मधेश

मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका ३९ चुरे अभियन्ता पक्राउ

सुभाष कर्ण |
चैत १४, २०७८ सोमबार १७:१९ बजे

जनकपुरधाम–प्रहरीले मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना चुरे अभियानकर्तालाई पक्राउ गरेको छ ।

चुरे तथा वन जङ्गल संरक्षण अभियानीहरुले विभिन्न माग राख्दै निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गर्न खोज्दा २७ महिला र १२ पुरूष गरी ३९ जना अभियन्ताहरुलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीले जनाएको छ । 


अभियन्ताहरुले चुरे क्षेत्रको जग्गा भूमिहीनका नाउँमा व्यक्तिले कब्जा गरेर बिक्री गरेको विषयमा छानबिनका लागि समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न दवाव दिएका थिए । त्यस्तै सिराहा जिल्लाको मिर्चैया नगरपालिकास्थित मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको भन्दै विरोध प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका थिए ।

अभियानका संयोजक सुनिलकुमार यादवले चुरे वन विनाश र सिराहा वन कार्यालयको अनियमितता, मारुती सिमेन्टले कब्जा गरेका जग्गा फिर्ता र मधेशका भूमिहिनहरुलाई भूमिको अधिकार दिनुपर्ने पटकपटक गरेको प्रतिवद्धता प्रदेश सरकारले कार्यान्वयन नगरेको कारण बाध्य भएर आन्दोलनमा उत्रेको बताए । 

उनले यसअघि नौ दिने आमरण अनसनको क्रममा प्रदेश सरकार भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको अगुवाईमा छानविन समिति गठन गरेर एक महिना भित्र प्रतिवेदन सार्वजनिक गर्ने गरिएको सहमतिको ६ महिना बितिसक्दा पनि छानविन प्रतिवेदन सार्वजनिक गर्न नसक्नु मधेश सरकारको असफलता रहेको बताए। 

संयोजक यादवले भने ‘पटक–पटक शान्तिपूर्ण आन्दोलन गर्नेदेखि लिएर आमरण अनसनसमेत गरिसक्यौ तर आफूहरुको मागप्रति प्रदेश सरकार प्रतिबद्धता गरेर पनि गम्भीर नलिएका कारण बाध्य भएर मुख्यमन्त्री कार्यालय घेराउ गर्नु परेको हो ।’ मुख्यमन्त्री कार्यालय घेराउ गर्न पुगेका आन्दोलनकारी र प्रहरीबीच झडपसमेत भएको थियो । 

निषेधित क्षेत्रमा जुलुस, बन्द, हडताल तथा नाराबाजी गर्न नमिल्ने भएकाले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

स्थानीय रेल्वे स्टेशनबाट नाराबाजी सहित अभियानीहरुको निकालेको जुलुस जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय घेराउ गर्न पुगेका थिए ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x