मधेश

एमाले मधेश प्रदेश अधिवेशनको तयारी पूरा, लेबीबाट उठ्ने खर्चले अधिवेशनको व्यवस्थापन गरिँदै

सुभाष कर्ण |
असोज २३, २०८० मंगलबार १४:४७ बजे

जनकपुरधाम- नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।​ मंगलबार नेकपा एमाले मधेश प्रदेश समितिले पत्रकार सम्मेलनकाे आयोजना गरी प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हाे ।

एमालेका मधेश प्रदेश इन्चार्ज एवं सचिव योगेश भट्टराईले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने प्रथम मधेश अधिवेशनको सम्पूर्ण तयारी सकिएकाे जानकारी दिए । ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ मूल नाराका साथ असोज २४ र २५ गते एमालेले आफ्नो प्रथम मधेश अधिवेशन सम्पन्न गर्न लागेको उनले बताए । 


जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनमा १ हजार २७ प्रतिनिधिहरूको सहभागिता रहने, जसमा ४ जना विवादित रहेका कारण १ हजार २३ प्रतिनिधि सहभागी हुने र अधिवेशन व्यवस्थापनका लागि एक सय ५ जना स्वयंसेवक खटाइने सचिव भट्टराइले जानकारी दिए । उनले यो अधिवेशनबाट समावेशी प्रतिनिधित्व हुने गरी प्रादेशिक समिति छनौट गरिने बताए । यसका लागि विभिन्न क्लष्टरमा आरक्षणको व्यवस्था समेत गरिएको उनलर्काे जनाए ।

अधिवेशनको तयारी सम्बन्धमा जानकारी दिँदै एमाले सचिव भट्टराईले मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार आवश्यक रहेको जिकिर गरे । एमाले अब त्यही लक्ष्यका साथ मधेसमा क्रियाशील हुने उनको भनाइ थियो । सामाजिक विभेद, बेरुजु र भ्रष्टाचार सबैभन्दा बढी मधेश प्रदेशमा रहेको बताउँदै उनले एमालेको मुख्य काम सुशासन र सामाजिक न्याय रहेको स्पष्ट गरे ।

प्रादेशिक अधिवेशनका लागि सम्पूर्ण खर्च आन्तरिक रूपमा गेट पण्डाल, आवास मञ्च लगायतका सम्पूर्ण व्यवस्थापन पूरा भइसकेको एमाले मधेशका अध्यक्ष रामऔतार यादवले जानकारी दिए । उनका अनुसार प्रतिनिधि र स्वयंसेवकका लागि जनकपुरधामस्थित २२ वटा होटल बुक गरिएको छ । अधिवेशन खर्चको ४४/४५ लाख रुपैयाँ अनुमान गरिएकोमा कटौती गरी १४/१५ लाख रुपैयाँ खर्च झारिएको जानकारी अध्यक्ष यादवले दिए । 

अधिवेशन खर्च जुटाउन सहभागी हुने सम्पूर्ण प्रतिनिधिबाट २ हजार, मधेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यहरूबाट १० हजार, नगर प्रमुखहरूबाट २५ हजार, गाउँपालिका उपाध्यक्षहरूबाट २० हजार रुपैयाँ लेबी गरी करिब ४२ लाख रुपैयाँ उठाइने सचिव भट्टराईले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x