मधेश

अवैध क्रसर उद्योगहरूलाई तीन दिने अल्टिमेटम

सुभाष कर्ण |
असोज २१, २०८० आइतबार २१:४८ बजे

जनकपुरधाम- मिथिला नगरपालिकामा अवैध रूपमा सञ्चालित क्रसर उद्योगहरूलाई कागजात बुझाउन तीन दिने अल्टिमेटम दिइएको छ ।

आइतबार मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले प्रहरीको सहयोगमा गरेको अनुगमनमा नगरभित्र सञ्चालित ती क्रसर उद्योगहरू अवैध रूपमा संचालित रहेको पाइएपछि तीन दिनभित्र वैद्यतासहित नदीजन्य पदार्थ कहाँबाट ल्याइएको सप्रमाण कागजात बुझाउन अल्टिमेटम दिएका हुन् । 


मेयर महतोले भने, 'खोला नदीमा चोरी छिपे भइरहेको बालुवा गिट्टीसहितको अवैध उत्खनन पत्ता लगाउन क्रसर उद्योगहरूमा अनुगमन गरिएको हो । चोरीछिपे अवैध उत्खनन पत्ता लगाउन गाह्रो भएकाले यी क्रसर उद्योगहरूमा छानबिन थालेका हौं । अनुगमन गरिएका क्रसर उद्योगहरूलाई कहाँबाट बालुवा गिट्टी ल्याएको हो भन्ने कुराको जवाफ मागेका छौं । वैद्यताको प्रमाणसहित उचित जवाफ नदिए ती क्रसर उद्योगहरूलाई दोश्रो चरणमा बन्द गराउने छौं ।'

मेयर महतोले अगाडी भने, 'गत वर्ष दुईरदुई पटक नदीजन्य पदार्थको उत्खननका लागि टेण्डर निकाल्यौं तर कसैले पनि भरेनन् । टेण्डर भरिएन तर चाहिं नदी खोलामा अवैध रूपमा उत्खनन भइरहेको छ । क्रसर उद्योगहरू पनि राम्रै स्टक गरी संचालनमा देखिएपछि यस्तो कदम चालिएको हो । अब एआईको रिपोर्ट आएपछि पुनः टेण्डर निकालेर वैद्यानिक रूपमा उत्खनन कार्य सुचारु गराउने छौं ।'

मेयर महतोले प्रहरीको सहयोगमा नगरपालिकाको वडा नम्बर २, ३, ५ र १० मा संचालित १० वटा क्रसर उद्योगमा अनुगमन गरेका हुन् । मेयर महतोले जनाए अनुसार वडा नम्बर २ स्थित शुभम बालुवा प्रशोधन उद्योग, वडा नंं. ३ स्थित वनदेवी बालुवा प्रशोधन उद्योग, रोहन बालुवा प्रशोधन उद्योग, औरहीबाबा बालुवा प्रशोधन उद्योग, जयशिव भोले बालुवा गिट्टी वासिङ्ग उद्योग, चुरियामाई बालुवा प्रशोधन उद्योग, वडा नं. ५ स्थित चुरियामाई बालुवा प्रशोधन उद्योग र वडा नं. १० मा रहेको धनेश्वर क्रसर उद्योग, जय बजरंग बालुवा प्रशोधन उद्योग र सुमित क्रसर उद्योगमा अनुगमन गरिएकाे हो ।

अनुगमन गरिएका क्रसर उद्योगमा केही बिनाप्यान दर्ताको, केही एउटै नाममा दुई/तीनवटा र केही संस्था उद्योग दुईवटा भए पनि बिल चाहिं दुवैको संयुक्त नाम जोडेर कारोबार गर्ने गरेको पाइएको छ । वनदेवी र औरही बाबा बिनादर्ताकै दुई/दुईवटा उद्योग भए पनि वनदेवी औरही बाबा बालुवा प्रशोधन उद्योगको बिल रसिदबाट कारोबार गर्ने गरेको पाइएको मेयर महतोले बताए । यी १० वटै क्रसर उद्योगहरू औरही खोला र जलाध खोलाबाट उत्खनन गर्दै आएको बताइएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x