बागमती

हेला गरिएको पेसामा आधुनिकताको खोजी

इकागज |
जेठ २, २०८० मंगलबार १८:१५ बजे

मकवानपुर । ​ शारिरीक रुपमा कष्टकर मानिने आरन पेसामा आफूलाई आधुनिकताको खोजी गरिरहेका छन् मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ फारलाइनका खिलबहादुर विश्वकर्मा ।

उनी ५० वर्ष अघिदेखि यही आरन व्यवसाय सञ्चालन गरिरहेका छन् । यो आरन व्यवसायमा उनको ३ पुस्ता भिज्यो । ५० वर्ष पहिले परम्परागत पेसाको रुपमा यो आरन चल्थ्यो । सामग्री बनाएपछि तत्काल ज्याला पाइँदैनथ्यो । वर्षमा एक पटक आफ्ना सेवाग्राही (विष्ट) कोबाट रासन संकलन गरिन्थ्यो । सामान्य छाक टार्ने निर्वाहमुखी व्यावसायका रुपमा आरनबाट सामान बनाउने गरिएको उनी बताउँछन् । तर अब समय र परिवेश फेरिएको छ । त्यही आरन अब राम्रो आम्दानी गर्ने व्यवसाय बनेको छ । अहिले कृषि औजार कारखानाका रुपमा दर्ता गरेर यो व्यवसाय सञ्चालन थालिएको छ ।


५० वर्ष अगाडि हातले खलाँती तानेर आगो फुकेर फलामका सामान बनाउनुपर्ने बाध्यता भोग्दै आएका वृद्ध खिलबहादुर अहिले भने आधुनिक प्रविधिको प्रयोगमा सहज तरिकाले विगतमा भन्दा बढी आर्थिक उपार्जन गर्छन् । आगो जंगल डुलेर दाउरा बटुलेर, आगो बालेको भुँग्रोमा रापिँदै फलाम तताउनु पर्दैन अहिले उनलाई । बिजुलीका माध्यमले आगो फलाम तताउँछन् र बनाउँछन् कृषि औजार ।

उनीभन्दा अघिको पुस्तादेखि यो आरन व्यवसाय सुरु गरिए पनि आफ्नै पहलमा प्रविधिको माध्यमले कृषि औजारका सामान बनाएर उनले काम गर्दै आए । उनको यो आधुनिक आरनमा हँसिया, कचिया, कुटो, कोदालो, कोदाली, कैची, चुप्पी, चुलेसीलगायतका सामग्री बनाइँदै आएको छ । विगतमा पनि बनाउने सामग्री तिनै थियो, तर दुख धेरै आम्दानी कम थियो । अब उनी सहज श्रममा राम्रो आय गर्छन् ।

आरन व्यवसायलाई निर्वाहमुखीबाट रोजगारी सृजना गर्ने गतिलो माध्यम समेत बनाए उनले । उनको कृषि औजार कारखानामा अहिले ६ जनाले रोजगारी पाएका छन् । यहाँ कृषि औजार बनाउने काम गर्न पाउँदा अर्काको मुलुकमा कठिन काम गर्नुपर्ने बाध्यताबाट छुटकारा पाएको कृषि औजार कारखानामा कार्यरत उमेश विश्वकर्मा बताउँछन् । “जहाँ गए पनि बगाउने पसिना हो, आफ्नो ठाउँमा बसेर, रोजगार भएको छु” उनले भने “विदेश जाने रहर छैन, यहाँ पैसा छ ।”

उमेश मात्र होइन, यस कृषि औजार कारखानामा कार्यरत अरु पनि वैदेशिक रोजगारको मोहमा छैनन् । पहिले सबै काम हातले गरिन्थ्यो । तर, अहिले भने ग्रेडर मेसिन, ओल्डीङ गर्ने मेसिन समेतको प्रयोग गरेर काम गरिदै आएको छ । यही आरनमा हजुरबुबादेखि नातिसम्मले काम गर्दै आएका छन् । हजुरबुबा र अरु पाँच जनाले सामान बनाउने काम गर्दै आए पनि नाति दिनेश विश्वकर्माले भने बनाइएका कृषि औजार देशैभरी बिक्री गर्दै आएका छन् ।

यहाँ तयार गरिएका सामान मकवानपुर, चितवन, काठमाण्डौं, धादिङ, सिन्धुपाल्चोक, सिन्धुलीलगायतका जिल्लामा बिक्री गर्दै आएको यस आरनका संचालक दिनेश विश्वकर्मा बताउँछन् ।

करिब ५ लाख रुपैयाँ लगानीमा यो आरन व्यावसाय सुरु गरिएको थियो । यसबाट ६ जनाको परिवारको रोजीरोटी चलेको छ । आम्दानी राम्रै भएपछि तीन पुस्ता अघिदेखि सञ्चालन गरिएको व्यावसाय नातिले पनि गर्दै आएका छन् ।

यस व्यवसाय सञ्चालन गर्नका लागि बागमती प्रदेशको युवा परिषद्ले ५० हजार रुपैयाँ अनुदान पनि दिएको थियो । यो अनुदान रकमबाट ग्रेडर र ओल्डीङ मेसिन खरिद गरेर परमपरागत कामलाई प्रविधिसँग जोडिएको दिनेशले बताए ।

युवाहरुलाई उद्यमसँग जोड्नका लागि पम्परागत आरन व्यवसायलाई अहिलेको प्रविधिसँग जोड्नका लागि सहयोग गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताए । कृषि औजारका सामानहरु चाहिने हुनाले पहिलेकै अवस्थामा आरनलाई राख्नुहुन्न र प्रविधिसँग जोडेपछि अहिलेका युवा पुस्ताले पनि पहिले पुस्तौदेखि गर्दै आएको कामलाई निरन्तर्ता दिनका लागि सहज हुने चौलागाईले बताए ।

“पहिलो यही पेसालाई हेलाको दृष्टिले हेरिन्थ्यो, छुवाछुत कति भोगियो, अब केही छैन, काम सहज छ, पैसा राम्रै छ” ५० वर्षीय खिलबहादुरले भने “मेरो पालामा यस्तै चल्यो, नातिको पालासम्म आइपुग्दा हामी दंग छौ ।”
 


Author

थप समाचार
x