बागमती

बागमती प्रदेश सभामा प्रत्यक्षबाट सात प्रतिशतमात्रै महिला निर्वाचित

इकागज |
मंसिर १३, २०७९ मंगलबार ८:३४ बजे

मकवानपुर - मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभातर्फ बागमती प्रदेशमा ५ जना महिला उम्मेदवार विजयी भएका छन् । प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षतर्फ ५ जनामात्रै महिला निर्वाचित भएका हुन् ।

बागमती प्रदेश सभाको प्रत्यक्षतर्फ ६६ निर्वाचन क्षेत्र रहेकोमा ७ दशमलव ५ प्रतिशत महिला प्रत्यक्षमा विजयी भएका हुन् । प्रदेशको दोलखाबाहेक १२ जिल्लाको हालसम्मको नतिजा अनुसार ५ विजयी महिला उम्मेदवारमध्ये नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २,२ जना रहेका छन् ।


यस्तै नेकपा एकीकृत समाजवादीबाट १ उम्मेदवार विजयी भएका छन् । ५ जना विजयी उम्मेदवार गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा थिए । ५ जनाको प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवारसँग मात्र पाइएको छ ।

गठबन्धनको बलमा चुनावी मैदानमा आएका उम्मेदवारसँग जित्न नसक्ने भन्दै एमालेलगायत अन्य दलहरूले महिलालाई उम्मेदवार नै बनाएन । बागमती प्रदेश सभामा प्रत्यक्ष तर्फ प्रतिनिधित्व गर्ने महिलाहरूमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ को १ बाट नेकपा माओवादी केन्द्री कुमारी मोक्तानले जित हासिल गरिन् । उनले एमालेका विष्णुप्रसाद ढकाललाई ३ सय २ मतान्तरले हराइन् ।

मोक्तान प्रदेशको वहालवाला सामाजिक विकास मन्त्री हुन् । यस्तै माओवादी केन्द्रकी राधिका तामाङ नुवाकोट क्षेत्र नम्बर १ को १ बाट विजयी भइन् । उनी बागमती प्रदेश सरकारको पहिलो उपसभामुख हुन् ।

यसैगरी सिन्धुपाल्चोलकको निर्वाचन क्षेत्र १ को प्रदेश सभा १ बाट नेपाली कांग्रेसकी मसिना खड्का भण्डारीले जित हात पारिन् । काठमाडौंका २० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ६ को १ बाट नेपाली कांग्रेसकी हरिप्रभा खड्गी विजयी भइन् । उनी काठमाडौं महानगरपालिकाकी पूर्वउपमेयर हुन् ।

यस्तै काठमाडौं १० को २ बाट एकीकृत समाजवादीकी रमा आले मगरले एमालेका रामशरण ओल मगरविजयी भएकी छिन् । उनी यसअघि पनि सोही क्षेत्रबाट प्रदेशसभामा विजयी भएकी थिइन् । महिलालाई समानुपातिकमा राख्ने तर प्रत्यक्षमा अवसर नदिएका कारण समेत प्रदेशसभाको प्रत्यक्ष तर्फ महिला उम्मेदवार कम रहेकाले पनि जित हासिल गर्ने महिलाको संख्या कम हुन पुगेको हो ।

हालसम्म बाग्मती प्रदेशमा नेपाली कांग्रेसले २४ सिट जितेको छ भने माओवादी केन्द्रले १४ सिट र नेकपा एमालले १२ सिट जितेको छ । एकीकृत समाजवादीले ५ सिट जितेको छ । सत्ता गठबन्धनका दलले ४३ सिट जितेकाले यही गठबन्धन कायम रहेको खण्डमा उनीहरूकै सरकार बन्ने सम्भावना छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ सिट जितेको छ । मजदुर किसान पार्टीले १ र हाम्रो नेपाली पार्टीले १ सिट जितेको छ । बागमती प्रदेशमा दोलखाको १० वटा विवादित निर्वाचन केन्दमा पुनः मतदान हुने भएकाले त्यहाँको नतिजा आइसकेको छैन । ती दुबै प्रदेशसभाको क्षेत्रमा महिला उम्मेदवार छैनन् ।

दलहरूले जित्ने व्यत्तिको रोजाइमा महिलालाई सितिमिति मौका दिने गरेका छैनन् । जसको कारण उम्मेदवारीमै महिला नभएपनि स्वत विजयी महिलाको सङ्ख्या घट्ने नै भयो ।


Author

थप समाचार
x