बागमती

पदावधि सकियो, बुझाएनन् गाडी र ल्यापटप

इकागज |
असोज १०, २०७९ सोमबार ११:५४ बजे

मकवानपुर- आफ्नो पदावधि सकिएको दश दिन बित्दासम्म बागमती प्रदेशको पुर्व सभा सदस्यहरूले आफूले पदमा रहँदा प्रयोग गरेको सामानको बरबुझारथ गर्न आनाकानी गरेका छन् ।

कानून अनुसार पदावधि सकिएपछि प्रदेश सभालाई फिर्ता गर्नु पर्ने सामान फर्स्यौट गर्न आनाकानी गरेका हुन् । गत १ असोजमा निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएसँगै कार्यकाल अन्त्य भए पनि बागमती प्रदेशका दुई वटा समितिका सभापतिले गाडी, मोबाइल, ल्यापटपलगायत सरकारी सुविधा फिर्ता नगरेका हुन् ।


सोही दिन अर्थात् १ साउनमै प्रदेश सभा सचिवालयमा बिदाइ कार्यक्रम भए पनि उद्योग, पर्यटन तथा वातावरण समिति सभापति रमा आलेमगर र प्रदेश मामिला समिति सभापति माधवप्रसाद पौडेलले सेवा सुविधा फिर्ता नगरेका हुन् ।

प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार अन्य सबैले आफ्नो जिम्मेवारीमा रहेको सामान एक साताभित्र फिर्ता गरेका थिए । उद्योग, पर्यटन तथा वातावरण समिति सभापति एकीकृत समाजवादीकी मगरले प्रदेश ३–०३–००१ झ ००२२ नम्बरको स्कारपियो र ल्यापटप बुझाएका छैनन् । यसैगरी प्रदेश मामिला समिति सभापति एकीकृत समाजवादीका पौडेलले प्रदेश ३–००३–००१ झ ००२३ नम्बरको स्कारपियो र ल्यापटप फिर्ता गरेका छैनन् ।

प्रदेश सभा सचिवालयका अनुसार सार्वजनिक लेखा समिति सभापति कांग्रेसका न्हुच्छेनारायण श्रेष्ठले पनि सरकार ल्यापटप फिर्ता गरेक छैनन् । उनले प्रदेश ३–०३–००१ झ ००२० नम्बरको स्कारपियो भने फिर्ता बुझाएका छन् ।

प्रमुख प्रतिपक्ष दलकी नेता अष्टलक्ष्मी शाक्यले प्रदेश ३–०३–००१ झ ००२१ नम्बरको स्कारपियो, प्रमुख सचेतक दीपक निरौलाले प्रदेश ३–०३–००१ झ ००२८ नम्बरको स्कारपियो र सत्तापक्ष एकीकृत समाजवादीकी मुख्य सचेतक मुनु सिग्देलले प्रदेश ३–०३–००१ झ ००२४ नम्बरको स्कारपियो गाडी बुझाइसकेका छन् । 

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति एमालेका केशवप्रसाद पोखरेलले प्रदेश ३–०३–००१ झ ००२५ नम्बरको स्कारपियो, अर्थ तथा विकास समिति सभापति एमालेका नारायणबहादुर सिलवालले प्रदेश ३–०३–००१ झ ००२७ नम्बरको स्कारपियो बुझाएका छन् ।  

निर्वाचन मिति नजिकिदै जांदा नेताहरू चुनाव केन्द्रित भएका छन् तर उनीहरूले प्रयोग गरेको सामग्री बरबुझारथ नगर्दा उनीहरूको इमान्दारितामै प्रश्न उठेको छ । कानुनत: उनीहरूले पदमा रहदा प्रयोग गरेको सामग्री पद सकिएको एक साताभित्र बुझाउनु पर्ने प्रावधान छ ।


Author

थप समाचार
x