मधेश

शिक्षकको माग गर्दै विद्यार्थीहरूले गरे विद्यालयमा तालाबन्दी

सुभाष कर्ण |
असोज १४, २०८० आइतबार २१:२२ बजे

तस्बिर सौजन्य : ममता बैठा ।

जनकपुरधाम- शिक्षक अभावले पढाइमा समस्या भएको भन्दै धनुषाको धनौजी गाउँपालिका–५ स्थित वासुदेव उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।

प्रधानाध्यापक रहमतुल्ला मंसुरी राइनलाई शिक्षक अभावका कारण पठनपाठनमा समस्या भएको पटक–पटक जानकारी गराउँदा पनि कुनै चासो नदेखाएपछि विद्यार्थीहरूले आइतबारदेखि विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।


शिक्षकको तत्काल दरबन्दी पूरा गरी पठनपाठन सहज बनाउन एक सुत्रीय माग राखि विद्यार्थीहरूले आइतबार बिहान विद्यालयको प्रशासन तथा प्रधानाध्यापकको कक्षमा तालाबन्दी गर्दै अनिश्चितकालीन विद्यालय बन्द गर्नुपरेको एक विद्यार्थीले बताए । विद्यालयमा विज्ञान, सामाजिक लगायतकाे शिक्षकको अभाव रहेकोमा नियमित हरेक विषयको पठनपाठनका लागि कम्तीमा १८ जना आवश्यकता रहेको विद्यार्थीहरूको भनाइ छ । 

शिक्षक अभावबारे वडा अध्यक्ष वाकुम कवाडीलाई पनि पटकपटक जानकारी गराउँदा पनि ध्यान नपुर्याएको भन्दै विद्यार्थीहरूले धनौजी गाउँपालिका–५ बहुअर्वाको कार्यालयमा समेत तालाबन्दी गरेका छन् । हुन त सो तालाबन्दी एक घण्टा पछाडि नै तोडिएको बताइएको छ । गत आर्थिक वर्षको माघ महिनादेखि विद्यालय व्यवस्थापन समितिविहीन रहेको छ । विद्यालयको ३६ विघा रहेको जग्गा संरक्षण गर्ने नाममा विद्यालय व्यवस्थापन समिति गठनमा विवाद हुँदै आएको छ । 

यता विद्यालयका निमित्त प्रधानाध्यापक शान्त दाहालले विद्यार्थीहरूकाे माग जायज रहेको बताएका छन् । उनले भने, 'यो समस्या पहिलादेखि नै छ, सरोकारवालाले ध्यान नदिएको कारण आज तालाबन्दीको अवस्था आएको हो ।' उनले व्यवस्थापन समितिको चुनाव तत्काल गराई विद्यालयको समग्र विकासका लागि बाटो खोलिनु पर्ने र यसमा सबै पक्षको सहकार्यको आवश्यक रहेको बताए ।

विद्यालयका अर्का शिक्षक संजय साहले विद्यालयको अवस्था दयनीय बनेकोमा दु:ख व्यक्त गरेका छन् । विद्यार्थीको संख्याको अनुपातमा विद्यालयको भौतिक संरचना र शिक्षक अभावका कारण लथालिङ रहेको भन्दै प्रधानाध्यापकले चासो नलिँदा दयनीय अवस्था आएको उनले बताए । यसैबीच प्रधानाध्यापक रहमतुल्ला मंसुरी राइनले पनि विद्यार्थीहरूको माग जायज रहेको बताएका छन् । राइनले शिक्षकको सरुवा सहमति सम्बन्धमा समस्याले शिक्षक अभाव भएको बताए । उनले भने, 'वडा कार्यालय र गाउँपालिकासँग समन्वय गरी समस्या समाधानको लागि पहल गर्नेछु ।'

उता धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले पनि विद्यार्थीहरूको माग जायज रहेको भन्दै यथाशीघ्र प्रधानाध्यापक रहमतुल्ला मंसुर राइन समन्वय गरी माग सम्बोधन गर्न पहल थाल्ने बताए । विद्यालय व्यवस्थापन समितिविहीन भएकोले यस प्रकारको समस्या उत्पन्न भएको बताउँदै उनले एक महिनाअघि नै समिति गठनका लागि पत्राचार गरे पनि प्रधानाध्यापक चासो नलिंँदा समस्या झन बढेको बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x