मधेश

जनकपुरको खानेपानी कार्यालय प्रमुखविहीन, कर्मचारी जानै मान्दैनन्

३ महिनादेखि कार्यालयको काम ठप्प

सुभाष कर्ण |
पुस २७, २०७८ मंगलबार १३:३० बजे

जनकपुरधाम- पछिल्लो तीन महिनादेखि जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट हुने कार्यसम्पादन ठप्प बनेको छ। डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आयोजनाका प्रमुखलाई दुर्व्यवहार गरेयता कार्यालयको सम्पूर्ण कामकाज ठप्प बनेको हो।

खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार भएको घटनापछि आयोजना कार्यलय प्रमुखविहीन छ। कार्यालय प्रमुखको अभावका कारण आर्थिक र प्रशासनिक काम हुन सकेको छैन ।


कार्यालय प्रमुखविहिन भएपछि कर्मचारीहरूले तीन महिनादेखि तलब भत्ता पाएका छैनन् । आयोजनाका सिनियर ईन्जिनियर गंगाप्रसाद महतोले कार्यालय प्रमुख नहुँदा आयोजनाको कार्य मात्रै ठप्प नभई पानी खान र गाडी चढ्नसमेत समस्या भएको बताए। उनकाअनुसार चालु आर्थिक वर्षमा करिब दुई दर्जन चालु आयोजनाको कामका साथै सम्पूर्ण आर्थिक कारोबार ठप्प हुन गएको छ । 

सिके राउतका कार्यकर्ताहरुले कार्यालयमा रहेको चारपांग्रे गाडीको रिमोटसहित तोडफोड गर्दा अझै मर्मत भएको छैन । आयोजनाका अर्का इन्जियर पुष्पराज सिंहले आयोजनाका ठेकेदारहरू दिनहुँ नयाँ कामको सम्झौता, बक्यौता भुक्तानी र चालु आयोजनाको काम सुचारु गर्न धाइरहेका छन् । 

लामो समयदेखि प्रमुख नहुँदा आयोजनाको दिन बाँकी रहेको भुक्तानी रकम, योजना सञ्चालनको लागि दिनुपर्ने पेश्की रकम, नयाँ योजना सम्झौता, मर्मतसम्भारका योजना, कार्यालयमा कार्यरत कर्मचारीको तलब भत्तालगायतका कार्यहरु रोकिएकाले निकै समस्या भएको छ । ‘तिहार पर्वमा तलब पाउन सकेनौ निकै नै विजोग भएको छ,’ उनले भने, ‘कार्यालय जान गाडीमा आफ्नै पैसा ईन्धन हाल्नुपरिरहेको छ भने पानीसमेत घरबाटै लिएर खानुपर्ने अवस्था रहेको छ ।’

कार्यसम्पादन ठप्प भएको बिषयमा पटक–पटक सम्वन्धित विभाग र मन्त्रालयमा जानकारी गराउँदासमेत अहिलेसम्म कुनै पनि प्रमुख पठाएको छैन। विभाग र मन्त्रालयलाई लिखित तथा मौखिक रुपमा जानकारीका साथै आफै गएर निकै पटक ताकेता गर्दा पनि कुनै चासो नलिइएको गुनासो उनले गरे । 

गएको कात्तिक ४ मा सिके राउत नेतृत्वको कार्यकर्ताहरुले आफ्ना अध्यक्षको घर जाने बाटोमा बाटो निर्माण नगरेको निहुँमा निमित्त प्रमुख कुशवाहालाई कार्यालयमा दुर्व्यवहार गर्नुका साथै अर्धनग्न गरी जनकपुरधाम बजार क्षेत्रमा नगर परिक्रमा गराएको थियो । कर्मचारी स्रोतकाअनुसार निमित्त प्रमुख कुशवाहासँग भएको दुर्व्यवहार घटना पश्चात मन्त्रालयमा ताकेता गर्दा पनि यहाँ कुनैपनि कर्मचारी प्रमुखको रुपमा आउन मानिरहेका छैनन् । 

मन्त्रालयका प्रवक्ता एवं सहसचिव ज्ञानप्रसाद ढकालले आयोजना कार्यालयको समस्याबारे आफूहरुलाई जानकारी भएको र समाधानका लागि चाँडै नै हामी कुनै व्यवस्था गर्ने बताए। सिके राउतका कार्यकर्ताले पछिल्लोपटक कार्यालय प्रमुखलाई गरेको दुव्र्यवहार घटनाले नै गर्दा कर्मचारी आउन नमानेको उनले स्वीकार गरे।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x