बागमती

मुजा परेका बुद्धरानीका गालामा जब खुसीका धर्साहरू देखिए...

इकागज |
चैत १८, २०७९ शनिबार ८:५५ बजे

मकवानपुर- नाम बुद्धीरानी चेपाङ । उमेर ११४ वर्ष । ठेगाना मकवानपुरको राक्सिराङ गाउँपालिका –७ छगुङ । कटुसले बारिएको सानो कटेरो उनको घर ।

आफ्नो आँगनमा आएपुगेका गाउँपालिका अध्यक्षलाई नियालेर हेरिन् । गाउँपालिका अध्यक्षसँगै आएकाहरूले उहाँ हाम्रो गाउँपालिकाको अध्यक्ष राजकुमार मल्ल भनेपछि हात जोडेर नमस्कार गरिन बुद्धीरानीले । बुद्धरानी आँखा, राम्ररी देख्दिनन् । कान पनि त्यति स्पष्ट सुन्न सक्दिनन् । गरिबी र विपन्नता उनको अभिश्राप बन्यो । सन्तान नभएपछि सौतेनी नातिनी ज्वाईंको सहारामा बाँचिरहेकी छन् उनी । चेपाङ भाषा बाहेक अन्य भाषामा कुराकानी गर्न नजान्ने बुद्धरानी ओछ्यानमै थलिएको लामो समय भइसक्यो । आफ्ना सन्तान नभएपछि उनी बिगत १५ वर्षदेखि सौताकी नातिनी ज्वाईं जतनलालको सहारामा जीवन कटाइरहेकी छन् ।


उनको पाखो बारीमा हुने उब्जनीले ३ महिना पनि खान पुग्दैन । बारीको उब्जनीबाट खान नपुग्दा बुद्धरानीका नातिनी ज्वाईं जतनलालले ज्याला मजदुरी गरी कमाएर मुस्किलले सासुआमासहित ९ जनाको परिवार पाल्दै आएका छन् । गरिबी र विपन्नताको चपेटामा झण्डै सवा सताब्दी कटाइसकेकि उनै बुद्धरानी र उनको परिवारलाई भेट्न गाउँपालिका अध्यक्षसहितको टोली समस्या बुझ्न घरमा आइपुगेका थिए । गाउँपालिकाका अध्यक्ष आउँदै गरेको थाहा पाएर जतनलालले आफ्नी सासुआमालाई कटुसले बारिएको कटेरोबाट उठाएर टिनको छानोयुक्त घरतिर सारे ।

फिजिसिएन डाक्टरसहितको टोलीद्धारा स्वास्थ्य जाँच गरी आवश्यक औषधि र पोषण सामाग्रीसमेत पाएपछि बुद्धरानीका मुजा परेका गालामा खुसीका धर्साहरू देखिए । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले ओड्ने कम्मल, फलफूलसहित विभिन्न प्रकारका पोषण सामाग्री हातमा राखिदिँदा बुद्धरानीले खुसीका आँसु झार्दै चेपाङ भाषाबाटै भनिन् ‘मैले यति धेरै कुरा पाएँ अब तिमीलाई म के दिउँ त ?’ जवाफमा मल्लले हाँस्दै भने–‘तपाईंले केही दिनु पर्दैन आमा, आशीर्वाद दिए पुग्छ ।’ चेपाङ र नेपाली भाषाबाट भइरहेको संवादमा दोभाषेको भूमिकामा थिए ७ नम्बर वडाध्यक्ष रामबहादुर प्रजा ।

नागरिकता विहीन उनले सामाजिक सुरक्षा भत्ता पाएकी छैनन् । नागरिकता नभएकै कारण ज्येष्ठ नागरिक भत्तासमेत नपाएकी बुद्धरानीलाई गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले अब आफ्नै तलब भत्ताबाट मासिक २ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दै तत्काल २ हजार रुपैयाँसमेत हातमा थमाए ।

गाउँमै नागरिकताको टोली ल्याएर बुद्धरानीसहित नागरिकता विहीनको नागरिकता बनाई भत्ता दिलाइदिने प्रतिवद्धतासमेत जनाए । कटुसको झुप्रोमा राख्ने गरेको थाहा पाएका गाउँपालिका अध्यक्ष मल्लले सासु आमालाई राम्रो स्याहार सुसार र हेरचाह गर्न उनका नातिनी ज्वाईंलाई सँम्झाए । नियमित मासिक २ हजार रुपैयाँसहित आवश्यक खाद्यान्न र कपडाहरू नियमित उपलब्ध गराउने प्रतिवद्धता पनि उनले जनाए ।

