बागमती

बागमती प्रदेश सभाबाट नियम निलम्बन र संकल्प प्रस्ताव पारित

इकागज |
जेठ १७, २०८० बुधबार २०:३१ बजे

मकवानपुर- बागमती प्रदेश सभाकाे बुधबारकाे बैठकबाट संंकल्प प्रस्ताव प्रदेश सभा नियमावलीको नियम निलम्बन प्रस्ताव पारित भएकाे छ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेश सभा नियमावली २०७४ को परिच्छेद १३ को नियम ८५, ८७, ९० र ९२ लागू हुने गरी सोही नियमावलीको नियम २११ को उपनियम (१) बमोजिम निलम्बन सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

यसैगरी प्रदेश सभा बैठकमा भारतले नेपालका भू–भाग समेटेर आफ्नो संसद् भवनमा नक्सा राखेकोमा प्रदेश सभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिक रूपमा नेपाल सरकारले पहल गर्नुपर्ने भन्दै नेकपा एमाले बागमती प्रदेश प्रमुख सचेतक मधुसुदन पौडेलले संकल्प प्रस्ताव पेस गरेका थिए । बुधबारकाे बैठकमा पेस गरिएकाे नियम निलम्बन तथा संकल्प प्रस्ताव प्रदेश सभाले स्वीकृत गरेकाे हाे ।


भारतले नेपालका लुम्बिनी र कपिलवस्तु लगायतका भू–भाग समेटेर नक्सा सार्वजनिक गरेकाेमा सामाजिक सञ्जालमा समेत विराेध भएकाे थियाे । पौडेलले संकल्प प्रस्ताव पेस गर्दै नेपाल कहिल्यै पनि कसैको अधीनमा नरहेकोले भारतले सार्वजनिक गरेकाे उक्त नक्सा सच्याउन सरकारले भूमिका खेल्नुपर्ने बताए । सभामा पेस गरिएकाे संकल्प प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णायार्थ पेस गरेका थिए ।

पौडेलले पेस गरेको संकल्प प्रस्ताव प्रदेश सभामा सबै दलले समर्थन गरेका थिए । उक्त संकल्प प्रस्तावलाई दलगत रूपमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक ढकाल, नेपाली कांग्रेसका सचेतक कुन्दनराज काफ्ले, राप्रपाकी सांसद कुमारी तामाङ, नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले समर्थन गरेका थिए ।

यसैगरी आजकाे बैठकमा गत जेठ गते प्रदेश प्रमुखबाट पेस गरिएकाे आर्थिक वर्ष २०८०/०८१ काे प्रदेशकाे नीति तथा कार्यक्रममा छलफल भएकाे छ । बैठकमा विभिन्न दलका सांसदहरूले आआफ्नाे धारणा राखेका थिए । नीति तथा कार्यक्रम माथिकाे छलफल नसकिएकाले सभाका उपसभामुख चापागाईंले बिहीबार विहान १०:३० बजे बस्ने बैठकमा छलफल हुने गरी आजकाे बैठक स्थगित भएकाे जानकारी दिइन् ।


Author

थप समाचार
x