बागमती

झन्-झन् बढ्दै मानव अधिकार उल्लंघनका घटना

सरिता दाहाल |
असार ७, २०७९ मंगलबार १९:० बजे

मकवानपुर । मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु बढ्दो अवस्थामा रहेको एक तथ्याङ्कले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मानव अधिकार वर्ष पुस्तक २०२३ को लागि संकलन गरेको घटना विवरणले यस्तो देखाएको हो ।

मकवानपुर जिल्लामा सन् २०२२ को जनवरीदेखि जुन महिनासम्ममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ३३ वटा घटना भएका छन् । जसमध्ये २२ जना महिला ११ जना पुरुष गरी ३३ जना पीडित भएको तथ्याङ्कले देखाएको छ । इन्सेक जिल्ला प्रतिनिधि पुष्प अधिकारीका अनुसार बाल अधिकारका घटनामा नौ जना बालिका पीडित भएकोमा आठ जना बलात्कारका घटना र एक नवजात शिशु हत्याको घटनामा पीडित रहेका छन् ।


यसै समयमा एकै विद्यालयका ३ शिक्षकहरुबाट सात जना बालिका यौन दुरुपयोगका घटनामा पीडित भएको घटना पनि इन्सेकले अभिलेख गरेको छ ।

महिला अधिकारका घटनामा १० जना पीडित भएकोमा सात जना बलात्कार र तीन जना बहुविवाहको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ । यस अवधिमा पाँच ओटा हत्याका घटना भएका छन् । जसमा एक जना महिला र चार जना पुरुष छन् । यस्तै ९ ओटा हत्या प्रयासका घटनामा दुई जना महिला र सात जना पुरुष पीडित भएको इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले बताए ।

६ महिनाको अवधिमा परिवारजनबाटै तीन जना बालिका सहित चार ओटा बलात्कार, एक नवजात शिशु (छोरी)  सहित पाँच ओटा हत्याको घटना भएको भण्डारीले बताए ।

इन्सेकको अभिलेखालयमा गत वर्ष सन् २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७८ ओटा घटनामा अन्य पक्षबाट ७८ जना पडित भएका थिए भने सन् २०२० मा मकवानपुरमा ६२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५० जना महिला, १२ जना पुरुष  र एक लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको तथ्याङ्क छ ।

नागरिकको अधिकारलाई राज्यले सुनिश्चित गर्छः राज्यमन्त्री नेपाली

बागमती प्रदेश स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले नागरिकको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हेटौँडामा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रममा उनले यस्तो बताएकी हुन् । संविधानले प्रदान गरेको मौलिक अधिकार प्राप्तिको लागि नागरिकले अझै लडाई लड्नुपर्ने अवस्था रहेको भन्दै प्रदेश सरकार नागरिकको अधिकार सुनिश्चित गराउने गरी अघि बढेको राज्यमन्त्री नेपालीले बताइन् ।

कार्यक्रममा गैसस महासङ्घ बागमती प्रदेश समिति अध्यक्ष आरती पाठकले इन्सेकले गर्दै आएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अभिलेखले समाजमा महिला तथा बालबालिकाको अवस्था कस्तो छ भन्ने देखाउनुका साथै यसले राज्य र समाजलाई जिम्मेवार बन्न मद्दत पुग्ने बताइन् ।

कार्यक्रममा इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले इन्सेकले मानव अधिकारका घटनाहरूको अभिलेख राख्ने कार्यसँगै मकवानपुरको दुईओटा स्थानीय पालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको क्षेत्रमा काम गर्दै आएको बताए ।


Author

थप समाचार
x