बागमती

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत

इकागज |
माघ ३, २०७९ मंगलबार १७:२८ बजे

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत पाएका छन् । आज मङ्गलबार भएको मतदानमा ११० सदस्यमध्ये ९५ प्रतिशतले मत दिएका हुन् ।

बागमती प्रदेशसभाका १०५ सदस्यले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका थिए । विश्वासको मतका लागि उनलाई ५६ मत आवश्यक थियो ।


उनको विपक्षमा ३ जनाले मात्रै मत दिए । सभामुख भुवनकुमार पाठक र उपसभामुख अप्सरा चापागाईं विश्वासको मतमा सहभागी भएनन् । प्रदेशसभाको ७ वटा राजनीतिक दलमध्ये ३ सदस्यीय नेपाल मजदुर किसान पार्टी मात्रै मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिएको हो ।

पुस २६ गते केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिएको कांग्रेसले मंगलबार प्रदेशमा माओवादीकै मुख्यमन्त्रीलाई विश्वासको मत दिएको हो ।

मुख्यमन्त्री जमकट्टेललाई नेपाली कांग्रेसको ३७, नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टिको २ जनाले विश्वासको मत दिएका हुन् ।

जमकट्टेल ५ दलको ७० सांसदको समर्थनमा गत पुस २५ गते प्रदेशको चौँथो मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई मुख्यमन्त्रीमा केन्द्रको समीकरण बाहिर रहेको समाजवादी र हाम्रो पार्टी नेपालले समर्थन गरेको थियो ।


Author

थप समाचार
x