बुद्धरानी जस्तै ज्येष्ठ नागरिकको समस्या सुन्ने र उनीहरूको स्वास्थ्य र पोषणमा ध्यान दिँदै घरमै डाक्टर बोकेर पुग्ने, बिरामी असक्तलाई घरमै स्वास्थ्य तथा अन्य सेवा दिनुका साथै गाउँटोलमै स्थानीय तहले दिने सेवा दिन  राक्सिराङ गाउँपालिकाले अभियान सञ्चालन गरिरहेको छ ।

एकीकृत घुम्ती शिविरमार्फत गाउँटोलमै सेवा दिन राक्सिराङ ६ र ७ नम्बर वडामा पुगेको गाउँपालिकाको टोलीले एक दर्जन ज्येष्ठ नागरिकलाई भेटघाट गरी उनीहरूको स्वास्थ्य उपचारसमेत गरेको छ ।

शिविरमार्फत ज्येष्ठ नागरिक भेटघाट, स्वास्थ्य परीक्षण र औषधि वितरण, पोषण सामाग्री वितरण, स्वास्थ्य जाँचसहित कृषि पशुपंक्षीका सेवा प्रदान गरिएको थियो । ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ गाउँबासीमा सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले गाउँपालिकाले गाउँटोलमै पुगेर सेवा सञ्चालन गरिरहेको छ ।

एकीकृत शिविरमार्फत घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रुपमै भुक्तानीसम्मका सेवा प्रदान गरिरहेको छ । राक्सिराङ-७ स्थित जुरेथुममा एमबिबिएस डाक्टरसहितको स्वास्थ्य सेवा र निशुल्क औषधि वितरणका साथ स्थानीयलाई तरकारीका बीउ वितरण, पशुका रोगविरुद्धको औषधिसमेत निशुल्क उपलब्ध गराइएको थियो ।

खरको छानोमुक्त अभियान सञ्चालन गरेको गाउँपालिकाले खरको छाना भएका परिवारलाई घरमै पुगेर जस्तापातासमेत वितरण गरेको थियो । बिजुली बत्तीको पहुँच पुगिनसकेको राक्सिराङ-७ का २३ परिवारलाई मंगलबार नै गाउँपालिकाले सोलार प्यानलको सेटसमेत गाउँपालिकाले प्रदान गरेको छ । ६ नम्बर वडामा महिला उद्यमशीलता तालिम सञ्चालन गर्नको लागि गाउँमा नै ६ थान सिलाई मेसिनसमेत पुर्‍याइएको थियो ।

जुरेथुममा आयोजित स्वास्थ्य शिविरमा गर्भवतीको भिडियो एक्सरे सेवादेखि क्षयरोग परीक्षणको लागि खकारको नमूना संकलनसमेत गरिएको राक्सिराङ अस्पतालका सिनियर अहेब यमप्रसाद गौतमले जानकारी दिए । एकीकृत शिविरमै व्यवसाय दर्ता, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, गरिब घरपरिवार परिचयपत्र वितरणसमेत गरिएको थियो ।

यसअघि ४ र ९ नम्बर वडामा छुट्टाछुट्टै शिविर सञ्चालन गरिसकेको गाउँपालिकाले वडा नम्बर १ र २ का लागि राक्सिराङ-१ दुङ्गुमा चैत २२ गतेलाई एकीकृत शिविरको कार्यक्रम तय गरेको छ । ३ र ५ नम्बर वडाका नागरिकलाई चैत १८ गते घरघर पुगी सेवा दिने कार्यक्रम तय गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

गाउँगाउँमा सिंहदरबार भन्ने भनाइलाई चरितार्थ पार्नको लागि पनि गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षहरूले स्थानीयवासीहरूको समस्यामा मल्हम पट्टी गर्नु उनीहरूको दायित्व हो । स्थानीय गैरसरकारी संस्थाहरूको समन्वयमा समेत बेला बेलामा विभिन्न सचेतानामुलक, शैक्षिक कार्यक्रम गर्ने गरिएको अध्यक्ष मल्लले बताए ।


Author

थप समाचार
x