मधेश

मधेशमा मन्त्रालय फुटाएर छैठौं पटक विस्तार

बिनाविभागीय मन्त्री साहले पाइन् खेलकुद मन्त्रालयको जिम्मेवारी

सुभाष कर्ण |
असोज १९, २०८० शुक्रबार १९:९ बजे

जनकपुरधाम- मधेश प्रदेश सरकारले मन्त्रालय फुटाएर छैठौं पटक मन्त्रिपरिषद् विस्तार गरेको छ । भागबण्डाका आधारमा मुख्यमन्त्री सरोजकुमार यादवले शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय बनाइएका छन् । लामो समयदेखि बिनाविभागीय मन्त्री सुरिता साहलाई नयाँ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएकी साहलाई दलीय भागबण्डका आधारमा पछिल्लो पटक बिनाविभागीय मन्त्री बनाइएको थियो । बुधबार बसेको मधेश प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई जिम्मेवारी तोकेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिएका छन् ।


जनमत पार्टीबाट रहेर शिक्षा तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ । जनमत पार्टी मधेस प्रदेश दलका नेता समेत रहेका मन्त्री यादवले भने कुनै छलफल नै नगरी मन्त्रालय फोडिएको प्रति आपत्ति जनाएका छन् ।

उनले भने, ‘बिना कुनै छलफलको मन्त्रालय फोड्नु राम्रो भएन । हामी सरकार छोड्ने सम्ममा पुग्ने छौं । पार्टीको निर्णयपछि हामीहरू निर्णय लिनेछौं ।'

मन्त्रालय फुटाएपछि अब मुख्यमन्त्री कार्यालयसहित मन्त्रालयको संख्या १२ र मन्त्रीको १४ पुगेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x