बागमती

सत्ता टिकाउन टुक्राइयो मन्त्रालय, बागमतीमा फेरि १२ मन्त्रालय

इकागज |
साउन २१, २०८० आइतबार २१:२ बजे

मकवानपुर- कार्यदल नै बनाएर १४ मन्त्रालयबाट ११ मन्त्रालय कायम गरेकाे बागमती प्रदेश सरकारले अन्ततः मन्त्रालय फुटाएर भागबण्डा मिलाएकाे छ ।

सत्तासाझेदार दल नेपाली कांग्रेसबाट बिनाविभागीय मन्त्री बनेका रामकृष्ण चित्रकारलाई मन्त्रालय ताेक्न प्रदेशमा मन्त्रालय फुटाइएर जिम्मेवारी तोकिएकाे छ । आइतबार मन्त्री चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालयकाे जिम्मेवारी तोकिएको मन्त्रीको सचिवालयले जनाएकाे छ । आफूलाई मन्त्रालय जिम्मेवारी नदिएको भन्दै उनले राजीनामा दिने घोषणा सञ्चार माध्यममार्फत गरेका थिए । चित्रकारले राजीनामा दिए प्रदेशको सत्ता गठबन्धन भत्कने भएपछि अन्ततः मन्त्रालय फुटाएर जिम्मेवारी दिइएको हो ।


प्रदेश सरकारका ११ मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी १२ वटा मन्त्रालय बनाइएको छ । यसरी नयाँ मन्त्रालयका रूपमा उद्योगसँग सामान्य प्रशासन मन्त्रालय समेत थप गरी मन्त्री चित्रकारलाई सोही मन्त्रालयको जिम्मेवारी तोकिएको हो । काठमाडौँमा केन्द्रीयस्तरको नेताको छलफलबाट मन्त्री चित्रकारको मन्त्रालयको टुङ्गो लागेको हो । गत जेठ ७ गते मन्त्रीमा नियुक्त भएका चित्रकार बिनाविभागीय मै ७७ दिन बिताए । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा चित्रकारलाई मन्त्रालय ताेक्ने विषयमा छलफल चलेकाे तर साउन २१ गते आइतबार मन्त्रालयको टुङ्गो लागेको मन्त्री चित्रकारको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रालयको संख्या नबढाउने बताउँदै आए पनि सत्तागठबन्धन दलका लागि मन्त्रालय फुटाउने सहमति भएकाे थियो । गत पुस २६ गते मुख्यमन्त्री भए पश्चात उनले गत माघ ९ गते पहिलो निर्णयको रूपमा ३ मन्त्रालय घटाएर ११ वटा कायम गर्ने निर्णय गरेका थिए । आइतबार मन्त्रालय फुटाएर १२ वटा मन्त्रालय बनाएको हो । बागमती प्रदेशमा मन्त्रालय बढेसँगै काँग्रेसले ६ मन्त्रालय पाएको छ । कांग्रेसले वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन तथा सहकारी मन्त्रालय र उद्योग तथा सामान्य प्रशासन मन्त्रालय पाएको छ ।

माओवादीले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय गरी ४ मन्त्रालयमा नेतृत्वमा छ गरेको छ । यस्तै एकीकृत समाजवादीले कृषि तथा पशुपन्छी विकास र श्रम रोजगार तथा यातायात गरी २ वटा मन्त्रालय पाएको छ ।

नेपाली कांग्रेसका प्रदेश संसदीय दलका उपनेतासमेत रहेका मन्त्री चित्रकारले मन्त्री नियुक्त भएदेखि नै जिम्मेवारी पाउन सकेका थिएनन् । कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी उनलाई जिम्मेवारी दिनुपर्ने माग गर्दै आए पनि माओवादी केन्द्रले आफ्नो भागमा परेको सो मन्त्रालय विभाजन गर्न अस्वीकार गर्दै आएको थियो ।

चित्रकारलाई बिनाविभागीय मन्त्रीबाट विभागीय मन्त्री बनाउनका लागि मन्त्रालय फुटाए पछि प्रदेशमा १२ मन्त्रालय कायम भएकाे छ । योसँगै बागमती प्रदेशका २ वटा मन्त्रालय भाडाको घरमा बस्ने भएका छन् । यसअघि कायम रहेका ११ मन्त्रालयमध्ये एउटा मन्त्रालय भाडाको घरमा बस्दै आएको थियो । मन्त्रालय विभाजन भएसँगै नयाँ मन्त्रालय पनि भाडाको घरमै राख्ने तयारी भएको छ ।

हाल प्रदेशको ४ वटा मन्त्रालय तत्कालीन श्रम कार्यालयका लागि निर्माण गरिएको ५ तले भवनमा छन् भने २ वटा मन्त्रालय तत्कालीन क्षेत्रीय स्वास्थ्य कार्यालयको भवनमा, २ मन्त्रालय जिल्ला वन कार्यालय र क्षेत्रीय वन कार्यालयको भवनमा, एउटा मन्त्रालय तत्कालीन जिल्ला शिक्षा कार्यालयको भवन र मुख्यमन्त्री कार्यालय तत्कालीन जिल्ला विकास समितिको भवनबाट सञ्चालनमा आएका छन् ।

तत्कालीन गठबन्धनका दलहरू माओवादी केन्द्र, नेकपा एमाले र राप्रपा त्यतिबेला सरकारमा थिए । उक्त गठबन्धनबाट गत पुस २५ गते मुख्यमन्त्री बनेका जम्मकट्टेलले माघ १० मा तत्कालीन सत्ता गठबन्धनका दलहरू एमाले र राप्रपालाई समेटेर सरकारलाई पूर्णता दिएका थिए । तर, गत फागुनमा राष्ट्रपति निर्वाचनको लागि बनेको राजनीतिक समीकरण अनुसार तत्कालीन सत्ता गठबन्धनबाट नेकपा एमाले र राप्रपा अलग भएपछि मुख्यमन्त्री जम्मकट्टेलले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीसँगको सत्ता समीकरण रोजेका थिए ।

उक्त समीकरण अनुसार गठित प्रदेश सरकारमा मुख्यमन्त्री जम्मकट्टेलले गत जेठ ७ गते मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । उनले प्रदेशको ११ वटा मन्त्रालयमा १२ जना मन्त्री नियुक्त गरेका थिए । उक्त मन्त्रिपरिषदमा कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ४ र एकीकृत समाजवादीबाट २ जना मन्त्री बनेका थिए भने कांग्रेसका चित्रकार मन्त्रालयविहीन थिए ।


Author

थप समाचार
x