मधेश

शंकास्पद वस्तु विस्फोट घटनाको सत्यतथ्य छानबिन गर्न स्थानीय राजनीतिक दलको माग

इकागज |
फागुन १४, २०८० सोमबार २०:२५ बजे

बारा- बाराको निजगढ नगरपालिका ७ स्थित गाडी मर्मत गर्ने (कारखाना) ग्यारेजमा सोमबार विष्फोट भएको घटनाको सत्यतथ्य छानबिन गर्न निजगढका राजनीतिक दलहरूले माग गरेका छन् । 

सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गरी घटनालाई पारदर्शी र प्रभावकारी ढङ्गले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन राजनीतिक दलले माग गरेका हुन् ।


निजगढ नगरभित्र रहेका नेपाली कांग्रेसका निजगढका सभापति नवराज तिमल्सिना, नेकपा एमालेका निजगढका उपाध्यक्ष भोला गौतम, नेकपा माओवादी केन्द्र निजगढका अध्यक्ष सन्तोष दंगाल, राष्ट्रिय स्वतन्त्र पार्टी निजगढका सभापति रामहरी खरेल, राप्रपा निजगढका अध्यक्ष खड्ग प्रसाद उप्रेती र नेकपा एकीकृत समाजवादी निजगढका अध्यक्ष भिमप्रसाद सापकोटाको हस्ताक्षर रहेको संयुक्त विज्ञप्तिमा रोहित वर्कशपमा शंकास्पद वस्तु विस्फोट भएको प्रति निजगढस्थित सबै राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

यस्तै यस हृदयविदारक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दा उक्त घटनामा परी मृत्यु भएका सोही वर्कशपका सञ्चालक रेशमबहादुर जर्गामगर प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकटसमेत गरिएको छ । 

विज्ञप्तिमा उक्त घटनामा निजगढ नगरपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय सुर्यबहादुर थापा, विरगंज महानगरपालिका वडा नम्बर ९ बस्ने ३४ वर्षीय फिरोद देवान, सोही स्थान बस्ने २० वर्षीय रितु रजत, भारत गवाहि बस्ने ३५ वर्षीय राकेश जयसवाल र भारत राम गढवा बस्ने २० वर्षीय अरीवन साह घाइते भई उपचाररतहरू रहेकोमा उनीहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । 

यस्तै आज भएको यस घटना शंकास्पद वस्तु विस्फोट भएको देखिएकोले उक्त घटनाको सम्बन्धित निकायबाट छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र घाइतेहरूको उचित स्वास्थ्य उपचारका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग जोडदार माग समेत गरिएको छ ।


Author

थप समाचार
x