बागमती

मकवानपुरगढी गाउँपालिकाले करारमा कार्यरत कर्मचारीको सम्झौता नवीकरण नगर्ने

सरिता दाहाल |
असार ३२, २०७९ शनिबार ११:७ बजे

मकवानपुर - मकवानपुरगढी गाउँपालिकामा करारमा काम गर्दै आएका कर्मचारीहरूको आर्थिक वर्ष २०७९/०८० को करार सम्झौता नवीकरण नहुने भएको छ । यसअघि करार सेवामा काम गर्नै आएका कर्मचारीहरूको सम्झौता नवीकरण तथा म्याद थप नगर्ने निर्णय कार्यपालिका बैठकले गरेको हो ।

शुक्रबार बसेको कार्यपालिका बैठकले गाउँपालिकाअन्तर्गत करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको हो । करारका कर्मचारीहरू मध्ये गाउँपालिकाको कार्यलय वडा कार्यालय तथा स्वास्थ चौकीलाई अत्यावश्यक पर्ने कर्मचारीको म्याद थपको सन्दर्भ समिति बनाइ प्रतिवेदन पेश गर्ने निर्णय समेत भएको छ । गाउँपालिकाको ६ नम्बर वडाध्यक्ष कृष्ण प्रसाद बजगाईको नेतृत्वमा समिति गठन गरिएको छ।


गत बैशाख ३० को स्थानीय तह सदस्य निर्वाचनमा यस गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरूको प्यानलै विजयी भएका थिए ।

वडाध्यक्ष बजगाई नेतृत्व समितिले साउन १५ गते भित्र प्रतिवेदन कार्यपालिकालाई सिफारिस गर्ने छ । सिफारिस बमोजिम करार कर्मचारीको नवीकरण गर्ने नगर्ने अर्को कार्यपालिकाबाट निर्णय गरिने गाउँपालिका अध्यक्ष दोर्जे स्याङतान लामाले जानकारी दिए । 

गाउँपालिकाको हालको वित्तीय अवस्था कमजोर रहेको हुँदा हाललाई करारका कर्मचारीहरूको यही साउन १ गते आइतबारबाट म्याद थप नहुने पालिकाले जनाएको छ । करारमा कार्यरत कर्मचारीहरूको २०७९ साल साउन १ गतेदेखि म्याद थप नहुने सूचना समेत मकवानपुरगढी गाउँपालिकाले सूचना प्रकाशित गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीद्वारा जारी सूचनामा भनिएको छ– ‘मकवानपुरगढी गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, मक्रान्चुलीबाट विभिन्न समयमा विभिन्न सेवाका पदहरूमा पदपूर्ती भएका एवम् अन्य निकायहरूबाट नियुक्ति तथा सिफारिस भई गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरू तथा स्वास्थ्यचौकी इकाईहरूमा सेवा करारमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको मिति २०७९ असार ३२ गते देखि सेवा करार म्याद सकिएकोले उक्त कर्मचारीहरूको सम्बन्धमा कार्यपालिकाको मिति २०७९ असार ३१ गतेको बैठकको निर्णय अनुसार यहि मिति २०७९ साउन १ देखि लागू हुने गरी सेवा करार म्याद थप नहुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’


Author

थप समाचार
x