पर्सामा मात्र ३१५ जना संक्रमित भएको छ ।

चालू जेठ महिनामा धनुषामा १५६४ र पर्सामा ६१५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि वैशाख महिनाको तेश्रो सातासम्म पर्सा जिल्लामा दैनिक दुई सयसम्मको हाराहारीमा संक्रमण पुष्टि हुँदै आएकोमा अहिले दुई तीन दर्जनको संख्यामा झरेको छ । तर धनुषा जिल्ला दिनानुदिन बढदै गइरहेको छ ।

वैशाख महिनाको तेश्रो सातादेखि धनुषा जिल्लामा एक सय भन्दा तल संक्रमित हुनेको संख्या झरेको छैन । जेठ ३ गते दोश्रो चरणको कोभिड संक्रमण लहरमा सबैभन्दा बढी २१८ जनामा संक्रमण पुष्टि भएको देखिएको छ ।

दोश्रो चरणको लहरमा गरिदै आएको पीसीआर परिक्षण अनुसार प्रदेशका बारा, पर्सा र धनुषा सबभन्दा बढी संक्रमित हुदै आएकोमा अहिले धनुषा र बारा बढी प्रभावित भएको देखिएको छ ।
महामारीको दोश्रो चरणमा प्रदेशमै सबैभन्दा बढी धनुषा जिल्ला र सबैभन्दा कम सर्लाहीमा संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार धनुषामा ३५५६ जना र सर्लाहीमा मात्र ४८६ जनामा संक्रमण देखिएको छ ।

प्रदेशका अन्य जिल्लाहरु पर्सामाा ३२९७, महोत्तरीमा १७५२, सप्तरीमा १२६१, सिरहामा ७५०, रौतहटमा १०५१, बारामा १३६८ जना संक्रमित भइसकेका छन । अन्य जिल्लामा कम संक्रमित देखिनुको प्रमुख कारण पीसीआर जाँचको आभाव रहेको सरोकारवालाहरुको भनाई छ ।

निर्देशनालयले सार्वजनिक गर्दै आएको तथ्यांक सरकारी अस्पताल र सो अन्तर्गतका प्रयोगशालाहरुमा गरिएको पीसीआर परिक्षणको आधारमा रहेको जनाइएको छ । निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले भने ‘हामीले हालसम्म प्रदेश सरकारद्वारा तोकिएका सरकारी अस्पताल तथा प्रयोगशालाबाट तथ्यांक संकलन गरी मात्र सार्वजनिक गर्दै आएका छौं । निजी अस्पताल, प्रयोगशाला र प्रदेश बाहिरका अस्पतालमा समेत परिक्षण गराउनेहरु छन् । जसको विवरण हामीले संकलन गर्न सकेका छैनौं ।’

उनका अनुसार प्रदेशको धनुषामा प्रादेशिक अस्पताल जनकपुरधाम, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल, रौतहटको गौर अस्पताल, बाराको कलैया अस्पताल, सर्लाहीको मलंगवा अस्पताल, सिरहाको सिरहा अस्पताल र पर्साको नारायणी उपक्षेत्रीय अस्पतालमा पीसीआर परिक्षण हुँदै आएको छ ।

संक्रमण बढनुको कारण

धनुषा जिल्लामा संक्रमण दिनानुदिन बढदै जानुमा अन्य जिल्लाभन्दा बढी पीसीआर भएकाले संक्रमितको संख्या बढि देखिन गएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला बताउँछन् । उनले भने, ‘हामीले प्रत्येक स्थानीय तहको गाउँ गाउँ टोलमा पीसीआर जाँचको दायरा बढाएको छौं, तर अन्य जिल्लामा शहर केन्द्रित मात्र रहेको कारण संख्या कम देखिएको हो ।’

प्रजिअ बास्तोलाले भने, ‘पहिलाभन्दा अहिले संक्रमित हुनेको संख्या घटदै गएको छ । जहाँसम्म संक्रमण बढ्नुको प्रमुख कारण आम जनतामा जनचेतना भन्दा पनि लापरवाही हो । शहरमा निषेधाज्ञाको पालना भएपनि ग्रामीण भेगतिर लुकिछिपी भीडभाड गर्ने, हाटबजार लगाउने लगायतका क्रम जारी नै छ ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x